पोखरा रंगशालामा स्वीमिङ पुल बनाउन निजी कम्पनीलाई आह्वान

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख २० गते २०७५ मा प्रकाशित


पोखरा,(खेलाडी न्युज)- पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले पोखरा रंगशालाभित्र स्वीमिङ पुल निर्माणको लागि निजी कम्पनीलाई आग्रह गरेको छ । सार्वजनिक निजी साझेदारी (पिपिपि) मोडल अन्तर्गत समितिले कम्पनीसँग कर्मसियल प्रयोजनको लागि ३० रोपनी क्षेत्रफल उपलब्ध गराउने निर्णय क्षेत्रीय खेलकुद विकास समितिको बोर्ड बैठकले गरेको छ ।

‘सरकारी मात्रै नभई निजी कम्पनीलाई पनि खेलकुदको पुर्वाधार निर्माणमा ल्याउने योजना बनाएका हौं’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले भने—‘हामी आफैं डिपिआर तयार पार्ने छौ । त्यही डिपिआरमा रहेर कम्पनीसँग आशयपत्र माग्ने छौं ।’

स्वीमिङि पुल बनाउन पोखरासँगै काठमाडौं र बुटवलका कम्पनीले चासो दिएको उनले बताए । उनका अनुसार पोखराका बतास अर्गनाईजेशन, बाराही ग्रुप, स्नोल्याण्ड ग्रुप, केसी कन्स्ट्रक्सनले स्वीमिङ पुल बनाउने चासो दिएका छन् । काठमाडौंका मनिष श्रेष्ठ र बुटवलका सागरराज कक्षपति पनि पोखरा रंगशालाभित्र स्वीमिङ पुल बनाउन चासोमा अग्रसरता देखाएको उनले जानकारी दिए ।

‘बनाउने जिम्मा लिने कम्पनीले किर्मसियल हिसाबले अन्य पुर्वाधार बनाउन सक्छ’ अध्यक्ष पौडेलले भने—‘२५ वर्षसम्म उपयोग गरेपछि खेलकुद विकास समितिलाई हस्तान्तरण गर्ने छ ।’ स्वीमिङ पुल अन्तराष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिने छ । ५० मिटर लम्बाई र २५ मिटर चौडाईको स्वीमिङ पुल बनाईने छ । ५ फिट ५ इन्च गहिराईको हुनुपर्ने प्रावधान छ । ‘स्वीमिङपुलसँगै कम्पनीले साउन, ज्याकुजि, हेल्थक्लब लगायतका पुर्वाधार बनाउन सक्ने छ’ उनको भनाई थियो ।

अध्यक्ष पौडेलले ३० रोपनी क्षेत्रफलमा स्वीमिङपुलसँगै बेवी स्वीमिङ पुल र डिप स्वीमिङ पुल समेत बनाउने बताए । स्वीमिङ पुलको लागि क्षेत्रीय खेलकुद विकास समितिले गेट नं २ बाट दक्षिण तर्फको जग्गा उपलब्ध गराउने छ । ह्याण्डबलको लागि समेत छुट्टाईएको जग्गा उपयोग हुने देखिएको छ । ह्याण्डबलको पुर्वाधार बनाउने जग्गा भने सेमी कभर्ड हल भन्दा दक्षिण तर्फ सारिएको छ ।

करिब ३० देखि ३५ करोडको लागतमा लाग्ने अनुमान गरिएको छ । स्वीमिङ पुल निर्माण गर्ने कार्य पिपिपि मोडलमा अघि बढाउन राष्ट्रिय खेलकुद परिषदले स्वीकृति प्रदान गरिसकेको उनले बताए । ‘स्वीमिङ पुल आवश्यक भईसकेको छ । सबैले सहयोग गर्नुपर्ने खाँचो छ’ नेपाल स्वीमिङ संघका केन्द्रीय सदस्य विप्लव पौडेलले भने—‘बाराही ग्रुपले मात्रै निर्माण गर्ने भन्ने होईन् ।’ बाराही ग्रुपका प्रबन्ध निर्देशक समेत रहेको पौडेलले सबैले निर्माणमा सहयोग गरे हामीले(ग्रुप)पनि सहयोग गर्न तयार रहेको बताए ।