क्यानोनिङ प्रतियोगितामा ‘टप टेन’ छनोट

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख १ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)- अन्नपुर्ण गाउँपालिका अन्तर्गत विरेठाँटी गाउँमा क्यानोनिङ प्रतियोगिता शुरु भएको छ । क्यानोनिङ प्रतियोगितामा उत्कृष्ठ टाईमिङका आधारमा १० जना छनोट गरिएको छ । छनोट भएका १० जनाबाट अन्तिम पाँच हुदैं उत्कृष्ठ टाईमिङ निकाल्ने क्यानोनिङकर्तालाई पुरस्कृत गरिने छ ।

साहसिक खेल क्यानोनिङको प्रवद्र्धन गर्न उद्देश्यले पोखरा क्यानोनिङ र विरेठाँटी क्यानोनिङ प्रालिको संयुक्त आयोजनामा शुरु भएको प्रतियोगितामा छनोट भएका १० मध्ये नौजना कास्की र एक जना काठमाडौंका प्रतिस्पर्धी छन् । क्यानोनिङको पहिलो दिन ५० मिटरको उचाईको छहराबाट डोरीको सहायताबाट तल झर्ने प्रतिस्पर्धा गराईएको थियो ।

प्रतिस्पर्धामा कास्कीका सन्तोष विक(२६.६६ सेकेण्ड),काठमाडौंका राजीव त्रिपाठी (२७.१२ सेकेण्ड), कास्कीका बासुदेव गौतम (२३.५९ सेकेण्ड), कास्कीका सुनिल गुरुङ (२४ सेकेण्ड), कास्कीकै स्वीकार सुनार (३६.६६ सेकेण्ड), ईश्वर गुरुङ (२८.७० सेकेण्ड), राजु नेपाली (३४.०७ सेकेण्ड), अखिल गुरुङ (२३.१३ सेकेण्ड), लिलाधर सुवेदी (३३.३९ सेकेण्ड) र अतित गुरुङ (२३.८३ सेकेण्ड)को समय लगाउँदै माथिबाट तल ओर्लिएको पोखरा क्यानोनिङ प्रालिका निर्देशक राम गुरुङले जानकारी दिए ।

उनका अनुसार दोस्रो दिन शनिबार उत्कृष्ठ दशबाट उत्कृष्ठ पाँच छनोट गरिने छ । उत्कृष्ठ पाँचको लागि छहराको तलबाट डोरीको सहायताबाट माथि जाने छन् । माथि जादाँ लगाएको समयको आधारमा पाँचजना छनोट गरी अन्तिम प्रतिस्पर्धा गराईने छ । अन्तिम पाँचजनामा नट पास (डोरीको गाँठो बनाई तलबाट माथि जाने र तल झर्ने) प्रतिस्पर्धामा उत्कृष्ठ समय निकाल्नेलाई पुरस्कार प्रदान गरिने उनले जानकारी दिए ।

नेपालमा क्यानोनिङ गर्ने गाईडको स्वीकृति पत्र(लाईसेन्स) छैन् । स्वीकृति पत्र नहुदाँ साहसिक खेलसँगै पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन सकिएको छैन् । लाईसेन्सको लागि नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट(नाथम)सँग छलफल गरिएको थियो । यद्यपी अझसम्म ठोस निष्कर्ष भने अझै आईसकेको छैन् । छलफलमा नाथमले गाईड लाईसेन्स दिने आवश्वास दिएको छ । लाईसेन्स नहुदाँ ढुक्क हुन सक्ने अवस्था नरहेको निर्देशक गुरुङले बताए ।

दुवै क्यानोनिङ अन्नपुर्ण संरक्षण क्षेत्र भित्र पर्छन् । क्यानोनिङ संरक्षण र सम्बद्र्धन गर्न नीतिगत निर्देशिकाको अभावले समस्या रहेको उनको भनाई थियो । पोखरा क्यानोनिङ प्रालिले वर्षेनी क्यानोनिङ सम्बन्धी प्रशिक्षण समेत दिदैं आएको छ । ४० जनाले प्रशिक्षण लिईसकेका छन् । क्यानोनिङको लागि अमेरिकन क्यानोनिङ एकेडेमीले प्रशिक्षण दिने गरेको छ ।

चीनबहादुर प्यारी प्रतिष्ठानको मुख्य प्रायोजन रहेको प्रतियोगितामा कास्की, भोटेकोशी, ककनी, सुन्दरी जल, लम्जुङ, बाग्लुङ(हटिया), पर्वत(दुर्लुङ)मा रहेको क्यानोनिङका गाईडहरुको सहभागिता रहेको थियो । क्यानोनिङ विजेताले नगद ३० हजार प्राप्त गर्ने छन् । दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितासँगै विभिन्न साँस्कृति कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रमको लागि ५लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको उदघाटन युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले गरेका थिए ।