आयोजकसँग आर्मी स्तब्ध

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र १२ गते २०७४ मा प्रकाशित


बुटबल(खेलाडी न्युज)—नेपाली फुटबलमा पछिल्लो समय उत्केृष्ठ लयमा देखिएको नेपाल आर्मी मदन भण्डारी अन्तराष्ट्रिय गोल्डकपको क्र्वाटरफाईनलमा आयोजकसँग स्तब्ध बन्न पुग्यो ।

आर्मीका खेलाडी नेपाली फुटबलको राष्ट्रिय टोलीबाट यमनसँगको एशियाली छनोट खेल्न प्रस्थान गरेपछि सोमबार आयोजकसँग पीडादायी हार व्यहोर्यो ।  गोल्डकपको सेमिफाईनल पुग्ने पहिलो टोली बन्ने सौभाग्य पाएको आयोजक मदनभण्डारी स्पोर्टस एकेडमीले आर्मीलाई ३—१ गोल अन्तरले पराजित गर्यो ।

रामनगरस्थित मानवज्ञान माविको मैदानमा सोमबार सम्पन्न कडा प्रतिस्पर्धात्मक पहिलो क्वाटरफाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–१ गोल अन्तरले पाखा लगाउंदै आयोजकले अन्तिम ४ मा स्थान पक्का गरेको हो । खेलको  १४ औं मिनेटमा विवेक बस्नेतको गोलमार्फत अग्रता लिएको आर्मीमाथि दोस्रो हाफमा आयोजक हावी भयो । आयोजक टिमका विदेशी खेलाडी  म्याक्सले ६४ औं र ६७ औं मिनेटमा दुई गोल गरे भने अर्का विदेशी खेलाडी अब्बाले ७५ औं मिनेटमा गोल गरे । म्याक्सले पहिलो गोल एक्लै बल अगाडि बढाएर गरेका थिए भने दोस्रो गोल अब्बाको लङ पासलाई हेडमार्फत जाली चुमाए ।

दोस्रो संस्करणको उपविजेता आर्मीले पाएका दर्जन बढी अवसरलाई सदुपयोग गर्न नसक्दा बाई पाएर सिधै क्वाटर फाइनल खेल्ने अवसर पाएपनि पहिलो खेलबाटै बाहिरियो । जितसंगै आयोजकका दुई गोल गरेका म्याक्स म्यान अफ द म्याच घोषित हुंदै नगद १० हजार पुरस्कार हात पारे । अब आयोजक टिम थ्री स्टार क्लब र हिमालयन एफसी मलेसियाबीच हुने खेलको विजेतासंग  चैत १६ गते  सेमिफाइनल खेल्नेछ । मंगलबारको दोस्रो क्वार्टर फाइनल खेल एपीएफ क्लब र  दोस्रो संस्करणको विजेता बुटवलको सुनौलो संगम युवा क्लबबीच हुने छ । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले ७ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।