भारत, दक्षिण अफ्रिका र अष्ट्रेलियासँगै नेपाल वान डेको समूहमा,आईसिसीसँगै बिसिसीआईको ध्यान

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—क्रिकेटको इतिहासमा नेपालले भारतसँगको समान हैसियत बनाएको छ । बिहीबार मात्रै एनदिवसीय अन्तराष्ट्रिय मान्यता पाउँदै भारतसँगै एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्ने हैसियत बनेको हो । भारत, दक्षिण अफ्रिका र अष्ट्रेलियासँगै वान डे टिम समूहमा नेपाल सामेल हुन पुग्यो । पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गर्दै इतिहास लेख्दा हङकङले भने वान डे मान्यतालाई गुमाउन पुगेका छन् । हङकङ नेदरल्याण्डसँग ४४ रनले पराजित गरेको थियो ।

नेपालले वान डे मान्यतासँगै विश्वकै ध्यान नेपालमा केन्द्रीत भएको छ । राजनीतिक हस्तक्षेपले क्रिकेट विकासको लागि गठिन नेपाल क्रिकेट संघ(क्यान) समेत निलम्बनमा परेको अवस्थामा यो ऐतिहासिक क्षणलाई आईसिसीले भने विशेष महत्व दिएको छ । आईसिसीसँगै भारतीय क्रिकेटको सर्वोच्च संस्था बिसिसीआईको ध्यान समेत खिचिएको छ । आईसिसीले आफनो अफिसियल ट्वीटरमा समेत नेपाली क्रिकेटरले जितको खुशीयालीको फोटो राख्दै बधाई ज्ञापन गरेको छ ।

विश्व क्रिकेटको दुनियाँमा नेपालले देखाएको प्रदर्शनले सबैलाई चकित बनाईदिएको छ । क्रिकेटको पुर्वाधार विकास हुन नसकिरहेको अवस्थामा यो उपलब्धीले सरकारलाई क्रिकेटको विकासमा लगानी गर्नुपर्ने खाँचो प्रष्टयाईदिएको छ । कप्तान पारस खड्काले सामाजिक सञ्जालमा भनेका छन्—‘यो नेपाल क्रिकेटको इतिहासमा सबैभन्दा ठूलो उपलब्धी हो । त्यसको लागि सबै खेलाडीप्रति र क्रिकेटप्रेमीलाई हार्दिक आभार प्रकट गरेका छन् ।’