भारोत्तोलनमा ४८ केजी तौलमा राईको राष्ट्रिय रेकर्ड

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष २६ गते २०७४ मा प्रकाशित


धन बस्नेत,पोखरा, पुस २६

३५ वर्षपछि पोखरामा आयोजित राखेप च्याम्पियन राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा नेपाल प्रहरीकी संगिता राईले ४८ केजी तौलमा राष्ट्रिय किर्तिमान कायम गरेकी छिन् । क्लिन एण्ड जर्कमा राईले ६६ केजी तौल उठाउँदै १२ वर्ष अघि विरगंजमा निता थापाले राखेको राष्ट्रिय रेकर्डलाई तोडेकी हुन् । तर उनी स्न्याचमा राष्ट्रिय रेकर्ड कायम गर्न भने असफल भईन् । यद्यपी उनले स्न्याच, क्लिन एण्ड जर्कमा ११८ केजी तौल उठाउँदै थापाको रेकर्ड बराबरी गरिन् ।

नेपाल आर्मीकी मनिषा रानाभाटले ६४ केजी तौल उठाएपछि राईलाई ६६ केजी तौल उठाउने चुनौति थपियो । रानाभाटले रेकर्डको लागि ६६ केजी उठाउने प्रयास गरिन् । तर असफल भईन् । उनी असफल भएपछि रेकर्ड कायम गर्ने अवसर राईलाई जुरेको थियो । राईले ६६ केजी उठाउँदै राष्ट्रिय रेकर्ड कायम गर्दै स्वर्ण पदक जितन् ।

गत वर्ष सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा रजत र ओलिम्पिक डेमा आयोजित प्रतियोगितामा समेत रजत पदक जितेकी राईले तेस्रो प्रयासमा नयाँ राष्ट्रिय रेकर्डसहित स्वर्ण पदक जितिन् । उदयपुर घर भएकी राई नेपाल प्रवेश गरेपछि भारोत्तोलनको प्रशिक्षणमा थिईन् । ४ वर्षको नियमित प्रशिक्षणपछि स्वर्णसहित रेकर्ड राख्न सकेकोमा खुशी व्यक्त गरिन् । उनले भनिन—‘प्रहरीमा प्रवेश गरेपछि नियमित प्रशिक्षण गर्न पाए । त्यसैको प्रतिफल हो यो ।’ क्लिन एण्ड जर्कमा मात्रै नभई राईले स्न्याचमा पनि स्वर्ण जितिन् । उनले ५२ केजी तौल उठाईन । स्न्याचमा पनि रेकर्ड बराबर गर्न केवल एक केजी तौल कम उठाईन् । यसैगरी प्रतियोगिता अन्तर्गत करिना चौधरीले ३५ केजी तौल र क्लिन एण्ड जर्कतर्फ ५१ केजी तौल उठाउँदै समग्र ८६ केजी उठाएर कास्य पदकमा चिक्त बुझाईन् । प्रतियोगितामा २८ जिल्ला, तीन विभागीयका विभिन्न तौलमा महिला तथा पुरुष गरी १८२ जना खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।

नेपाल भारोत्तोलन संघका अध्यक्ष रतनलाल टण्डनले पोखरा रंगशालाभित्र पुर्वाधार निर्माणको लागि जग्गा उपलब्ध गराई सहयोग गरिदिन आग्रह समेत गरेका छन् । जग्गा उपलब्ध भए आवश्यक पुर्वाधार निर्माणमा अघि बढ्ने समेत उनको भनाई थियो । ‘पोखरालाई स्पोर्टस मात्रै होईन । स्पोर्टस टुरिज्म सिटीकोरुपमा विकास गर्ने लक्ष्य छ ।’ उनले भने—‘पुर्वाधार तयार पारेर भारोत्तोलनको एकेडेमी र फिटनेस सेन्टर बनाउने संघको चाहना हो ।’ प्रतियोगितामा पुरुष तर्फ नौं तौल समूहमा प्रतिस्पर्धा गराईएको छ । महिला तर्फ भने पनि ९ तौल समूहमा प्रतिस्पर्धा गराईने छ । “ओलम्पिक स्टाईल वेटलिफ्टिङ”मा पुरुष तर्फ ५२ केजी, ५६, ६२, ६९, ७७, ८५, ९४, १०५ र १०५ केजी तौल माथिको समूहमा प्रतिस्पर्धा गराइएको छ । त्यसैगरी महिला तर्फ ४४, ४८, ६५३, ५८, ६३, ६९, ७५, ९०, र ९० माथिको तौल समूहमा प्रतिस्पधा गरेको कास्की जिल्ला भारोत्तोलन संघका अध्यक्ष राजन बडगामीले बताए ।