चैत अन्तिम साता बिरेठाँटीमा क्यानोनिङ प्रतियोगिता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २० गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—साहसिक खेल क्यानोनिङको प्रवद्र्धन गर्न यही चैत अन्तिमदेखि बैशाख १ सम्म क्यानोनिङ प्रतियोगिता गरिने भएको छ । पोखरा क्यानोनिङ र विरेठाँटी क्यानोनिङ प्रालिको आयोजनामा चैत २९ गतेदेखि क्यानोनिङ प्रतियोगिता हुने छ ।

प्रतियोगितामा ५० क्यानोनिङ खेलाडीको सहभागिता रहने पोखरा क्यानोनिङ प्रा.लिका निर्देशक राम गुरुङले जानकारी दिए । चीनबहादुर प्यारी प्रतिष्ठानको मुख्य प्रायोजनामा हुने प्रतियोगितामा विशेष गरी कास्की, भोटेकोशी, ककनी, सुन्दरी जल, लम्जुङ, बाग्लुङ(हटिया), पर्वत(दुर्लुङ)का रहेको क्यानोनिङका गाईडहरुको सहभागिता रहने उनले बताए ।
तीन चरणमा गरी फाईनल निकालिने छ । सहभागिताबाट समयको आधारमा टप टेन, टप फाईभ हुदैं विजेता घोषणा गरिने छ । प्रतियोगिता कास्कीको विरेठाँटीस्थित विरेठाँटी क्यानोङि (छहरा)मा हुने छ । छहरा ५० मिटरको उचाईको रहेको छ । बिरेठाँटी क्यानोनिङ सञ्चालनमा आएको छ महिनामात्रै भएको छ । पोखरा क्यानोनिङ भने चार वर्ष अघिदेखि सञ्चालित छ । पोखरा क्यानोनिङ कास्कीको ल्वाङघलेल गाँउमा छ ।

नेपालमा क्यानोनिङ गर्ने गाईडको स्वीकृति पत्र(लाईसेन्स) छैन् । स्वीकृति पत्र नहुदाँ साहसिक खेलसँगै पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन सकिएको छैन् । लाईसेन्सको लागि नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट(नाथम)सँग छलफल गरिएको उनले सुनाए । छलफलमा नाथमले गाईड लाईसेन्स दिने आवश्वास दिएको बताए । लाईसेन्स नहुदाँ ढुक्क हुन सक्ने अवस्था नरहेको उनले सुनाए ।

दुवै क्यानोनिङ अन्नपुर्ण संरक्षण क्षेत्र भित्र पर्छन् । क्यानोनिङ संरक्षण र सम्बद्र्धन गर्न नीतिगत निर्देशिकाको अभावले समस्या रहेको उनको भनाई थियो । पोखरा क्यानोनिङ प्रालिले वर्षेनी क्यानोनिङ सम्बन्धी प्रशिक्षण समेत दिदैं आएको छ । ४० जनाले प्रशिक्षण लिईसकेका छन् । क्यानोनिङको लागि अमेरिकन क्यानोनिङ एकेडेमीले प्रशिक्षण दिने गरेको छ ।

नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचनले नाथमका मुख्य इन्स्ट्रक्टर मनराज खत्रीसँग छलफल गरी गाईड लाईसेन्सको पहल भईरहेको बताए । उनले झरना केवल हेर्नको लागि मात्रै नभई खेलको रुपमा विकास गर्दै पर्यटन प्रवद्र्धन गर्नुपर्ने खाँचो औल्याए । त्यसको लागि गाईड तालिमसँगै लाईसेन्सको व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए । क्यानोनिङ विजेताले नगद ३० हजार प्राप्त गर्ने छन् । दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितासँगै विभिन्न साँस्कृति कार्यक्रम समेत गरिने छ । कार्यक्रमको लागि ५लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।