सडन डेथमा पुलिसको भाग्योदय

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ७ गते २०७८ मा प्रकाशित


पोखरा-पोखराको मैदानमा पुरानो शाख जोगाउने क्रममा नेपाल पुलिस क्लबको शुक्रबार भाग्य सडन डेथमा लेखियो । ए डिभिजन लिगमा भेट भएको नेपाल पुलिस क्लबले हिमालयन शेर्पाको चुनौति पन्छाउन पेनाल्टी सुटआउटसम्म पर्खियो । आहा रारा गोल्डकपको संस्करणमा नेपाल पुलिस क्लब निकै भाग्यमानी र गर्विलो इतिहास लेखेको छ । इतिहासलाई दोहोर्याउने अभियानमा रहेको पुलिसको भाग्य गोलकिपर रोशन खड्काले लेखिदिए । उनले पेनाल्टी प्रहारलाई बचाउँदै पुलिसलाई अन्तिम आठमा पुर्याउँदा हिमालयन शेर्पाको गोल्डकप यात्रा शुक्रबारबाट अगाडि बढ्न सकेन् । रोशन पेनाल्टी सुटआउटको लागि बैकल्पिक गोलकिपरको रुपमा मैदान छिरेका थिए । उनी प्लेयर अफ दि म्याच घोषित भए ।

लिएको अग्रतालाई जोगाउन नसक्दा नेपाल पुलिस क्लब निर्धारित र अतिरिक्त समयमा बराबरीमा टुग्यायो । खेलको ५३ औं मिनेटमा नेपाल पुलिस क्लबले अग्रता लियो । तीर्थ राना मगर पेनाल्टी बक्सभित्र दुई डिफेन्सलाई कटाउँदै दिएको पासलाई निरकुमार राईले स्वतन्त्र ढंगले गोल गर्दै अग्रता दिलाए । हिमालयन शेर्पाले पनि गोल फर्काउन धेरै समय भने पर्खिएन् । ५९ औं मिनेटमा शेर्पाका कप्तान विश्वास श्रेष्ठले गोल गरेपछि खेल बराबरीसँगै रोमाञ्चक बन्न पुग्यो । पुलिसका सन्तोष हेमरनबाट रिवाउण्ड भएको बललाई विश्वासले गोल गर्दै हिमालयन शेर्पालाई खेलमा फर्काए ।

निर्धारित र थपिएको समयमा १-१ को बराबरीपछि निर्णय टाईब्रकेरमा पुगेको थियो । टाइब्रकेरमा पुलिसको भाग्य बलियो देखियो । पेनाल्टी सुटआउटमा पनि ४-४ गोलभएपछि निर्णय सडन डेथमा लम्कियो । सडेन डेथनमा हिमालयन शेर्पा क्लवका पूर्ण गुरुङ गोल गर्न चुकेपछि पुलिसको भाग्योदय हुन पुग्यो । पेनाल्टी शुटआउटमा पुलिसका तीर्थ राना मगर, निरकुमार राई, सुमन सुवेदी र भोला शिलवालले गोल गरेका थिए । पुलिसका कपिल ढकाल भने गोल गर्न असफल भए । उनले हानेको प्रहार बार माथिबाट बाहिरिएको थियो ।

हिमालयन शेर्पाको तर्फबाट त्रिदेव गुरुङ, आशिष गुरुङ, विश्वास श्रेष्ठ र पिस्तोल मुतुम्बाले गोल गरे । हिमालयन शेर्पाका उल्रिच सिवे गोल गर्न चुके । उनले प्रहार गरेको पेनाल्टी पुलिसका गोलकिपर सन्जित श्रेष्ठले रोकिदिए । सडेन डेथमा पुलिसका बुद्ध लामा र राम वाजेले गोल गरे । तर हिमालयन शेर्पाका जीवन गुरुङले गोल गरे । पूर्ण गुरुङ गोल गर्न असफल हुँदा हिमालयन शेर्पा पहिलो खेलबाटै प्रतियोगिताबाट बाहिरियो ।

