थ्री स्टारलाई तिलोत्तमा गोल्डकप, सिजनको तेस्रो उपाधि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र ३ गते २०७४ मा प्रकाशित


बुटवल(खेलाडी न्युज)—डेढमहिना अघि पोखरामा व्यहोर्दै उपाधिबाट बन्चित भएको थ्री स्टारले नेपाल पुलिस क्लबलाई बुटवलमा पराजित गरेर हिसाब बराबरी गरेको छ । फाईनलमा रुस्लान थ्री स्टारले नेपाल पुलिस क्लबलाई २—० गोलले पराजित गर्दै सिजनको तेस्रो उपाधिको रुपमा तिलोत्तमा गोल्डकप शनिबार उचाल्यो । बुटवलको देवीनगर स्थित फिफा टेक्निकल सेन्टरको खेल मैदानमा विभागीय नेपाल पुलिस क्लवसंगको फाईनल प्रतिस्पर्धामा पुलिसका कप्तान रविन श्रेष्ठको अक्षम्य गल्तीमा अग्रता लिन पुग्यो । उनले आफनौ पोष्टमा आत्मघाती गोलको उपहार दिएपछि थ्री स्टारले उपाधि जित्ने लगभग पक्का हुन पुग्यो । प्रतियोगिताको ६६ औं मिनेटमा उपहार गोलबाट अग्रता लिएको थ्री स्टारले ७९ औं मिनेटमा कप्तान निराजन खड्काको प्रहारले जाली चुमाएपछि थ्री स्टारको लागि उपाधि निश्चित हुन पुग्यो ।

प्रतिस्पर्धात्मक फाईनल खेलमा पुलिसका कप्तान श्रेष्ठको आत्मघाती गोलसंगै दवावमा परेको पुलिसले अन्ततः दवाब सहदै उपविजेतामा समेटिन पुग्यो । २०३३ सालमा तत्कालिन बुटवल नगरपालिकाले स्थापना गरेको तिलोत्तमा गोल्ड कप फूटवल प्रतियोगितामा ४ वटा संस्करणमा विजेता भएको पुलिस क्लवलाई २० औं संस्करणमा उपविजेतामा समेट्दै थ्री स्टाले पहिलो पटक उपाधि हात पारेको हो । तिलोत्तमा गोल्ड कपको गत वर्ष भएको १९ औं संस्करणको उपाधी संकटा क्लव काठमाण्डौले जितेको थियो ।

२० औं तिलोत्तमा गोल्ड कपको उपाधिसंगै थ्रि स्टारले ७ लाख ७७ हजार ७७७ रुपैंया नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेतामा समेटिएको नेपाल पुलिस क्लवले ४ लाख ४४ हजार ४४४ रुपैंया नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा थ्री स्टारका कप्तान निराजन खड्का उत्कृष्ट खेलाडी घोषित हुँदै होण्डा कम्पनीको स्कुटर तथा २१ हजार १११ रुपैंया नगद पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै प्रतियोगितामा उत्कृष्ट स्ट्राईगर नेपाल पुलिसका रेजिन सुब्बा, उत्कृष्ट मिडफिल्डर नेपाल पुलिसकै भोला सिलवाल, उत्कृष्ट डिफेन्स आयोजक रुपन्देही ११ का पूर्णबहादुर श्रेष्ठ, उत्कृष्ट गोल रक्षक थ्रि स्टारका गोलकिप्पर एलन न्यौपाने तथा उत्कृष्ट कोच थ्रि स्टारका प्रशिक्षक मेघराज केसी भएका छन् । उनीहरुलाई जनही २१ हजार १११ रुपैंया नगद पुरस्कार प्रदान गरिएको छ ।

प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा रहेको प्रतियोगितामा रहयोग गर्ने सबैलाई धन्यवाद दिए । प्रतियोगिता आयोजक जिल्ला फुटबल संघ रुपन्देहीका अध्यक्ष दीर्घबहादुर केसीले पाँच नम्बर प्रदेशकै नमुनाका रुपमा रहेको फिफा टेक्निकल सेन्टरको खेल मैदानको पूर्व पट्टि प्याराफिट नहुँदा प्रतियोगिता सञ्चालन गर्दै अस्थायी प्याराफिट बनाईरहनु पर्ने समस्या रहेकाले बुटवल उपमहानगरपालिकालाई स्थायी प्याराफिट निर्माणमा सहयोग गर्न आग्रह गरे ।