ऐरीको अलराण्डर प्रदर्शन, नेपालद्वारा पपुवा न्युगिनी ६ विकेटले पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र १ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—मिडल अर्डर व्याट्सम्यान दिपेन्द्रसिंह ऐरीको अलराण्डर प्रदर्शनमा नेपालले पपुवा न्युगिनीलाई छ विकेटले पराजित गरेको छ । चार विकेट लिएर घातक बलिङ गरेका ऐरीले व्याटिङमा पनि उत्कृष्ठ प्रदर्शन गर्दै अर्धशतकीय पारी खेल्दै नेपाललाई पपुवा न्युगिनीमाथि महत्वपूर्ण जित दिलाए । ज्ञानेन्द्र मल्ललाई १ रन, अनिल साहलाई ९ रन र पारस खड्कालाई २० रनमा गुमाएको नेपालको इनिङ्सलाई ऐरीले सम्हाले । ऐरीले ५८ बलमा ५० रन नटआउट जोड्दै महत्वपूर्ण जित दिलाउँदा म्यान अफ दि म्याचको हकदार समेत भए। ऐरीलाई आरिफ शेखले पनि चौथो विकेटको लागि महत्वपूर्ण साझदारी गरे । शेखले ४२ बल खेल्दै २६ रन जोडिदिए । नेपालले ११५ रनको लक्ष्य २३ ओभरमा पुरा गर्यो ।

लेग स्पीनर सन्दीप लामिछाने र मिडियम पेस बलर दिपेन्द्रसिह ऐरीको घातक बलिङमा पपुवा न्युगिनी ११४ रनमै अलआउट हुन पुग्यो । केवल २७ ओभर २ बल खेलेको पपुवा न्युगिनीका लागि सर्वाधिक रन भने चाल्र्स एमिनीले बनाए । उनले १८ बलको सामना गर्दै एक चौका र एक छक्का हन्दै १९ रनको पारी खेले । जोसन किलाले १५ रनको योगदान दिदाँ टोनी उरे भने ११ रनमै पवेलियन फर्किए । लामिछाने र ऐरीले ४—४ विकेट लिए । ४.२ ओभर बलिङ गरेका ऐरीले १४ रन खर्चिएर ४ विकेट लिदाँ लामिछानेले आठ ओभरमा २९ खर्चिदैं ४ विकेट लिए । सोमपाल र करण केसीको नाममा भने एक एक विकेट लेखियो ।

नेपाल हेड टु हेडमा पपुवा न्युगिनी भन्दा पछाडि छ । यद्यपी विश्वकप छनोट अन्तर्गत सुपरसिक्सबाट बाहिरिएको नेपालले पपुवा न्युगिनीमाथि महत्वपूर्ण जित हासिल गर्यो । नेपाल र पपुवा न्युगिनी बीच पहिलो पटक सन २००५ मा मलेसियामा भएको आईसिसी विश्व क्रिकेट लिग डिभिजन २ को छनोट चरणमा प्रतिस्पर्धा गरेका थिए । जहाँ नेपाल ७० रनले पराजित हुन पुगेको थियो । त्यस्तै सन २०१५ मा विश्व क्रिकेट लिग च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पपुवा न्युगिनीसँग २ विकेटले पराजित भएको थियो । दोस्रो लेगमा पनि नेपाल ३ विकेटले पराजित हुन पुगेको थियो ।

विश्वकप छनोटमा सुपर सिक्समा प्रवेश गर्न असफल भएको नेपालको लागि आज पपुवा न्युगिनीसँगको भेट एकदिवसीय मान्यताको लागि अवसर पनि थियो । त्यो अवसरलाई आज नेपाली क्रिकेटरले चुकाएनन् । नेदरल्याण्डले हङकङसँग अर्को प्लेअफ खेल्दै छ । नेपालले एकदिवसीय मान्यता पाउन नेदरल्याण्डले हङकङलाई पराजित गर्नुपर्ने हुन्छ । नेपालले पपुवा न्युगिनीलाई र नेदरल्याण्डले हङकङलाई हराए एकदिवसीय मान्यताको हकदार बन्ने छ । तर नेपालले जित र नेदरल्याण्ड पराजित भए सातौं स्थानको लागि नेपाल र हङकङ बीच प्रतिस्पर्धा हुने छ जुन एकदिवसीयको लागि निर्णायक हुने छ । चार वर्षको लागि नेपाली क्रिकेटको भविष्य लेखिने छ । पराजित टोली डिभिजन २ मै फर्किने छन् ।