सहारा एपीएफसँग उदघाटन खेलमा फेरी पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ६ गते २०७८ मा प्रकाशित


प्लेयर अफ दि म्याच पुरस्कार थापेपछि एपीएफका कप्तान नविन लामा ।

पोखरा-उदघाटन खेलमा हारको श्रृखंलालाई दोहोर्याएको सहाराले २० औं संस्करणको आहा रारा गोल्डकपलाई अविस्मरणीय बनाउन चुक्दा शसस्त्र प्रहरी बल(एपीएफ) भने क्र्वाटरफाईनल प्रवेश गरेको छ । बिहीबार २–० को जित निकालेको एपीएफले आहा रारा गोल्डकपको संस्करणमा तेस्रो भेटपनि सहाराको चुनौतिलाई पन्छायो । पहिलो पटक अफ्रिकन खेलाडीलाई आफनो जर्सीमा मैदान उतारेको एपीएफले क्र्वाटरफाईनल भेट भने अमेरिकन टोली भटानिज युथ सोसाईटी क्लबसँग पक्का गरेको छ ।

०७५सालमा एपीएफसँगै उदघाटन खेलमा टाईब्रेकरमा पराजित भएको सहाराले ०७७ सालमा पनि १–० ले पराजित भएको थियो । एपीएफसँग दुईपटक उदघाटन खेलमा पराजित भएको बदला लिने अवसर तेस्रो पटकका पनि सहाराले सदुपयोग गर्न सकेन् । घरेलु मैदानमा टिकट काटेर हेर्ने दर्शकविहीन अवस्थामा सहाराले सोचेजस्तो प्रदर्शन देखाउन सकेन् । निकै कमजोर देखिदाँ पहिलो गोल १४ औं मिनेटमा घरेलु क्लबले घरेलु मैदानमा सामना गर्यो ।

अर्मण्ड बेडाउनले दिएको पासलाई आवास लामिछानेले सट पास कप्तान नविन लामालाई दिए । नविन लामाले वान टच पास आवासलाई मिलाईदिए । पेनाल्टी बक्सभित्र मिलाईदिएको वान टच पासलाई लामिछानेले सेकेण्ड बार च्याप्दै गोल गरे । उनको गोलसँगै एपीएफले अग्रता लिन पुग्यो । अर्मण्डले गोलकिपर कुरियामा युकाको लङबललाई कलेक्ट गर्दै पास उपलब्ध गराएका थिए ।

खेलको २१ औं मिनेटमा शसस्त्रले अर्मण्डको पासलाई विके तामाङले सदुपयोग गर्न सकेनन् । सहाराले पनि पहिलो हाफमा केही राम्रो अवसर पाएपनि बराबरी गोलगर्न चुक्यो । २५ औं मिनेटमा शुशिल लामाको पासलाई अजय मार्टिनले सिक्स यार्डबक्स बाहिर कसैको निगरानीमा नरहेका जीवन रायमाझीलाई पास उपलब्ध गराए । तर रायमाझीले बललाई पोष्टको दिशाभन्दा धेरै बाहिर फाले । ३० औं मिनेटमा कप्तान मनबहादुर तामाङले दिएको फ्रिकिक बललाई शुशिल लामाको हेड क्यिलर हुन पुग्यो । पहिलो हाफको इन्जुरी समयमा मनबहादुर तामाङले हानेको फ्रिकिक बललाई एपीएफका गोलकिपरले पन्च गरे । पन्च गरेको बललाई सहाराका मुकुन्द निउरेले हानेको हेडबल बाहिरगयो ।

खेलको ५३ औं मिनेटमा शसस्त्रको भाग्यमा ठेस लाग्यो । नविन लामाले हानेको फ्रिकिक बललाई अग्ला कदका अफ्रिकन स्ट्राईकर अर्मण्ड बेडाउनको हेड क्रसबारमा लागेर बाहिरियो । अग्रता दोब्बर बनाउने महत्वपूर्ण अवसरलाई गुमाएको एपीएफले ६० औं मिनेटमा अग्रतालाई दोब्बर बनाई छाड्यो । रवि तामाङको पासमा डिबक्सभित्र क्लियर हुन नसकेको बललाई उपयोग गर्दै प्रदीप लामाले सेकेण्ड बारमा गोल गरेपछि जितको प्रष्ट आधार देखियो ।

७९ औं मिनेटमा डिबक्स लाईन नजिकै बाहिर पाएको फ्रिकिकलाई एपीएफले सदुपयोग गर्न सकेन् । नविन लामाको क्रसपासलाई सहाराका कप्तान मानबहादुर तामाङले हेड गर्दै क्लियर गरे । सहाराले ५९ औं मिनेटमा पिटर सेगुनले शुशिल लामाको पासलाई सदुपयोग गर्न नसकेपछि सहारा गोलविमुख हुदैं २० औं संस्करणको आहा रारा गोल्डकपको यात्राबाट विट मार्यो । अफ्रिकन खेलाडी स्टपर र स्ट्राईकरलाई उतारेको थियो । सहाराले भने पुरानै अफ्रिकन खेलाडी पिटर सेगुनलाई स्ट्राईकरको जिम्मेवारी दिएको थियो ।

‘जुन रुपमा गोल हान्न सक्नुपर्ने हान्न सकेन् । सहारामाथि जितको ह्याट्रिक गर्यौं’ एपीएफका प्रशिक्षक कुमार थापाले भने– ‘सहाराले दुई चार जना खेलाडी क्लबहरुबाट ल्याएर टिम बनायो । हामीलाई खेल्न सजिलो भने तर जुन रुपमा गोल गर्नुपर्ने थियो त्यो सकेनौं ।’ खेलमा एपीएफका नविन लामा प्लेयर अफ दि म्याच घोषित भए ।टिम राम्रै भएपनि खेलाडीहरु बीच समन्वय नहुदाँ पराजित भएको सहाराका प्रशिक्षक प्रल्हाद हिराचनले बताए । ‘टिम सेट ढिला भयो । खेलाडी बीच समन्वय नै हुन सकेन् ।’ उनको भनाई थियो । शुक्रबारको खेल नेपाल पुलिस क्बलले हिमालयन शेर्पासँग खेल्ने छ ।

हिमश्री फुड्सको प्रायोजन,सहारा क्लबको आयोजनामा बिहीबारदेखि शुरुभएको २० औं आहा रारा गोल्डकपको प्रतियोगिताको उदघाटन अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङले गरेका थिए । उदघाटन समारोहमा सर्वोत्कृष्ठ राष्ट्रिय खेलाडी सम्मानबाट नेपाली राष्ट्रिय टोलीका सदस्य अन्जन विष्टलाई सम्मान गरिएको थियो । विष्टलाई दोसल्ला ओढाई नगद ३५ हजार पुरस्कार राशीबाट सम्मानित गरिएको थियो ।