शनिबार पोखरा ट्रेल रेसको दोस्रो संस्करण, डयामसाईड- पुम्दीकोट-डयामसाईड

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन १५ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—पोखरा ट्रेल रेसको दोस्रो संस्करण चार दिनपछि शुरु हुदैं छ । २० किलोमिटर दौडको ट्रेल रेस आउँदो शनिबार पोखराको ड्यामसाईडबाट शुरु हुने छ । अन्तिम विन्दु कास्कीको पुम्दीकोटमा पुगेर फर्किएर ड्यामसाईड आएर रेस टुंगिने छ । दौडमा विजेताले नगद ५ हजार पाउने छ । ट्रेल रेस पुरा गरेवापत धावकले १ अंक समेत प्राप्त गर्नेछ । चार अंक प्राप्त गरेको अवस्थामा ट्रेल रेसको अन्तिम प्रतिस्पर्धामा सहभागिता जनाउने पाउने पोखरा ट्रेल रेस सिरिजका अध्यक्ष विकास गुरुङले जानकारी दिए । ट्रेल रेसका ग्राण्ड फिनाले भने आगामी डिसेम्बर गरिने छ । सेप्टेम्बरमा आयोजित रेसमा विजेताले नगद एकलाख रुपैयाँ पाउने मात्रै नभई अन्तराष्ट्रिय ट्रेल रेसमा समेत सहभागिता जनाउने पाउने उनले पोखरा रंगशालामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बताए । उनका अनुसार ट्रेल रेसको अन्तिम सस्करणमा उपविजेता हुनेले ५० हजार र तेस्रो हुनेले नगद २५ हजारसहित ट्रफीको हकदार हुने छन् ।

ट्रेल रेसको फाईनल प्रतिस्पर्धामा सहभागिता जनाउन तीन वटा ट्रेलमा सहभागिता जनाईसकेको हुनुपर्ने प्रावधान छ । पोखरा ट्रेल रेस सिरिजले तीन महिना पोखराकै काहुँडाडामा ट्रेलको पहिलो सस्करण गरेको थियो । पहिलो संस्करणमा ट्रेल रेसको प्रवद्र्धन गर्न अन्तराष्ट्रिय धाविका मीरा राईको उपस्थिति थियो । दोस्रो सस्करणको ट्रेल रेस फागुन १९ गते शनिबार ड्यामसाईडबाट शुरु गरी १४ सय मिटर उचाईको पुम्दीकोटमा पुगेर टुंगिने छ । रेसमा धावकलाई आवश्यक रेस्क्यु तथा बाटो देखाउन आवश्यक मार्सल समेत खटाईने छ । प्रत्येक ५ सय मिटरको फरकमा मार्सल राखिने समेत उनले जानकारी दिए । तेस्रो सस्करणको ट्रेल रेस धम्पुस पोथनामा गर्ने आयोजना छ भने चौथो तथा अन्तिम ट्रेल रेस पन्चासे क्षेत्रमा गर्ने योजना छ । त्यसको लागि ट्रेलको अध्ययन गरिने आयोजकले जनाएका छन् ।

चारदिनपछि हुने ट्रेलरेससँगै ७ किलोमिटरको फन रेसलाई समेत समावेश गरिएको छ । २० किलोमिटरको ट्रेल रेस ६ इभेण्टमा हुने छ । महिला तथा पुरुष सिनियर, विदेशी महिला तथा पुरुष र यु १८ महिला तथा पुरुषको इभेण्ट गरिने छ । विशेष गरी रेससँगै स्पोर्टस टुरिज्मको प्रवद्र्धन गर्ने उद्देश्यले तीन तीन महिनाको फरकमा रेस आयोजना गरिने पोखरा ट्रेल रेस सिरिजका संस्थापक राजीव श्रेष्ठले बताए । ‘हाम्रो उद्देश्य स्पोर्टस टुरिज्म प्रवद्र्धन हो ।’ उनको भनाई थियो । रेसमा २ सय धावकले सहभागिता जनाउने अपेक्षा गरिएको छ । पहिलो संस्करणमा ९७ जना धावकले प्रतिस्पर्धा गरेका थिए । रेसको लागि दुईलाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । रेसलाई रेडबुलले मृख्य प्रायोजन गरेको छ ।