च्याम्पियन्स लिगमा रियल र वार्यनको फाईनल प्रवेशको प्रतिक्षा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख १८ गते २०७५ मा प्रकाशित


एजेन्सी- आज च्याम्पियन्स लिग फुटबलको महत्वपूर्ण प्रतिस्पर्धा हुदैं छ । रियल मड्रिडलाई उसैको घरमा पराजित गर्दै फाईनल पुग्ने रणनीति जर्मन बुन्डेसा लिग च्याम्पियन वार्यन म्युनिखले बुन्दै छ । घरेलु मैदानमा हारको पीडालाई विर्सन वार्यनले रियललाई पनि घरेलु मैदानमै पन्छाई फाईनल पुग्ने लक्ष्य लिएको छ । दुवैको परीक्षा आज हुने छ । पहिलो लेगमा रियलले वार्यनलाई उसैको मैदानमा २-१ गोलले पराजित गरेको थियो ।

स्पेनिस जायन्ट रियल च्याम्पियन्स लिगको सर्वाधिक विजेता पनि हो । रियलले १२ पटक लिगको उपाधि उचालिसकेको छ । फेरी उपाधि होडमा पुगेको छ । पहिलो लेगमा वार्यनलाई पराजित गर्दै हौसिएको रियलले दोस्रो लेगमा पनि उस्तै प्रदर्शन दोहोर्याउने सम्भावना देखिएको छ । उता वार्यनले भने रियललाई रियलकै घरेलु मैदान बेर्नबेउमा पराजित गरेर फाईनलको ढोका खोल्ने तर्फ लक्षित हुने छ ।

रियलले दुई दिन अघि मात्रैआफनो स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोलाई लेगानेस विरुद्ध आराम दिएको थियो । दोस्रो रोजाईमा पर्दै आएको गारेथ बेलको प्रेरणादायी गोलबाट रियलले जित निकाल्दा रोनाल्डोको अभाव खड्किन भने दिएका थिएनन् । घरेलु मैदानमा बेलको उपस्थितिको सम्भावनालाई पनि दर्शकले अपेक्षा गरिरहेका छन् ।

खेल रियलको घरेलु मैदान सेण्टिआगो बर्नबाउमा नेपाली समय अनुसार मंगलरबार राति साढे १२ बजेपछि सुरु हुनेछ ।
रियल मड्रिडका पूर्व प्रशिक्षक योप हाइनकेसको प्रशिक्षणमा रहेको बार्यनले यो सिजन बुन्डेसलिगा र जर्मन कपको उपाधि जितिसकेको छ ।

बार्यनको घरेलु मैदानमा भएको पहिलो लेगमा रियल २–१ ले विजयी भएकाले आजको खेलमा रियललाई बराबरी पनि फाइनल पुग्नका लागि पर्याप्त हुनेछ । तर पहिलो लेगमा बार्यनले रियललाई कडा टक्कर दिएकाले बार्यनले दोस्रो लेगमा कमब्याक गर्नसक्ने विश्लेषण पनि फुटबल पण्डितहरुले गरेका छन् ।

प्रतियोगिताको अघिल्लो संस्करणमा रियलले नै बार्यनलाई हराएर घर फर्काइदिएको थियो । च्याम्पियन्स लिगमा घरेलु मैदानमा खेलका ७ खेलमा रियलले हार्नुपरेको छैन । अझ जिनेदिन जिदानको प्रशिक्षणमा रियलले घरेलु मैदानमा च्याम्पियन्स लिगमा कुनै पनि खेल हारेको छैन ।

रियल र बार्यन युरोपियन फुटबल प्रतियोगितामा २६ औं पटक आमने सामने हुदैं छन् । च्याम्पियन्स लिगको अघिल्लो सिजनको क्वाटरफाइनलमा रियालले बायर्नलाई समग्रमा ६–३ ले हराएको थियो । आजको खेल बार्यनका लागि गत सिजनमा ब्यहोर्नुपरेको हारेको बदला लिने अवसर पनि बन्नेछ । तर च्याम्पियन्स लिगको १२ पटकको च्याम्पियन टिम रियल मड्रिडलाई हराउनु चानचुने पक्कै हुने छैन । पहिलो लेगमा अवे खेलमा हात पारेको जितले रियललाई झनै हौस्याएको छ । च्याम्पियन्स लिग भने वार्यनले पाँच पटक उचालेको छ । वार्यनसँगै बार्सिलोनाले पनि पाँच पटक नै च्याम्पियन्स लिग जितेको तथ्य छ ।