लेखनाथमा फुटबल व्युँतिने प्रयासमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २८ गते २०७४ मा प्रकाशित


धन बस्नेत, पोखरा- भण्डारढीक खेलमैदानमा फुटबल नभएको सातवर्ष बित्यो । आदर्श क्लब भण्डारढीकले तीजको अवसरमा तीजेकप गर्दै आएको थियो । २०६७ सालयता प्रतियोगिता भएको छैन् । तीजेकपबाट शुरु भई आदर्श कप नामाकरण हुदैं व्यवसायिक फुटबल प्रतियोगितामा फड्को मार्यो । तर एकाएक स्थगित हुन पुग्यो । कारण आर्थिक अभाव र मैदान स्तरहीनले ।

आर्दश क्लब भण्डारढीक २०४४ सालमा स्थापना भएको थियो । विधिवत दर्ता भने २०५४ सालमा गरिएको थियो । स्थापनासँगै भण्डारढीकमा स्थानीयस्तरको फुटबल प्रतियोगिता आयोजना गरिएको थियो । २०६६ र २०६७ मा आईपुग्दा प्रतियोगिताको नाम परिवर्तन हुदैं आर्दशकपमा परिणत भयो । त्यसभन्दा अघि क्लबले महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा तीजकप नामदिदैं प्रतियोगिता आयोजना गर्दै आएको थियो ।

२०६७ सालपछि भण्डारढीक खेलमैदानले खेलाडीलाई स्वागत गर्ने अवसर भने पाएको छैन् । अब आउँदो भदौमा तीजकै अवसरमा खेलाडीको स्वागत गर्ने तयारी आदर्श क्लबले गरेको छ । ‘आगामी भदौदेखि फेरी फुटबल प्रतियोगिता शुरु गर्ने छौं ।’ भण्डारढीकस्थित आदर्श क्लबका अध्यक्ष लक्ष्मी भण्डारीले भने—‘ पुर्वाधार नभएकोले प्रतियोगिता स्थागित गर्यौं । अहिले आवश्यक पुर्वाधार बनाएका छौं ।’

राजमार्गको सबैभन्दा नजिक रहेको फुटबल मैदान भण्डारढीक खेल मैदान हो । पृथ्वीराजमार्गसँगै जोडिएको खेल मैदान राष्ट्रियस्तरको मापदण्ड अनुसार बनाईएको छ । दर्शकलाई आवश्यक प्यारापिट निर्माण गरिएको छ । फुटबल मैदान वरिपरी ट्रयाक समेत छ । खेलाडीलाई चेन्जिङ रुम र मैदान संरक्षण गर्न तारजाली लगाईएको छ । बैकल्पिक खेलाडी तथा अफिसियलको लागि मैदानको छेउमा बेन्च राखिएको छ ।

‘पहिला प्यारापिट थिएन् । वर्षेनी फुटबल खेलाउँदा टिनको बार लगाउनुपर्ने बाध्यता थियो’ उनले भने—‘तारजाली लगाएपछि टिनको बार लगाउने टण्टो सिद्धियो । खर्च समेत जोगिन पुग्यो ।’ टिनको बार लगाउँदा वर्षेनी एक लाख रुपैयाँको दरले खर्च हुदैं आएको थियो । बार लगाउँदा केही उच्छृखंलले भत्काईदिदाँ खर्च अझ बढ्ने गरेको थियो । चारैतिर बार्नुपर्ने बाध्यताले अहिले अन्त्य भएको छ ।

मैदानसँगै अहिले अन्य आवश्यक पुर्वाधार बनाउन क्लबले विभिन्न संघसंस्थाको सहयोग जुटायो । एक करोड रुपैयाँ भन्दा बढी खर्च गर्यो । फुटबलको पुर्वाधारसँगै व्याडमिन्टन हल, भलिबल कोर्ट र बहुउद्देश्यीय कभर्डहल निर्माणाधिन अवस्थामा छ । फुटबल मैदानको लागि क्लबले २५ लाख रुपैयाँ खर्च गरेको छ । ४५ रोपनीको क्षेत्रफल छ । ११० मिट।र लम्बाई र ६५ मिटर चौडाईको फुटबल मैदान निर्माण गरिएको छ ।

मैदानसँगै रनिङ ट्रयाक निर्माण गरिएको छ । राजमार्ग तर्फ प्यारापिट निर्माणको लागि मर्सिकोर नेपालले २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको थियो । प्राप्त सहयोगबाट पाँचसय दर्शक क्षमताको प्यारापिट बनाइएको उनले बताए । प्यारापिट बनेपछि खाली चौरमा बसेर फुटबल हेर्नुपर्ने अवस्थाको समेत अन्त्य भएको छ । पुर्वाधार बनाउन तत्कालिन लेखनाथ नगरपालिका र लेखनाथ उद्योग वाणिज्य संघको सहयोगमा चेन्जिङ रुम, फुटसल मैदान निर्माण गरिएको हो ।

