बजेट विनियोजन, पुर्वाधार धमाधम

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख ११ गते २०७५ मा प्रकाशित


पोखरा, (खेलाडी न्युज)-राष्ट्रिय खेलकुद परिषदले युवा तथा खेलकुद मन्त्रालय समक्ष आगामी साग गेम्स सम्बन्धी प्रतिवेदन बुझाईसकेको छ । बुझाईसकेको प्रतिवेदनमा पोखरामा पाँच खेल खेलाउने निर्णय उल्लेख छ । पाँच खेल पोखरामा खेलाउन आवश्यक पुर्वाधार तयारी अगाडि बढाईएको छ ।

पोखरामा महिला फुटबल, आर्चरी, लन टेनिस र दुई मार्शल आर्ट खेल गर्ने निर्णय गरिएको छ । निर्णयसँगै युवा तथा खेलकुद मन्त्रालयबाट पुर्वाधारको लागि आवश्यक रकम समेत विनियोजन हुदैं आएको छ । विनियोजित रकमबाट आर्चरीको खेल मैदान तयारी हुदैं छ । लन टेनिसको लागि एक क्ले र अर्को हार्ड कोर्ट निर्माणको लागि टेण्डर भईसकेको छ । निर्माण कम्पनी छनोटको प्रक्रियामा छ ।

उता बहुउद्देश्यीय कर्भड हल पनि निर्माणको अन्तिम तयारी तर्फ उन्मुख छ । चालु आर्थिक वर्षमा परिषदले कास्की जिल्लाको लाग दुई करोड ७९ लाख रुपैयाँ सुनिश्चितताको बजेट रुपमा छुट्टाईसकेको छ । निर्माणको काम नसकिदैं कागजी प्रक्रिया मिलाएर बजेट सक्ने काम मात्रै हुने गरेको ठहर समेत परिषदले गर्दै सुनिश्चितताको बजेट पठाएको हो ।
‘काम पुरा नभएसम्म छुट्टिएको रकम निकासा हुदैैन् ।’ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए । गत आवमा मन्त्रालयले दुई करोड ३९ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

मन्त्रालयले छुट्टाएको रकममा पोखरा रंगाशालाभित्र निर्माणाधिन बहुउद्देश्यीय कभर्ड हललाई भने बजेट यसमा समावेश गरिएको छैन् । कभर्ड हल १४ करोड ३० लाखमा मुन्न डाँफे एण्ड आचार्य नामक कम्पनीले २०७१ बैशाख १२ देखि निर्माण शुरु गरेको हो । १५ महिनामा सक्ने लक्ष्यसहित शुरु गरिएको हलको लागत अहिलेसम्म एक करोड ९५ लाख रुपैयाँ थप भईसकेको छ ।

साग गेम्सको तयारीको लागि भन्दै आर्चरी खेलमैदान पुनर्निर्माण शुरु गरिएको छ । यो आर्थिक वर्ष आर्चरीको लागि ५० लाख रुपैयाँ विनियो गरिएको छ । छुट्टाइएको रकमबाट मैदान सम्याई दुबो रोप्ने, बर्खेपानीको निकासको लागि ड्रेन निर्माण गरिएको छ । ‘चार स्टेपको प्यारापिटको तयारीमा छौं ।’ कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले बताए । गत वर्ष आर्चरीकै लागि मन्त्रालयले ३० लाख रुपैयाँ दिएको थियो । त्यो रकमले तारजाली तथा तार्गेट तर्फ झण्डै डेढसयमिटर लामो पर्खाल निर्माण गरिएको छ ।

परिषदले पोखरा रंगशालाभित्रकै लन टेनिसको लागि समेत बजेट उपलब्ध गराएको छ । कास्की जिल्ला लन टेनिस संघकै पहलमा पाँचवटा क्ले कोर्ट बनाईसकिएको छ । परिषदबाट प्राप्त हुने तीन करोड ४५ लाखबाट हार्डकोर्ट, क्लेकोर्ट र प्यारापिट समेत बनाईने कास्की जिल्ला लन टेनिस संघका अध्यक्ष विनोद कायस्थले जनाए । पोखरा रंगशालाभित्र भलिबल प्रशिक्षण केन्द्र समेत बनाइएको छ ।

चार वटा कोर्टसहितको प्रशिक्षण केन्द्रलाई परिषदले ८५ लाख रुपैयाँ उपलब्ध गराएको थियो । उपलब्ध रकमसँगै स्थानीयको सहयोगमा चार कोर्ट, अफिसियल भवन, शौचालय र आठ स्टेपको प्यारापिट निर्माण गरिएको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।