पाँचौं धौलागिरी कप क्रिकेटमा पोखराको लेकसाईडको विजयी शुरुवात

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र ४ गते २०७४ मा प्रकाशित


बागलुङ (खेलाडी न्युज)—बाग्लुङ क्रिकेटक्लबलाई ३७ रनले पराजित गर्दै पोखराको लेकसाईड क्रिकेट क्लबले पाँचौ धौलागिरी कप टी २० मा आईतबार विजयी शुरुवात गरेको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको लेकसाइड १९ ओभरमा १ सय ३९ रनमा अलआउट भएको थियो । खराब सुरुवात गरेको लेकसाइडका लागि तेस्रो क्रममा ब्याटिङ गर्न आएका अर्जुन अधिकारीले ३९ बलमा ५ चौकाको मद्दतले ३८ रन बनाएपछि लेकसाईड पोखराले सम्मानजनक स्कोर तयार पार्यो । पाँचौं नम्बरमा आएका राजु तामाङले १४ बलमा २७ रन र पर्वत भुषालले १५ बलमा २८ रनको विष्फोटक व्याटिङ गरे । बागलुङ क्रिकेट क्लबका लागि शिव खड्काले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिएका थिए भने सन्देश खड्का र रविन आचार्यले समान २–२ विकेट लिए ।

१ सय ४० रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रेको बागलुङ क्रिकेट क्लब १६ ओभरमा १ सय २ रनमा अलआउट भएको थियो ।बागलुङका लागि ओपनर शिव खड्काले ३२ बलमा ५ चौकाको मद्दतले ३४ रन र सन्देश खड्काले १६ बलमा २ चौका र २ छक्काको मद्दतले २५ रन बनाए पनि अरु खेलाडीहरुले राम्रो ब्याटिङ गर्न नसक्दा बागलुङले हार व्यहोर्दै उदघाटन सुखद बनाउन सकेन् । लेकसाइडका लागि अवित ओस्टाले ३ ओभरमा २३ रन खर्चेर ३ विकेट लिएका थिए भने राजु तामाङ र विजयी कुवरले समान २–२ विकेट लिए । त्यस्तै प्रेम गुरुङ र अमृत थापाले पनि १–१ विकेट लिएका थिए । लेकसाइडका १ जना खेलाडी रनआउट भएका थिए ।

बागलुङ क्रिकेट क्लब, फ्युचर स्पोर्टस् क्लब र चैत्राष्टमी मेला २०७४ व्यवस्थापन समितिको संयुक्त आयोजनामा चैत ११ गतेसम्म संचालित प्रतियोगितामा १८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै म्यान अफ दि सिरिजले १० हजार, बेस्ट ब्याट्सम्यान र बेस्ट बलरले जनही ५–५ हजार रुपैयाँ पाउने छन् ।