पहिलो पटक कास्कीमा क्लबस्तरीय राउण्डरोविन क्रिकेट लिग

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख १९ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-कास्कीको क्रिकेट इतिहासमा पहिलो पटक राउण्ड रोबिनमा क्लबस्तरीय लिग क्रिकेट प्रतियोगिता हुदैं छ । कास्की जिल्ला क्रिकेट संघले यही बैशाख २२ गतेदेखि क्लबस्तरीय लिग क्रिकेट प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । लिगको लागि ओम डेभलपमेन्ट बैंकले मुख्य प्रायोजन गरेको छ ।

अन्तराष्ट्रिय क्रिकेटमा नेपालले एक दिवसीय मान्यता पाईसकेको छ । एकदिवसीय मान्यता पाईसकेको अवस्थामा कास्कीको क्रिकेट विकास गर्ने उद्देश्य र लक्ष्यसहित पहिलो पटक वान डे फर्म्याटमा राउण्ड रोविन लिग आयोजना गरिएको कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले बताए ।

लिगमा संघमा आवद्ध ५ क्लबलाई राउण्ड रोविन खेल्ने छन् । टप टु ले फाईनल खेल्ने छन् । संघमा आवद्ध पोखरा क्रिकेट क्लब, सांग्रिला क्रिकेट क्लब, अरण्यज्योति क्रिकेट क्लब, माछापुच्छ«े क्रिकेट क्लब र कंक्रा क्रिकेट क्लबले सहभागिता जनाउने छन् । पोखरा क्रिकेट एकेडेमीको टिमलाई भने बैकल्पिक रुपमा राखिएको छ । क्लबको अनुपस्थिति भएको अवस्थामा एकेडेमीले लिग खेल्ने अवसर प्राप्त गर्ने छ ।

प्रायोजनकै अभावमा पोखरामा क्लबस्तरीय क्रिकेट प्रतियोगिताले प्राथमिकता पाउन सकेको थिएन् । ओम डेभलपमेन्ट बैंंकले मुख्य प्रायोजन गर्दै प्रतियोगिताको नाम ‘ओम डेभलपमेन्ट बैंक के.सि.एल(कास्की क्रिकेट लिग) २०७५ राखिएको छ । प्रायोजन वापत बैंकले संघलाई ५० हजार रुपैयाँ उपलब्ध गराउने छ । दुईदिन अघिमात्रै संघ र बैंक बीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र संघका अध्यक्ष सन्जयकान्त सिग्देल बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौताको अवसरमा बैंकका अधिकृत निकेश श्रेष्ठ र लिग संयोजक ओमप्रकाश श्रेष्ठ समेत उपस्थित थिए ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा खेलाईने छ । ४० ओभरको खेल हुने छ । प्रत्येक क्लबले चार खेल खेल्दै उपाधिसम्म पुग्ने छन् । विजेता क्लबले लिग ट्रफी उचाल्ने छ । प्रतियोगिताको संरक्षक पोखरा लेखनाथ महानगरपालिका रहेको छ । लिगमा कास्कीको सेवा हस्पिटलले चिकित्सकीय सेवा उपलब्ध गराउने संघका अध्यक्ष सिग्देलले जानकारी दिए । पोखरा क्रिकेट क्लबले झण्डै एक दशकपछि गत माघमा क्लबस्तरीय आमन्त्रित क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो ।

लिग शुरु हुन चारदिन मात्रै बाँकी रहँदा क्रिकेट पीच मर्मत कार्य शुरु गरिएको छ । दुईवटा क्रिकेट पीच छन् । एउटा नियमित रुपमा प्रतियोगिता आयोजना गर्दा प्रयोग गरिन्थ्यो । अर्को पीच भने केही दिन अघिमात्रै मर्मत सम्भारको कार्य थालिएको थियो । लिगले सुस्ताउँदै गएको कास्कीको क्रिकेटमा नयाँ आयाम थपिने विश्वास समेत संघले लिएको छ ।