पर्वतीय दौडको उपाधि बढुमगरलाई

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ८ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)- पोखरामा आयोजित पर्वतीय दौडको उपाधि दामोदर बुढा मगरले जितेका छन् । उनले पोखराको विन्ध्यवासिनी मन्दिर परिसरदेखि अर्मलाकोटसम्मको १० किलोमिटर दौड ४४ मिनेट २१ सेकेण्डमा पुरा गर्दै उपाधि जिते । त्यसैगरी रमेश उप्रेतीले ४५ मिनेट २१ सेकेण्डमा पुरा गर्दै दोस्रो बने । तेस्रो स्थानमा भने रुपलाल बुढामगर आए । उनले ४५ मिनेट ५४ सेकेण्डमा पुरा गरेका थिए ।

सुवास कार्की र विश्वकुमार तामाङ भने चौथो र पाँचौ स्थानमा चिक्त बुझाए । महिला तर्फको प्रतिस्पर्धामा भने ललिता लामिछानेले एकघण्टा ८ मिनेटमा पुरा गर्दै प्रथम स्थान हासिल गरिन् । त्यसैगरी सुस्मिता भट्टराईले १ घण्टा ९ मिनेटमा पुरा गर्र्दै दोस्रो भईन् । प्रतियोगितामा कुल ७५ धावक सहभागि थिए । जसमा महिला तर्फ ७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

एक दशकपछि अर्मलाकोटमा पर्वतीय दौड आयोजना गरिएको थियो । श्रीपञ्चमीको अवसरमा दुर्गा युवा क्लबको आयोजनामा हुने दौड पोखराको विन्ध्यवासिनी मन्दिर परिसरबाट प्रारम्भ भई अर्मलाकोटमा पुगेर समापन भएको थियो । दौड संयोजक जुमप्रसाद गुरुङका अनुसार पर्वतीय दौडका विजेताले नगद १५ हजार, दोस्रोले १० र तेस्रो हुने धावकले ५ हजार रुपैयाँ प्राप्त गरे । सान्त्वनालाई समेत नगद ५ सय रुपैयाँ प्रदान गरियो ।

यसैबीच कोटमा निर्माण गरिएको खेलकुद पुर्वाधारको समेत उदघाटन गरिएको छ । स्थानीय स्रोत र नीजि लगानीमा झण्डै ५३ लाखको लागतमा पुर्वाधार निर्माण गरिएको हो । चार वर्ष लगाएर बास्केटल कोर्ट, ११० फिट लम्बाईको तीन स्टेप सिमेण्टेड प्यारापिट, स्टेज तथा भलिबल कोर्ट निर्माण गरिएको उनले जानकारी दिए । पर्वतीय दौडको लागि बेलायतमा बस्ने अर्मलाकोटबासीले आर्थिक सहयोग जुटाएका छन् । निर्माण समितिका संयोजक समेत रहेका गुरुङले बेलायतबाट ५ सय पाउण्ड(६९ हजार) रुपैयाँ सहयोग आएको सुनाए । शेरा गुरुङ, बुद्धि गुरुङ, जीवन गुरुङ, सुनिल गुरुङ र सम्मर गुरुङले आर्थिक सहयोग जुटाएका हुन् ।