नैतिक जिम्मेवारी लिएर पद त्याग्छु—सदस्य सचिव शर्मा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक ३ गते २०८३ मा प्रकाशित


(प्रदेश खेलकुद परिषद लोगो)

धन बस्नेत,कास्की– दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडीको हकहितको लागि प्रस्ताव गरिएको बजेट निकासा नभए प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले नैतिक जिम्मेवारी लिदैं पद त्याग्ने घोषणा गरेका छन् । सदस्य सचिव शर्माले खेलाडीको हकहितका लागि आफुले लड्दै आएको जनाउँदै बजेट निकासा नभए आफुले नैतिकतामा पद त्याग्ने स्पष्ट पारे ।

खेलाडी पदक वितरणमा विवादमा तानिएका सदस्य सचिवले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गण्डकी प्रदेश सरकारसँग ९ करोड ६८ लाख रुपैयाँ बजेट माग गरेको उल्लेख गरे । “जिल्ला तथा प्रदेश छनोट, राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगद पुरस्कार, संघलाई खेल सामाग्री र स्वयंसेवक प्रशिक्षकको पारिश्रमिक तथा बन्द प्रशिक्षणको लागि बजेट मागेका हौं ।” सदस्य सचिव शर्माले भने—“बजेट नदिए खेलाडीको हकहित तर्फ सरकारले ध्यान दिदैन भने मेरो मात्रै नैतिक जिम्मेवारी होईन, मन्त्रालयले जिम्मेवारी लिनुपर्छ । परिषदले पनि जिम्मेवारी लिन्छ, नैतिक जिम्मेवारी लिदैं मैले पद त्याग्छु ।” उनका अनुसार राष्ट्रिय खेलकुद परिषदको परिपत्र अनुसार नै हामीले गण्डकी प्रदेश सरकारसँग बजेट उपलब्ध गराउन प्रस्ताव गरिएको हो ।

पदक विजेता खेलाडी एकल तर्फ स्वर्ण पदक विजेतालाई ५ लाख, रजत पदकलाई तीन लाख र कास्य पदक विजेतालाई एक लाख रुपैयाँ प्रोत्साहन पुरस्कार दिनेगरी प्रस्ताव मन्त्रालय पठाइएको उनको भनाई थियो । टिम गेम तर्फ स्वर्ण विजेतालाई तीन लाख, रजत पदक जित्नेलाई दुई लाख र कास्य पदक जित्नेलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने निर्णयसहित पत्र पठाइएको उनले बताए ।

अर्कोतिर खेल संघले खेल सामाग्री अभाव भएको गुनासो गरिरहेको सन्दर्भमा सदस्य सचिव शर्माले खेल सामाग्री खरीदको लागि समेत बजेटको प्रस्तवनापत्रमा उल्लेख गरिएको जनाए । “प्रदेश खेलकुद परिषदले ९ करोड ६८ लाख रुपैयाँ मागेका छौं । प्रदेश सरकारले छलफल गरेर बजेट उपलब्ध गराउने तर्फ सकारात्मक छौं ।” सदस्य सचिव शर्माको भनाई थियो । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद मार्फत सातै प्रदेशलाई ४९ लाखको दरले बजेट उपलब्ध गराउने छ ।

एथलेटिक्स संघले प्रदेश छनोटको लागि हर्डल्सको सामान नभएको गर्दै आएको छ । हक्की सघले पनि हक्की स्टिक नहुदाँ प्रशिक्षणमा समस्य रहेको गुनासो गरिरहेको छ । तेक्वान्दोलाई सेन्सर,अन्य खेललाई खेल सामाग्रीको खाँचो छ । प्रदेश खेलकुद परिषद गण्डकीले कार्तिकको ७देखि १० गतेभित्र पालिकास्तरीय छनोट, ११ गतेदेखि १५ गतेसम्म जिल्ला छनोट र १६देखि २० गतेसम्म प्रदेश छनोट गर्ने कार्यतालिका तय गरेको छ । तिहार लगत्तै झण्डै २० दिन बन्द प्रशिक्षणमा राख्ने योजना परिषदको छ ।