रिक्त प्रशिक्षक नियुक्त गर्न खेलकुद मन्त्रीसँग मदन भण्डारी स्पोर्टस एकेडेमीको आग्रह

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र ६ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)— युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मालाई स्वागत तथा सम्मान गर्दै मदन भण्डारी स्पोर्टस एकेडेमी पोखराले रिक्त रहेको विभिन्न खेलको प्रशिक्षक नियुक्त गर्न आग्रह गरेको छ । आज साँझ स्वागत तथा सम्मान गरेको स्पोर्टस एकेडेमी प्रदेश नं ४ का इन्चार्ज एवं पुर्व राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश गुरुङले रिक्त रहेका प्रशिक्षकमा प्रशिक्षक नियुक्त गर्दै प्रशिक्षण गराउने तर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

‘भर्खरै नेपालले अन्तराष्ट्रिय क्रिकेटमा एकदिवसीय मान्यता पाएको छ । तर पोखरामा क्रिकेटको प्रशिक्षक नै छैन् । मन्त्री ज्यूले प्रशिक्षकको व्यवस्था गर्नुपर्छ ।’ उनले मन्त्री विश्वकर्मासँग गुनासो गर्दै भने—‘मैले बक्सिङ खेले । बक्सिङको प्रशिक्षक समेत छैन् । स्वयंसेवक प्रशिक्षकले हुदैन् । अस्थायी रुपमा भएपनि प्रशिक्षक नियुक्त गर्न जरुरी छ ।’
क्रिकेट र बक्सिङको मात्रै नभई फुटबल, मार्सल आर्ट (फुल कन्ट्याक्ट कराँते), ह्याण्डबल, लन टेनिस लगायत विभिन्न खेलका प्रशिक्षक नै छैनन् । प्रशिक्षक नहुदाँ प्रशिक्षण प्रभावकारी छैन् । स्वयंसेवक प्रशिक्षकहरुले आफनो अनुकुलमा प्रशिक्षण गराउँदै आएका छन् । त्यसैको भरमा प्रतियोगिता खेल्नुपर्ने बाध्यता छ ।

मन्त्री विश्वकर्माले खेलकुदको विकासको लागि आवश्यक नीति तथा कार्यक्रम बनाई आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी काम अघि बढाईने बताए । ‘नेपालले अन्तराष्ट्रिय क्रिकेटमा एकदिवसीय मान्यता पाउँदा हामी भर्खरै मन्त्रीस्तरीय क्याविनेटमा थियौं ।’ मन्त्री विकले भने—‘अब खेलाडीलाई जिविकोपार्जन गर्ने गरी नीति तथा कार्यक्रम बनाउनुपर्ने खाँचो छ । आगामी आर्थिक वर्षमा त्यसै अनुरुप कार्यक्रम बनाई बजेट माग गर्छौ ।’ उनले पुर्वाधार विकासको लागि सातै प्रदेशमा अन्तराष्ट्रियस्तरको स्टेडियम बनाउने तर्फ सरकारको ध्यान गएको प्रष्ट पारे ।