सन्दीप लामिछानको क्रिकेट करियर यात्रा आईपिएल टु सिपिएल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन १८ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—एक महिनापछि भारतमा क्रिकेटकै सबैभन्दा ठूलो व्यवसायिक प्रतियोगिता इण्डियन प्रिमियर लिग शुरु हुदैं छ । आईपिएल खेल्ने पहिलो नेपाली खेलाडीको इतिहास बनाएका सन्दीप लामिछाने अर्को व्यवसायिक क्रिकेट क्यारेवियन प्रिमियर लिगको(सिपिएल) लागि समेत छानिएका छन् । उनी क्यारेबियन प्रिमियर लिगका वेष्ट इण्डिज उत्कृष्ठ व्याट्सम्यान ग्रिस गेलको सामिप्यतामा रहेर खेल्ने छन् । उनलाई ग्रिस गेलको नेतृत्वमा रहेको सेन्ट किट्स एण्ड नेभिस पेट्रिओटस टिमले ५ हजार डलरमा खरीद गरेको हो ।

आईपिएलमा दिल्ली डेयरडेभिल्सले बेस प्राईज २० लाख भारुमा खरीद गरेको सन्दीप आफु क्यारेवियन प्रिमियर लिगमा छनोट भई खेल्ने अवसर पाएकोमा सामाजिक सञ्जालमा खुशी व्यक्त गरेका छन् । उनले ट्वीटमा लेख्दै—‘सेन्ट किट्स एण्ड नेभिस पेट्रिओट्सले विश्वास गरेकोमा धन्यवाद दिन चाहन्छु । मेरा सबै शुभचिन्तक एवं प्रशंसकप्रति समेत धन्यवाद भन्न चाहन्छु ।’ स्याङजामा जन्मिएका लामिछाने अहिले नवलपरासीको नवलपुरमा बस्छन् । प्रदेश नं ४ का खेलाडी १७ वर्षिय लामिछानेलाई दिल्ली डेयरडेभिल्सले मात्रै नभई अन्तराष्ट्रिय क्रिकेट परिषदले समेत उनको चर्चा गरेको छ ।

लामिछाने यतिबेला विश्वकप क्रिकेट छनोट खेल्न जिम्बावेमा छन् । जहाँ उनलाई खरीद गरेको टिमको नेतृत्व गरेको ग्रिस गेल पनि सँगै छन् । तर नेपाल र वेष्ट इण्डिज फरक समूहमा छन् । यद्यपी ग्रिल गेलले उनलाई अझ नजिकबाट नियाल्ने छन् । उनको बलिङ क्षमतालाई गेलले विश्वकप छनोटमा हेर्ने छन् ।

तीन साताअघि मात्रै नामिवियामा सम्पन्न विश्व क्रिकेट लिग डिजिभन २ मा १७ विकेट लिएका लामिछाने उत्कृष्ठ खेलाडीबाट सम्मानित भएका थिए । क्यानडा विरुद्धको खेलमा उनले अन्तिम विकेटको लागि करण केसीसँगको महत्वपूर्ण साझेदारीमा जित निकाल्दै विश्वकप छनोटमा पुर्याएका थिए । अष्ट्रेलियन स्पीनर सेन वार्नसँग दाँजिने उनको बलिङको विशेषता नै लेगब्रेक गुगली हो । १९ वर्ष भन्दा कम उमेर समूहको विश्वकपमा आयरल्याण्ड विरुद्ध ह्याट्रिक विकेट लिएपछि लामिछानेको चर्चा एकाएक चुलिएको थियो । जुन चर्चाको प्रतिफल आईपिएल टु सिपिएलसम्म पुगेको छ । एजेन्सीको सहयोगमा