भदौ तेस्रो साता बुल्समेन ओपन बडिविल्डिङ च्याम्पियनसिप

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र १७ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज) – बुल्समेन क्लब पोखराले भदौ तेस्रो साता तेस्रो सस्करण बुल्समेन शारीरिक सुगठन प्रतियोगिता गर्ने जनाएको छ । पत्रकार सम्मेलन मार्फत २०७५ भदौ १५ र १६ गते तेस्रो बुल्समेन खुल्ला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता गर्ने मिति सार्वजनिक गरिएको हो । पुरुषसँगै महिलाको इभेण्टलाई पनि समावेश गरिएको छ ।

बुल्समेनको आह्वान युवाहरुको पहिचान भन्ने नारासहित स्थापित बुल्समेन क्लबले विशेष गरी युवा पुस्तालाई खेलकुदप्रति प्रेरित गर्ने उद्देश्यसहित प्रत्येक दुई वर्षमा शारीरिक सुगठन प्रतियोगिता गर्दै आएको छ । पहिलो सस्करणमा रामबहादुर दाहाल र दोस्रो सस्करणमा अर्जुन वर्णवालले उपाधि जितेका थिए ।

५५, ६०, ६५, ७०, ७५, र ७५ माथिको तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् । प्रत्येक तौल समूहको विजेताले उपाधको लागि ओभरअल प्रतिस्पर्धामा उत्रिने छन् । ओभरअल विजेताले उपाधिसहित नगद १ लाख ५५ हजार ५ सय ५० रुपैयाँ प्राप्त गर्ने छन् । यद्यपी तेस्रो सस्करणमा पुरस्कार राशी बृद्धि गर्न हुने सम्भावना रहेको बुल्समेन क्लबले जनाएको छ ।

प्रतिस्पर्धामा नेपालभरका विभिन्न जिमखानाका खेलाडीहरुको संलग्नता रहने छ । तेस्रो सस्करणमा विदेशमा रहेको नेपाली खेलाडीको समेत संलग्नता हुने भन्दै मिति छिट्टै सार्वजनिक गरिएको बुल्समेन क्लबका कोषाध्यक्ष गम्बरसिंह गुरुङले जानकारी दिए । तेस्रो सस्करणलाई अझ भव्य र व्यवस्थित बनाउन पाँचमहिना अघि देखि नै तयारी शुरु गरिएको उनले सुनाए । उनका अनुसार विदेशबाट खेलाडी आउने भएकोले पनि समयमै जानकारी गराउँदा आउन सहज हुने विश्वास गरिएको छ ।