महानगर खेलकुद अध्यक्ष गोदारलाई महानगर कप स्क्वासको उपाधि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ १४ गते २०८० मा प्रकाशित


पोखरा-पोखरा महानगर कप स्क्वासको उपाधि दिपकबहादुर गोदारले जितेका छन् । पोखरा रंगशालास्थित स्क्वास ¥याकेट संघ कास्कीको कोर्टमा आयोजित फाईनलमा गोदारले प्रयाग जोशीलाई ३–२ सेटमा पराजित गर्दै उपाधि जिते ।

पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष समेत रहेको गोदारले जोशीमाथि जित निकाल्न निकै संघर्ष गरे । बेष्ट अफ फाईभसम्म पुगेको खेल निकै प्रतिस्पर्र्धात्मक बन्यो । पहिलो सेट ९–११ ले गुमाउँदै पछि परेका गोदारले दोस्रो सेटमा भने कमब्याक गरे । दोस्रो सेट उनले ११–९ ले नै आफनो पक्षमा पारेपछि खेल बराबरीमा पुग्यो । तेस्रो सेटमा पनि ८–११ ले गुमाएका गोदारले चौथो सेटमा फेरी पुनरागमन गर्दै ११–९ मा ल्याउँदै प्रतिस्पर्धा अन्तिम सेटसम्म धकेले । अन्तिम सेट प्रतिस्पर्धात्मक बन्यो । १२–१२ को अवस्थामा गोदारले लगातार दुई अंक जोड्दै १४–१२ को नजिता निकाल्दै उपाधिमा नाम लेखाए ।

पोखरा महानगर खेलकुद विकास समितिको आयोजना तथा संघको प्र्राविधिक सहयोग एवं व्यवस्थापनमा भएको प्रतिस्पर्धामा सुजन आचार्य र जीवन श्रेष्ठ संयुक्त रुपमा तेस्रो स्थानमा रहे । विजेता गोदारले नगद १० हजार रुपैयाँ प्राप्त गर्दा उपविजेता बनेका जोशीले नगद ५ हजार रुपैयाँ र तेसो भएको आचार्य र श्रेष्ठले भने नगद ३/३ हजार प्राप्त गरे । खुल्ला तर्फ २४ जना खेलाडीले सहभागिता जनाएका थिए ।
त्यसैगरी भेट्रान्त तर्फको प्रतिस्पर्धामा हिराकाजी श्रेष्ठले दुई प्रतिस्पर्धीलाई पन्छाए । १० जना भेट्रान्स खेलाडीको सहभागिता रहेको थियो । अन्तिम तीनमा पुगेका हिराकाजी श्रेष्ठ, रक्ष्य राना र रबिन्द्र बाटाजू बीच राउण्ड रोविनमा प्रतिस्पर्धा गराईएको थियो । राउण्ड रोविनमा हिराकाजीले रक्ष्य र रबिन्द्रलाई पराजित गर्दै उपाधि आफनो बनाए । उनले नगद ५ हजार प्राप्त गर्दा उपविजेता बनेका रक्ष्य रानाले नगद ३ हजार रुपैयाँ प्राप्त गरे ।

जुनियर तर्फको प्रतिस्पर्धामा जेम्स शाक्य प्रथम भए । जुनियर तर्फ जेम्सले ब्रिजेश श्रेष्ठको चुनौतिलाई पन्छाए । पियुष जैन र मनोरम बज्रचार्य भने तेस्रो स्थानमा रहे । उनीहरुले ५, ३ र २ हजार रुपैयाँ प्राप्त गरे । विजेता खेलाडीहरुलाई गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङ लगायतले पुरस्कार प्रदान गरेका थिए ।