टेबल टेनिसका सहायक प्रशिक्षक शाक्यको निधन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर १५ गते २०७७ मा प्रकाशित


टेवल टेनिसका सहायक प्रशिक्षक सुख शाक्य

पोखरा-टेवल टेनिसका सहायक प्रशिक्षक सुख शाक्यको निधन भएको छ । राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षक शाक्य केही समय अघि मात्रै अवकाश भएका थिए । उनको निधनले खेलकुद क्षेत्र मर्माहत भएको छ । गण्डकी प्रदेशले टेबल टेनिसको एकमात्र प्रशिक्षक गुमाएको छ ।

बाग्लुङ नगरपालिका ३ गुठी निवासी ५९ वर्षको उमेरमा पोखरा उपचारको क्रममा निधन भएको हो । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा सोमबार विहान निधन भएको राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य सम्पन्न श्रेष्ठले जानकारी दिए । उनका अनुसार शाक्य निमोनियाबाट पीडित थिए ।

शाक्य धौलागिरी अञ्चलकै पहिलो टेबल टेनिस पदक विजेता खेलाडी हुन् । पञ्चायती व्यवस्थाको बेलामा २०४५ सालमा धौलागिरी खेलकुद विकास समितिमा टेनिस प्रशिक्षकको रुपमा जागिरे शुरु गरेका हुन् । उनले त्यतिबेला टेबल टेनिस प्रशिक्षकमै अस्थायी जागिरे शुरु गरेका थिए । २०४८ सालमा उनी जागिरबाट हटाईदिएका थिए ।

२०५१ सालमा केशव स्थापित राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव भएपछि उनी फेरी करारमा जागिर शुरु गरे । नौ वर्षको जागिरे जीवन पछि २०६० सालमा फेरी उनलाई हटाईयो । २०६१ भदौ १ गते उनलाई टेबल टेनिस सहायक प्रशिक्षकमा स्थायी नियुक्त थिए । २०७६ भदौ २२ गते उनी उमेरहदका कारण स्वतह अवकाश प्राप्त भएका थिए ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीको लागि उनी झण्डै ५ महिना पोखरा बसेका थिए । उनी गण्डकी प्रदेशकै एकमात्र टेबल टेनिस प्रशिक्षक हुन् । श्रीमती, एक छोरा र एक छोरी छन् ।