हर्डल्सको सामान नहुदाँ खेलाडी छनोटमा समस्या

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज १२ गते २०८३ मा प्रकाशित


पोखरा-खेलाडीलाई दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि तयारी गर्नुपर्ने छ । तर संघलाई खेलाडीलाई दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि गराउने खेलाडी छनोट कसरी गर्ने भन्ने तनावमा छ । छनोटको लागि आवश्यक खेल सामाग्री अभाव हुदाँ कसरी छनोट गरेर खेलाडी छान्ने पीरलो कास्की जिल्ला एथलेटिक्स संघलाई छ ।

आगामी मंसिर १७ देखि २६ गतेदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतको विरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा आयोजना हुने छ । त्यसको लागि सरकारले पनि आफनो आन्तरिक गृहकार्य गरेको छ । कुन खेलको कति खेलाडी, प्रशिक्षक एवं सहायक प्रशिक्षक र व्यवस्थापक रहने निक्र्यौल भईरहेको छ ।

गण्डकी प्रदेशमा पनि दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि केही खेलको छनोट भईसकेका छन् । केही खेलको छनोट बाँकी छ । छनोट हुन बाँकी रहेको खेलमध्ये एथलेटिक्स पनि एक हो । एथलेटिक्सका विभिन्न इभेण्ट भित्र ११० मिटर हर्डल्स पनि हो । तर हर्डल्सका खेलाडी छनोट गरेर अन्तिम नामावली निकाल्न कास्की जिल्ला एथलेटिक्स संघ अन्यौलमा परेको छ । हर्डल्सको लागि आवश्यक सामान नै पर्याप्त नहुदाँ संघ दोधारमा परेको छ ।

“हर्डल्सको इभेण्ट गर्न हामीसँग हर्डल्स नै छैन् ।” कास्की जिल्ला एथलेटिक्स संघका सचिव सिद्धान्त अधिकारीले भने—“नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुदाँ आएका हर्डल्स सबै फिर्ता लगे । अहिले हामीलाई छनोटको लागि समस्या परेको छ ।” उनका अनुसार प्रदेश खेलकुद परिषद गण्डकीले हर्डल्सका सामान उपलब्ध गराईदिए छनोट गर्न सकिन्छ अन्यथा गाह्रो छ । संघसँग अहिले पाँच सेट मात्रै हर्डल्स छन् । आवश्यकता भने १० वटाको हो । प्रत्येक दश मिटरको दुुरीमा राखेर प्रतियोगिता सन्चालन गर्नुपर्ने उनको भनाई छ । अपुरो हर्डल्स मार्फत खेलाडी छनोट गर्न नसकिने भन्दै परिषदसँग हर्डल्स उपलब्ध गराईदिन माग समेत गरेका छन् । हर्डल्स बाहेक अन्य एथलेटिक्सको लागि चाहिने सामान समेत उपलब्ध गराईदिन संघले आग्रह गरेको छ ।