नेपालगन्ज क्रिकेटको उपाधि दंगाली गोर्खाजलाई

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख १२ गते २०७५ मा प्रकाशित


नेपालगन्ज(खेलाडी न्युज) आशिर्वाद पेन्ट्स नेपालगंज कपकोे उपाधि एन आई सि एसिया दंगाली गोर्खाजले जितेको छ । बुधबारको फाइनल खेलमा पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजलाई ८ विकेटको पराजित गर्दै दंगाली गोर्खाजले पहिलो संस्करणको उपाधि रक्षा गरेको हो ।

कोहलपुर अन्तर्रा्ष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको रोल्पा गोरिल्लाजले १९.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८९ रनको योगफल तयार गरेको थियो। अत्यन्त खराब सुरुवात गरेको रोल्पाले पहिलो ८ विकेट ३३ रनको स्कोरमै गुमाउन पुगेको थियो। कप्तान सौरभ खनाल ३, रमेश सिंह १ , आकाश थापा ५, नन्दन यादब १०, समसुद्दिन अन्सारी ४, भिम सार्की ३, बसन्त कार्की ४ रनमा पेभेलियन फर्किएपछि गोरिल्ल्लाज लज्जास्पद योगफलतर्फ अघि बढेको थियो। नवौं विकेटको लागि शेर ओली र रोशन शाहले ३५ रनको साझेदारी गर्दै टिमलाई सम्मानजनक स्कोरतर्फ डोर्याएका थिए। शेर १४ रन बनाएर आउट भएपछि रोशनले मेराज अन्सारीसंग दशौं विकेटको लागि २१ रनको साझेदारी गरे। अन्तिम विकेटको रुपमा आउट हुनु अघि रोशनले मात्र २४ बलमा १ छक्का र ४ चौका प्रहार गरे भने मिराज अन्सारीले अविजित ७ रन बनाए।

रोल्पालाई सस्तोमै समेट्न दंगाली गोर्खाजका देब्रे हाते स्पिनर अनिल खरेलले ३ विकेट लिए जसको लागि ४ ओभरमा मात्र १६ रन खर्चिए। यस्तै कप्तान सन्दिप सुनारले २ विकेट लिएका थिए । रोल्पा गोरिल्लाजले दिएको ९० रनको लक्ष्य दंगाली गोर्खाजले ८ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । जितमा दंगालीका कप्तान सन्दिप सुनारले आक्रामक ब्याटिंग गर्दै मात्र २४ बलमा ८ चौका र २ छक्का मदतले ४६ रन बनाए। यस्तै मनोज सुनारले अविजित २४ रन बनाउन १९ बलमा ५ चौका प्रहार गरे। फाइनल खेलका म्यान अफ द म्याच दंगाली गोर्खाजका संदिप सुनार घोषित भए ।

उपाधि संगै दंगाली गोर्खाजले रु, १ लाख ११ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो भने रोल्पा गोरिल्लाजले उप विजेता बन्दै रु. ६० हजार प्राप्त गर्यो। प्रतियोगिताकै उत्कृष्ट खेलाडी एबरोल टी एम टी लुम्बिनी यात्रिजका बसिर अहमद घोषित भए भने उत्कृष्ट ब्याट्सम्यान पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजका सौरभ खनाल र उत्कृष्ट बलर एन आई सि एसिया दंगाली गोर्खाजका साहिद अन्सारी घोषित भए। यस्तै उदयमान खेलाडी एन आई एसिया दंगाली गोर्खाजका सदाब अन्सारी, फेयर क्याप्टेन सिद्धान्त राज शाही ( पाल्पा योद्धाज ) , फेयर प्लेयिंग टिम आर्शिवाद पेन्ट्स पाल्पा योद्धाज घोषित भयो। फाइनल खेलको म्यान अफ द म्याच सन्दिप सुनार घोषित भए।

गत बैशाख ३ गते देखि सुरु भएको प्रतियोगितामा ६ वटा  टिमहरुको सहभागिता रहेको थियो ।विजेता तथा उप विजेताहरुलाई संघिय ईकाइ कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक महेश विक्रम शाह,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष आतंक बस्नेत,आर्शिवाद पेन्ट्सका प्रबन्ध निर्देशक दुर्गा प्रसाद चौलागाई लगायतले पुरस्कार वितरण गरेका थिए ।