सडन डेथमा आर्मीलाई झापा गोल्डकप, एकैसिजनमा सातौं उपाधि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २८ गते २०७४ मा प्रकाशित


विर्तामोड(खेलाडी न्युज)—नेपाल आर्मीले झापा गोल्डकपको उपाधि उचाल्दै एकैसिजनमा सर्वाधिक नकाउट फुटबल प्रतियोगिता उपाधि जित्ने एक्लो टोली बनेको छ । आयोजक झापालाई घरेलु मैदानमा उपाधि उचाल्ने सपनालाई सडन डेथमा टुग्याउँदै आर्मीले सिजनको सातौ उपाधि आफनो लेखाउन सफल भयो । उपाधिसँगै आर्मीले नगद १२ लाख ५१ हजार रुपैयाँसहित ट्रफी पाउँदै नेपाली फुटबलमा आर्मीको राज देखियो ।

विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको फाईनल खेलमा निर्धारित समयमा १—१ गोलमा टुंगिएपछि निर्णय पेनाल्टीसुटआउटमा पुगेको थियो । ५—५ पेनाल्टीमा समेत बराबरी ३—३ गोल भएपछि निर्णय सडन डेथसम्म लम्बियो । अन्तत ८—७ गोलमा आर्मीले बाजी मार्दा घरेलु उपाधि जोगाउने झापाको आशा समाप्त भयो । पोखरामा डेढ दशक अघि आयोजित क्याराभान गोल्डकपमा ११—११ जनाले पेनाल्टी प्रहार गरेको इतिहास थियो । तर झापामा भने १०—१० जना खेलाडीले पेनाल्टी हाने ।

झापाका गोलकिपर किशोर गिरीको दशौं पेनाल्टी चुकेपछि झापाले उपविजेतामा चिक्त बुझाउन विवश बन्यो । झापाको तर्फबाट कर्ण लिम्बु र सुमन मैनालीको प्रहार पनि पेनाल्टीमा चुक्न पुगे । आर्मीका लागि जितेन्द्र कार्की र सन्तोष तामाङको पेनाल्टीलाई झापाका गोलकिपर किशोरले बचाउ जितको आशा जगाईराखे । झापाका लागि भुषण सुब्बा, योगेश गुरुङ, देवेन्द्र तामाङ, विश्वास श्रेष्ठ, पुजन उपरकोटी, विकास बुढाथोकी र दिलेन लोक्तामले पेनाल्टी हिर्काएका थिए । आर्मीका लागि नवयुग श्रेष्ठ, दिपक गुरुङ, विकेश कुथु, दिप लामा, विकास तामाङ, भरत खवास, नवयुग श्रेष्ठ र सुमन अर्याललेको प्रहार गोलमा परिणत भएको थियो । टंक बस्नेतले दशौं पेनाल्टी हिर्काउँदै उपाधि सुनिश्चित बनाए । उपविजेता बनेको झापाले नगद ६ लाखसहितको पुरस्कार थाप्यो ।

प्रतियोगितामा झापाका योगेश गुरुङ उत्कृष्ठ घोषित भए । उनले मोटरसाईकल प्राप्त गरे । सर्वाधिक गोलकर्ताको सूचीमा कर्ण लिम्बु रहे । उनले नगद ५१ हजार प्राप्त गरे । फाईनल म्यान अफ दि म्याचको हकदार विश्वास श्रेष्ठ भए । अनुशासित टोलीको पुरस्कार सहारा क्लब पोखराले पायो । उत्कृष्ठ गोलकिपर विकेश कुथु(आर्मी), उत्कृष्ठ रक्षक देवेन्द्र तामाङ(झापा)« उत्कृष्ठ मिडफिल्डर सन्तोष तामाङ(आर्मी), उत्कृष्ठ प्रशिक्षक चुनबहादुर थापा(आर्मी) घोषित भए ।