एपीएफ आहा राराको क्र्वाटरफाईनलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ११ गते २०७४ मा प्रकाशित


धन बस्नेत, पोखरा – २८ औं मिनेट । डिबक्सको आर्कभित्र फ्रिकिक अवसर । आठजना खेलाडीको बार । अन्तत गोल । आदित्य चौधरीले हानेको फ्रिकिक क्रसबारमा लागेर पोष्टभित्र छिरेपछि संकटाको संकटलाई विभागीय टोली एपीएफले मोचन गर्यो । आहा राराको १६ औं सस्करणमा एपीएफ बिहीबार क्र्वाटरफाईनल प्रवेश गर्न चौधरीको गोल पर्याप्त बन्यो । अफ्रिकनमुलका कोअरा लार्बा फ्लोरेन्ट कोनेले एपीएफका रन्जन विष्टलाई फउल हानेपछि फ्रिकिकको अवसर पायो । त्यसलाई म्यान अफ दि म्याच चौधरीले गोल गर्दै एपीएफको जित सुनिश्चित बनाए । कोनेको गल्ती संकटालाई क्षम्य हुनै सकेन् ।

एपीएफको पावर गेमलाई संकटाले निस्तेज पार्दै आएको थियो । खेलमा बल दुवै टोलीलाई हतार गरेर खेले । आक्रमणको रणनीति बुन्ने धुनमा बल ‘होल्ड’ हुनै सकेन् । आधा घण्टाभित्र गोल खाएको संकटाले ३० औं मिनेटमा अवसरलाई गुमायो । अनिल गुरुङको पासमा सिक्स यार्ड बक्सबाट प्रकाश बुढाथोकीको पावर सट गोलकिपरको हातैमा पर्दा घाईते हुन पुगे । त्यस्तै ३२औं मिनेटमा शुशिल लामाको पासलाई पनि ‘अनमार्क’ बसेका प्रकाशको प्रहार खेर गयो ।
५४ औं मिनेटमा संकटाले हेमन्त थापामगरको पासलाई अनिल गुरुङले हानेको हेडबल आउट भयो । ७४ औं मिनेटमा रुपेश केसीले प्रकाश बुढाथोकीले मिलाईदिएको ग्रासबल पासलाई पनि छुन नसक्दा खेलमा फर्किने सम्भावना गुम्न पुग्यो । उता एपीएफले पनि आधा दर्जन भन्दा बढी अवसरलाई गुमायो । अन्जन विष्टले १९ औं मिनेटमा दिएको पासलाई राजेन्द्र रावलको हेडिङ खेर गयो ।

सहारा क्लबको आयोजनामा सञ्चालित आहा रारा गोल्डकपको १६ औं सस्करणमा एपीएफको यो १२ औं हो ।  एपीएफ गत वर्ष पुर्वाञ्चलमा आयोजित राष्ट्रिय खेलकुद प्रतियोगिता २०७३ अन्तर्गत फुटबल तर्फको स्वर्ण पदक विजेता समेत हो । एपीएफ विभागीय टोली छैटौं सस्करणको उपविजेता हो । छैटौंमा नेपाल पुलिसक्लबसित उपाधि प्रतिस्पर्धमा २—० ले पराजित हुदैं उपाधिविमुख हुन पुगेको थियो । गतवर्षको दशौं सस्करणसम्म विभागीय टोलीले क्र्वाटरफाईनल र फाईनलसम्मको यात्रा तय गर्दै आएको छ । खप्तड गोल्डकपमा समेत उपविजेतामा सीमित भएको थियो । संकटाको आहा यात्रा भने चौथो थियो । गत वर्षको १५ औं सस्करणमा सेमिफाईनलमा संकटा मनाङ मस्र्याङ्दी क्लबसित पराजित भएको थियो ।

रन्जन विष्टले ४१ औं मिनेटमा मिलाईदिएको पासलाई नविन लामाले हानेको बललाई संकटाका गोलकिपरले पन्च सेच गरिदिए । कर्नको अवसर पाएपनि सदुपयोग भने हुन सकेन् । ५८ औं मिनेटमा रन्जन विष्टले दिएको पासलाई अफसाईड बिट गर्दै ओभरल्यापमा गएका युवराज खड्काले गोलकिपर मात्रै भएको अवस्थामा समेत गोल गर्नबाट चुके । उनको प्रहारलाई गोलकिपरले रोके । रिफ्लेक्ट भएको बललाई डिफेन्सले क्लियर गरिदिए । ८० औं मिनेटमा पनि अन्जन विष्टको प्रहारलाई पन्च सेभ गर्दै संकटालाई फराकिलो गोलअन्तर बनाउनबाट गोलकिपरले जोगाए ।
शुक्रबारको खेल नेपाल पुलिसले रमपम झापा ११ सित खेल्ने छ ।