अध्यक्ष भण्डारीका अनुसार नगरपालिकाले १० लाख र उद्योग वाणिज्य संघबाट ७ लाख ५० हजार सहयोग प्राप्त भएको थियो । स्थानीयबासिन्दाकै सक्रियतामा थप आर्थिक सहयोग जुटाई पुर्वाधार तयार गरिएको हो । पुर्वाधार तयार भएपछि उनले आफनो दोस्रो कार्यकालमा भव्य फुटबल गराउने अभिलाषा बोकेका छन् । तीजकै अवसरमा आदर्श कप नकाउट फुटबल प्रतियोगिता गर्दै लेखनाथ क्षेत्रको फुटबल फेरी जीवन्तता दिने सोचाई रहेको अध्यक्ष भण्डारीले प्रष्टयाए । ‘भदौमा प्रतियोगिता गर्न आवश्यक प्रस्तावना पत्र बनाई विभिन्न निकायमा पठाईसकेका छौं’ उनले भने—‘खास गरी मुख्य प्रायोजनको खोजीमा पस्तावनापत्र पेश गरेका हौं । फाईनल भएपछि पत्रकार सम्मेलन मार्फत फुटबल प्रतियोगिताको बारेमा जानकारी दिन्छौ ।’

पोखरा रंगशालाको फुटबल मैदानको पुर्व र पश्चिमको प्यारापिट भत्काईएको छ । युवा तथा खेलकुद मन्त्रालयलाई पेश गरिएको प्रस्तावमा अनुसार साग महिला फुटबलसहित पाँच खेल पोखरामा गर्ने प्रस्ताव गरिएको छ । महिला फुटबल प्रतियोगिताको लागि लेखनाथको भण्डारढीक खेल मैदानमा गर्न सकिने आदर्श युवा क्लबले जनाएको छ । ‘साग महिला फुटबल भण्डारढीक खेल मैदानमा गर्नको लागि हामीले प्रस्ताव गर्ने तयारीमा छौं ।’ उनको भनाई थियो । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले भण्डारढीक खेल मैदानसहित अन्य पुर्वाधार अध्ययन गर्ने सम्भावना छ । सम्भवत आगामी शनिबार मन्त्री विश्वकर्माले मैदान निरीक्षण गर्ने तय भएको छ ।

जिल्ला खेलकुद विकास समिति कास्कीका कोषाध्यक्ष दिपकबहादुर गोदारले भण्डारढीक खेल मैदानसहित आवश्यक अन्य पुर्वाधार तयार भए क्लबस्तरीय फुटबल प्रतियोगितासहित अन्य इण्डोर खेलहरु गर्न सकिने बताए । राष्ट्रिय खेलकुद परिषदको आर्थिक सहयोगमा भण्डारढीक खेलमैदान परिसरमा बहुउद्देश्यीय कभर्डहल निर्माण कार्य शुरु गरिएको छ । बहुउद्देश्यीय कभर्डहल निर्माण समितिका सचिव सुवास खड्काका अनुसार राखेपले ५५ लाख रुपैयाँको सहयोगमा निर्माण शुरु गरिएको थियो । तर अहिले आर्थिक अभावले रोकिएको छ । हल निर्माणपछि भण्डारढीक खेलमैदान पुर्वाधारयुक्तले सजिने छ ।

एकैथलोमा फुटबल, भलिबल, फुटसल र इण्डोर खेल आयोजना गर्न सकिने उनको भनाई थियो । बहुउद्देश्यीय कभर्ड हल निर्माणको लागि तीन करोड भन्दा बढी खर्च हुने अनुमान गरिएको छ । बजेटको लागि मन्त्री विश्वकर्माको भ्रमणको समयमा ज्ञापन पत्र समेत बुझाई आवश्यक बजेट विनियोजनको पहल गरिने उनले बताए । बहुृउद्देश्यीय कभर्ड हल निर्माण पुरा भएको अवस्थामा लेखनाथमा राष्ट्रिय प्रतियोगिता इण्डोर हलमा खेलाउन सकिने छ ।

आर्दश क्लबले आयोजना गरेको फुटबल प्रतियोगितको विजेता क्लब र साल
लालुपाते क्लब शिशुवा —२०५५, दुलेगौडा क्लब —२०५६
आदर्श क्लब —२०५७
गार्डेन फुटबल क्लब —२०५८
अमरसिह व्वाईज क्लब —२०५९, २०६०
फुलबारी क्लब —२०६१
ड्यामसाईड क्लब —२०६२
संगम क्लब — २०६३, २०६४, २०६५
पोखरा ११ —२०६६
मनाङ मस्र्याङ्दी क्लब — २०६७

आजको नागरीक दैनिकमा छापिएको छ ।