खेलाडीमाथिको कारबाही फिर्ता लिन ६ केन्द्रीय सदस्यको माग

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष ७ गते २०७८ मा प्रकाशित


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) बाट खेलाडीको कारबाहीबारे फरक धारण राखेका ६ जना बोर्ड सदस्यले खेलाडीमाथिको कारबाहीमा आपत्ति जनाएका छन् ।
क्यानका केन्द्रीय सदस्यहरु ऋषिराम गौतम, छुम्बी लामा, अमितबीर पाण्डे, करण महतारा, मोहम्मद दाउत अन्सारी र संजय राज सिंहले बुधबार पत्रकार सम्मेलन गर्दै खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्न को माग गरेका हुन् । साथै कप्तान ज्ञानेन्द्र, उपकप्तान दीपेन्द्रसिंह ऐरी तथा राष्ट्रिय टोलीका मुख्य सदस्यहरू सोमपाल कामी र कमलसिंह ऐरीमाथि क्यानले ‘नियोजित’ तरिकाले कारबाही गरेको आरोप लगाउँदै कारबाही फिर्ता लिनु पर्ने माग गरेका हुन् ।

सोही पत्रकार सम्मेलनमा पुस १३ र १४ गते हुने भनिएको साधारणसभालाई ‘अवैधानिक’ भन्दै तत्काल रोक्न पनि माग गरेका छन् । क्यानको विधानअनुसार जिल्ला संघहरूको साधारणसभा प्रत्येक चार वर्षमा हुनुपर्ने र २० भन्दा बढि जिल्लाको समयसीमा सकिएकाले त्यहाँबाट आउने प्रतिनिधि नै अवैधानिक हुने भन्दै ६ जना बोर्ड सदस्यले साधारण सभा अवैधानिक भनेका हुन् । क्यानका ६ जना बोर्ड सदस्यले बुधबार संयुक्त पत्रकार सम्मेलन आयोजना गर्दै आफूहरूले असोजमा भएको बैठकमा खेलाडी ग्रेडिङको मापदण्ड र प्रस्तावमाथि मत राखे पनि त्यसलाई बेवास्था गरिएको बताए । खेलाडीले सामान्य असन्तुष्टी जनाउँदा ठूलो प्रतिक्रिया देखाएको, दूई घण्टाको समय राखेर बोलाइएको जुम बैठकबाट राष्ट्रिय टोलीका कप्तानसहित चार मुख्य खेलाडीलाई कारबाही गर्ने अपरिपक्व निर्णय गरिएको, बैठकका लागि सदस्यहरूलाई एजेन्डा उपलब्ध नगराएको, नेतृत्वले स्वेच्छाचारी तवरबाट संघ चलाएको लगायतका आरोप लगाए ।
६ सदस्यले संयुक्त पत्रकार सम्मेलनबाट क्यानको वर्तमान नेतृत्व अन्तर्राष्ट्रिय क्रिकेट परिषद् क्यानमाथिको प्रतिबन्ध पूर्णरूपमा फुकुवा गराउन नसकेको तथा नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउन महत्वपूर्ण योगदान गरेका खेलाडीलाई सम्मानको साटो नियोजित कारबाही गरिएको आरोप लगाएका छन ।

साथै क्यानको नेतृत्व एक तर्फी तरिकालेमा मात्र अगाडि बढ्को, कार्यसमिति निर्वाचित भएको दुई वर्ष बितिसक्दा समेत आफ्नो वार्षिक क्यालेन्डर बनाउन नसकेको, चुनावपूर्व नै घोषणा गरेको नेपाल प्रिमियर लिग गर्न नसकेको, नेपाल ट्वान्टी–२० का नाममा प्रतियोगिता गर्ने घोषणा गरेर भारतीय कम्पनी ‘सेभेन थ्री स्पोट्र्स’सँग सम्झौता भए पनि प्रतियोगिता हुन नसकेको, प्रतियोगिता गर्न नसकेकोमा सेभेन थ्रीले क्यानका सबै बोर्ड सदस्यलाई धम्कीपूर्ण इमेल पठाएको तर प्रतिउत्तर नदिएको लगायतका विषयमा प्रश्न गरेका छन् ।

क्यानले गरेको खेलाडी वर्गीकरणमाथि असहमति जनाएका कारण कप्तान ज्ञानेन्द्र र उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित राष्ट्रिय टोलीका मुख्य खेलाडी सोमपाल कामी र कमलसिंह ऐरीमाथि बुधबार अनुशासनको कारबाही गरेको थियो । कारवाहीस्वरुप ज्ञानेन्द्रलाई कप्तान तथा दीपेन्द्रसिंहलाई उपकप्तानको जिम्मेवारीबाट हटाइएको थियो । क्यान नेतृत्वले ज्ञानेन्द्रको स्थानमा सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय टोलीको कप्तान नियुक्त गरेको थियो ।