डेढमहिनापछि पुलिस र थ्री स्टार तिलोत्तमा गोल्डकपमा भिड्दै

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २ गते २०७४ मा प्रकाशित


बुटवल(खेलाडी न्युज)—तिलोत्तमा गोल्डकपको २० औं सस्करण भोलि आईतबार टुंगिदैं छ । उपाधि काठमाडौं पुग्ने छ । विभागीय टोली नेपाल पुलिस र चर्चित फुटबल क्लब थ्री स्टार बीच फाईनल भिडन्त हुदैं छ । त्यसको लागि दुबै टोली मानसिक रुपमा तयार भएका छन् ।

मोफसलको नकाउट फुटबलको उपाधिको लागि दुबै आतुर छन् । थ्री स्टारको लागि सिजनको यो तेस्रो उपाधि हुने छ । पुलिसलाई भने दोस्रो । थ्री स्टारले इटहरी गोल्डकप र धरानमा आयोजित बुढासुब्बा गोल्डकप आफनो नाममा लेखाईसकेको छ । नेपाल पुलिस क्लबले भने पोखरामा आयोजित आहा रारा गोल्डकपको उपाधि उचालेको थियो ।

डेढमहिना पनि दुबै फाईनलमा भिड्दै छन् । पोखरामा आहा रारा गोल्डकपको फाईनलमा भिडेका यी दुबै टोली बुटवलमा फेरी आमने सामने हुदैं छन् । थ्री स्टारलाई पन्छाउँदै युवा टोली सम्मिलित नेपाल पुलिस क्लबले सिजनको पहिलो उपाधि जित्दै सुखद बनाएको थियो । पुरानै प्रतिस्पर्धी बीचको रोमाञ्चक भिडन्तले फाईनल अझ रौनक हुने अपेक्षा बुटवलबासीले गरेका छन् ।

बुटवल देवीनगरस्थित एन्फा खेल मैदानमा विहिवार भएको अन्तिम सेमिफाईनल प्रतिस्पर्धात्मक खेलमा लक्ष्मी हुण्डाई मनाङ मस्याङदी क्लबलाई २–१ गोल अन्तरले पछि पार्दै थ्रीस्टारले फाईनलमा स्थान सुरक्षित गरेको हो । त्यस्तै बुधवार आयोजक लाली ११ रुपन्देहीलाई सडेन डथेमा हराउदै नेपाल पुलिस क्लवले फाईलको यात्रा शुनिश्चित गरेको हो ।

प्रतियोगिता वारे शुक्रवार आयोजित पत्रकार सम्मेलनमा रुस्लान थ्री स्टार क्लबका टिम प्रशिक्षक मेघराज केसीले नेपाल पुलिस पनि शसक्त टिम भएकाले फाईनल खेल कडा प्रतिस्पर्धामक हुने अभिव्यक्ति दिए । दुवै टिम राम्रो प्रफमेन्स भएकाले जित कसको पोल्टामा जान्छ भन्ने कुरा फाईनलको खेलले नै देखाउने बताउदै केसीले फुटबललाई बचाउने हो जितहार भन्ने कुरा मैदानमा उत्रिएपछि जसले पाएका अवसरलाई सदुपयोग गर्न सक्छ त्यसकै जित हुने प्रष्टयाए ।

उता नेपाल पुलिसका टिम कोच अनन्त थापाले फाईनल खेल ५०­ ५०को अवसर भएको बताउदै टिम राम्रो रहेको र प्रतियोगिता आफनो पोल्टामा आउनेमा विश्वस्त रहेको दावी गरे । उनले पुलिसमा युवा टिम आएकाले कन्फिडेन्स राम्रो भएको समेत जिकिर गरे । विजेताले ७ लाख ७७ हजार ७ सय ७७ रुपैया र उपविजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयां नगद पुरस्कार प्राप्त गर्ने संघका अध्यक्षदीर्घ बहादुर केसीले बताए । बुटवल नगरपालिकाले विस २०३१ सालमा स्थापना गरी २०३३ साल वाट प्रतियोगिता संचालन हुदै आएको हो ।

तस्वीर यमलाल भुषाल