एक्सपर्ट कलेज प्रिमियर लिग क्रिकेटको फाईनल मंगलबार

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन १४ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—पोखरामा आयोजित तेस्रो एक्सपर्ट कलेज प्रिमियर क्रिकेट लिगको फाईनल खेल मंगलबार हुदैं छ । फाईनलले गत वर्षको स्कुलस्तरीय एक्सपर्ट क्रिकेटको झल्को दिने छ । किन की दुवै फाईनलिष्ट टोली पुरानै हुन् अर्थात स्कुलस्तरीय फाईनल खेलेका दुवै टोलीले कलेजस्तरमा पनि च्याम्पियनको लागि प्रतिस्पर्धा गर्दै छन् ।
फाईनलमा पोखराको कुमुदिनी होम्स र तनहुँ दमौलीको सत्यवती माविले प्रतिस्पर्धा गर्दै छन् । यी दुवै गत वर्ष स्कुलस्तरीय एक्सपर्ट क्रिकेट प्रतियोगितामा फाईनल भिडेका थिए । यिनै दुवै विद्यालयले एकवर्ष पछि पोखरा रंगशालाको उही क्रिकेट मैदानमा कलेजस्तरीय प्रतिस्पर्धामा आमने सामने छन् । सत्यवतीले स्याङजा बहुमुखी क्याम्पसलाई पराजित गर्दै फाईनल समीकरण पुरा गर्दा कुमुदिनी होम्सले पनि पोखरा विश्वविद्यालयलाई हराउँदै फाईनल प्रवेश गरेको थियो ।

गतवर्ष सत्यवतीले जित्दै कुमुदिनी उपविजेतामा चित्त बुझाएको थियो । अहिले पनि कुुमुदिनीलाई नै पराजित गरे कलेजस्तरमा पनि आफनो प्रभुत्व जोगाउने अभियानमा सत्यवती छ । कुमुदिनी होम्सले गतवर्ष पराजयको पीडालाई भुल्न कलेजस्तरको उपाधि जित्ने दाउमा छ । विजेता कलेजले १४ वटा व्याट सहित ट्रफी पाउने छ । उपविजेताले पनि ट्रफीमै चिक्त बुझाउनुपर्ने बाध्यता छ ।

कुमुदिनीका लागि यु—१६ नेपाली क्रिकेटका राष्ट्रिय टोलीका सदस्य समीर सेनको भूमिका महत्वपूर्ण हुने छ । उनको बलिङ सत्यवतीको लागि घातक सावित हुने छ । उता सत्यवतीका कप्तान विनय भण्डारी पनि आफनो बलिङ र व्याटिङ दुवैमा पोख्त देखिएका छन् । सर्वाधिक विकेट लिने सूचीमा उनी अगाडि छन् । उनले ११ विकेट लिईसकेको अवस्था छ । त्यसले गर्दा दुवै टोली निकै सन्तुलित छ । दुवैले अतिक्ति रन जोगाउनुपर्नेमा विशेष ध्यान दिनुपर्ने छ ।
विद्यालयस्तरदेखि नै क्रिकेटको माहौल सृजना गर्न प्रतियोगिताले निकै सहयोगी भूमिका खेलेको संयोजक विधान श्रेष्ठको ठम्याई छ । नियमित प्रतियोगिताले विद्यालय र कलेजका खेलाडीमा क्रिकेटको मोह जाग्दै गएको उनको भनाई छ । केही दिन अघि मात्रै पोखरा क्रिकेट क्लबले क्लबस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो । त्यो बाहेक पोखरा रंगशालामा क्रिकेटको खासै प्रभावकारी गतिविधि भने हुन सकेको छैन् ।