सहारालाई दोस्रो पटक गोल्डकपको उपाधि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ९ गते २०८२ मा प्रकाशित


धन बस्नेत/कास्की

१३ वर्षपछि सहाराले पोखराको मैदानमा फेरी उपाधि उचाल्दै इतिहास दोहोर्याएको छ । गोल्डकपको रजत जयन्ती मनाईरहेको सहाराले पच्चीसौं संस्करणको उपाधि उचाल्दै दोस्रो पटक आफनो नाममा लेखायो । जावलाखेलले उपाधि उचाल्ने लक्ष्य र सपना पुरा हुन सकेन् । उपविजेतामा चित्त बुझाउन विवश बन्यो । शनिबारको फाईनल खेलमा जावलाखेलमाथि सहाराले २—० गोलको जित निकाल्यो । १४ वर्ष अघि पनि जावलाखेल मनाङ मस्र्याङ्दी क्लबसँग फाईनलमा २—० गोलले नै पराजित भएको थियो ।

दोस्रो पटक उपाधि
रजत जयन्ती मनाइँदा सहाराको भाग्य बलियो देखियो । दोस्रो पटक उपाधि उचाल्ने यात्राको फाईनलमा प्रवेश गर्दा सहाराले दुईपटक सडन डेथमा भाग्यमानी बन्यो । नेपाल पुलिस क्लब र मनाङ मस्र्याङ्दीलाई क्र्वाटरफाईनल र सेमिफाईनलमा सडन डेथमा पराजित गर्दै आईपुगेको थियो ।

शनिबार पोखरा रगशालामा भएको फाईनलमा सहाराले पहिलो हाफ र दोस्रो हाफमा गोल गर्दै उपाधि पक्का गर्यो । प्लयेर अफ दि म्याच सहाराका कप्तान शुशिल लामाको दुवै गोलको लागि महत्वपूर्ण असिष्ट रह्यो । पहिलो गोल दोस्रो कर्नरबाट सम्भव बन्यो । २५ औं संस्करणको उपाधिको लागि सहाराले २५ औं मिनेटमा पाएको कर्नरलाई सदुपयो गर्यो । शुशिल लामाको कर्नर बललाई सहारा एकेडेमीका उत्पादन मुकुन्दकुमार निउरेले उत्कृष्ठ हेड गरेको बल गोलमा परिणत भएपछि स्पष्ट अग्रता लियो ।

दोस्रो गोल खेलको ७३ औं मिनेटमा उनै कप्तान शुशिल लामाले क्रस गरेको बल अग्ला कदका डिफेण्डर टाय डिनियल बादारुले ओभरल्यापमा गएर गरेको हेडिङ पोष्टको दिशा लिएपनि सहारालाई १३ वर्षपछि उपाधि जित्न पर्याप्त बन्यो । खेलको ८ औं मिनेटमा सहाराका विक्की चामलिङ राईले पेनाल्टी बक्सभित्रबाट हानेको बल क्रसबार भन्दा माथिबाट बाहिरिएको थियो । जावलाखेलले खेल अवधिमा खासै गोलको लागि अवसर सृजना गर्न सकेन् ।

गोल्डकप यात्रा
क्याराभान गोल्डकप(२०५८) सालबाट गोल्डकप आयोजना शुरु गरेको सहाराले पोखराको मैदानमा शनिबार २५ औं संस्करणको रजत जयन्ती यात्रा टुग्याएको छ । चार पटक फाईनलमा पुगेको सहाराले दोस्रो पटक उपाधि आफनो बनाउन १३ वर्ष कुर्यो । ०६९ सालमा पहिलो पटक सहारा गोल्डकपको फाईनल यात्रा तय गर्यो । ०७० मा दोस्रो पटक फाईनल यात्रा तय गर्दै उपाधि उचाल्दा गोल्डकप बाह्रौं संस्करण पुगिसकेको थियो । ०७३ मा तेस्रो पटक फाईनल पुग्दा उपविजेतामा सीमित भएको थियो । ९ वर्षपछि फाईनल पुगेको सहाराले उपाधि उचाल्दै इतिहास दोहोर्याउन सफल भयो । तर जावलाखेलले पोखराको मैदानमा इतिहास कोर्ने सपना अधुरै रह्यो ।

आहा गोल्डकप हुदैं आहा रारा तथा आहारारा पोखरा गोल्डकपसम्मको यात्रामा धेरै क्लबले सहभागिताको हिस्सा बने । जतिबेला गोल्डकप शुरु भएको थियो, त्यतिबेला संकटकालिन अवस्थामा गुज्रिएको थियो । संकटकालिन अवस्थाबाट थालिएको गोल्डकपको यात्राले जनआन्दोलन, नाकाबन्दी हुदैं भूकम्पको जटिल अवस्थाबाट माथि उठेको थियो । राजधानीमा शहीद स्मारक लिग स्थगन हुदाँ मोफसलमा आयोजना गरिएको नकाउट गोल्डकपले फुटबललाई धानेको थियो । फुटबलको उत्साह उस्तै थियो ।

दर्शकको अपार सहभागिताले गोल्डकपको यात्रा साढे दुई दशक वित्दा रजत जयन्ती मनाईरहँदा दर्शकको खडेरीपनले उत्साहमा कमी आएको थियो । प्रायोजक हिमश्री फुड्सको साथ र सहयोगले पनि आहा गोल्डकपको यात्रा आहारारा पोखरा गोल्डकपसम्म आईपुग्यो । पहिलो दशवर्ष आहा, दोस्रो दशवर्ष आहा रारा र तेस्रो दशवर्ष आहा रारा पोखरा गोल्डकप आयोजना गर्ने गरी सम्झौता भएको छ । सम्झौताको पनि पाँच वर्ष वितिसक्यो ।

नगद तथा विधागत पुरस्कार
सहाराले रजत जयन्तीको च्याम्पियसिप ट्रफीसहित नगद १४ लाख १ हजार रुपैयाँ प्राप्त गर्यो । उपविजेता जावलाखेलले नगद ७ लाख १ हजार रुपैयाा प्राप्त गरेको छ । उत्कृष्ट डिफेन्सबाट सहाराका बादारु घोषित भए । सर्वाधिक गोलकर्ता प्लानिङ ब्वाईजका पापा आईबोउ केबे, उदीयमान खेलाडी सहाराका मुकुन्दकुमार निउरे, स्ट्राईकर जावलाखेल युथका देबेन्द्र कुँवर, गोलकिपर सहाराका टिकेन्द्र थापा, मिडफिल्ड जावलाखेलका बाउबकर सिसिको, फेयर प्ले आभा फुटबल क्लब उज्वेकिस्तान घोषित भए । घोषित खेलाडीले नगद २५ हजार रुपैयाँ प्राप्त गरे । प्लेयर अफ दि टुर्नामेन्ट मुकुन्द्रकुमार निउरे बने । उनले टेल्जीको इलेक्ट्रिक स्कुटर प्राप्त गरे ।