तुलनात्मक रुपमा पुलिस भन्दा बढी आक्रामक रणनीति बनाएको हिमालयन शेर्पाको फिनिसिङ कमजोर हुँदा गोल निस्किएको थिएन । उनीहरुको बारम्बारको प्रयासमा पुलिसको रक्षात्मक टीम बाधक बन्यो । उसो त पुलिसलेपनि बनाएका सुन्दर अवसरलाई सदूपयोग गर्न सकेन । खेलको २९ औं मिनेटमा पुलिसले गोल गर्ने सुवर्ण अवसर खेर फाल्यो । रेम वाजेको प्रहारलाई गोलरक्षक किशोर गिरीले बचाउ गर्दा रिबाउन्ड भएको बलमा निरकुमारले गरेको प्रहारमा पुनः किशोर बाधक बने ।

३३ औं मिनेटमा निरकुमारकै फ्रिकिक प्रहार बाहिरियो । ३९ औं मिनेटमा हिमालयनका कप्तान विश्वासले एक्लैले बल प्रहार गर्दा गोल गर्नबाट चुक्यो । पिस्टोनल र त्रिदेव खाली रहेको अवस्थामा उनले एकलैले प्रहार गर्न खोज्दा गोल गर्नबाट चुके । मध्यान्तर हुनु अघिको अन्तिम मिनेट अर्थात ४५ औं मिनेटमा मुटुम्बाले गोल गर्ने सुवर्ण अवसर खेर फाले । मध्यान्तर पछिको सुरुवाती ७ मिनेटभित्र गोल गरेको पुलिसले त्यसको ७ मिनेट नबित्दै गोल खान पुगेको थियो । ६० औं मिनेटमा निरकुमारको प्रहारमा गोलरक्षक किशोर बाधक बन्दा पुलिस अग्रता दोब्बर गर्नबाट चुक्यो । ६१ औं मिनेटमा हिमालयनका मुटुम्बाले फ्लिक गरेको बल बाहिरिदा अग्रता लिन बाट चुके । ६४ औं मिनेटमा विश्वासको लामो प्रहारलाई पुलिका गोलरक्षक सन्जित श्रेष्ठले उत्कृष्ट डाइभ गर्दै बचाउ गरे । ९६ औं मिनेटमा निरकुमारले पाएको बल प्रहार गर्न ढिला हुँदा गोल गर्नबाट चुक्यो । १०२ औं मिनेटमा त्रिदेवको हेडरलाई किशोरले बचाउ गरे ।

बिजयी टिमका प्रशिक्षक अनन्त थापाले बिपक्षीलाई रोक्नका लागि केहि रक्षात्मक खेल्दा निर्धारित समयमा गोल ननिस्केको बताए । ‘हामीलाई जसरीपनि जित्नु थियो, त्यसमा हामी सफल भयौं । यसमा म खुशी छु’–उनले भने ।पराजित हिमालयन शेर्पा क्लवका मित्रबहादुर बस्नेतले राम्रो खेल्दाखेल्दै हार्नुपरेको बताए । ‘आज ब्याडलक थियो भन्नुपर्छ, राम्रो खेल्दाखेल्दै हा¥यौं’–उनले भने । शुक्रबारको बिजेता नेपाल पुलिस क्लवले अब माघ ९ गते आईतबार मनाङमस्र्याङ्दीसँग प्रतिष्पर्धा गर्नुपर्नेछ । हिमश्री फुड्सको प्रायोजन सहारा क्लबको आयोजनामा सञ्चालित २० औं सस्करणको आहा रारा गोल्डकप अन्तर्गत अन्तर्गत शनिबार सशस्त्र प्रहरीको एपिएफ क्लव र अमेरिकाको बिवाईएससी मिनेसोटाबीच हुने छ ।