दिल्लीको खोजमा सन्दीप पहिलो नम्बरमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ ९ गते २०७५ मा प्रकाशित


एजेन्सी -यो सिजनको आईपिएल फाईनल खेल बाँकी छ । तर दिल्ली डेयरडेभिल्सले भने आफनो यात्रालाई विट मारिसकेको छ । लिग तालिकामा पुछारमा रहदै यात्रा टुग्याउँदा नेपाली युवा क्रिकेट सन्दीप लामिछानेको भने सुखद बनेको छ ।

१७ वर्षिय नेपाली ठिटो दिल्लीको लागि सर्वाधिक खोजीको खेलाडीको सूचीमा छन् । उनले प्रतियोगिताको अन्तिम तीन खेल मात्रै खेले । तीन खेलमा दुई जित र एक हार निस्कियो । चेन्नई सुपर किग्स र मुम्बई इण्डियन विरुद्धको खेलमा उनको प्रदर्शन निकै लोभलाग्दो रह्यो । उनलाई प्लेयर अफ दि स्टाईलिस अफ दि गेमको उपाधि समेत पाए ।

दिल्लीका फ्यानहरुले सर्वाधिक खोजीमा सन्दीप पहिलो स्थानमा छन् । उनीभन्दा पछि भारतीय क्रिकेटका यु १९ का कप्तान पृथ्वी शा र अर्का खेलाडी अभिषेक शर्मा रहेका छन् । सन्दीप बलर हुन् भने शा र शर्मा दुवै व्याट्सम्यान हुन् । समग्र नतिजा खराब रहेपनि दिल्लीका केही खेलाडीहरुले यो सिजनमा निक्कै राम्रो प्रदर्शन गरे । दिल्लीका ऋषभ पन्तले सर्वाधिक ६८४ रन बनाए भने बलर ट्रेण्ट बोल्टले सर्वाधिक १८ विकेट लिए ।

दिल्लीले ३ खेलाडीहरुको प्रतिभा प्रस्फुटन गरायो । दिल्लीले यो सिजनमा पाएको होनहार प्रतिभाको सूचीमा सन्दीप लामिछानेलाई १ नम्बरमा राखेको छ । दोस्रोमा पृथ्वी शा तथा तेस्रोमा अभिषेक शर्मा परेका छन् । पृथ्वी र अभिषेक दुवै ब्याट्सम्यान हुन् । सन्दीपलाइ पहिलो ११ खेलसम्म प्लेइङ ११ मा राखिएन । १२ औं खेलमा रोयल च्यालेञ्जर्स बेंग्लोरका विरुद्ध पहिलोपल्ट खेल्ने मौका पाए । पहिलो खेलमा पहिलो ओभर नै उनलाइ थमाइएको थियो । सन्दीपले बेंग्लोरका पार्थिब पटेलको विकेट लिएपछि क्रिजमा रहेका ए बी डीभीलीयर्स र विराट कोहलीलाई बलिङ गर्ने मौका पाए । उनको स्पिनमा डीभीलीयर्स पनि जसोतसो आउट हुन बाट बचे ।

४ ओभरको स्पेलमा कुनै अतिरिक्त रन नदिइ २५ रन खर्च गर्दै १ विकेट लिंदा नेपाली ठिटो सबैका छलफलको विषय बने । उनले दोस्रो खेलमा चेन्नइका सुरेश रैनाको विकेट लिए । त्यो खेल दिल्लीले ३४ रनले जित्यो । तेस्रो खेलमा मुम्बइ इन्डियन्सलाई ११ रनले हराउँदा सन्दिपको योगदान स्मरणीय रह्यो । उनले सूर्यकुमार यादव, कायरन पोलार्ड तथा क्रुणाल पाण्ड्याको महत्वपूर्ण विकेट लिएका थिए । उनले समग्रमा ३ खेलमा १६.४४ को औसतमा ५ विकेट लिंदै ६.८३ को इकोनोमीका साथ जम्मा ८२ रनमात्र खर्चिएका थिए । यी सबै खेलमा भारतका अभिषेक शर्मा तथा पृथ्वी शा को योगदान पनि महत्वपूर्ण रह्यो ।

सन्दीपसँगै १२ औं खेलमा डेब्यू गरेका अभिषेकले बेंग्लोविरुद्ध अविजित १९ बलमा ४६ रन बनाएका थिए । पृथ्वी शा भने पहिले नै हैदराबाद विरुद्ध ६५, राजस्थान रोयल्सविरुद्ध ४७ तथा कोलकाताविरुद्ध ६२ रन बनाउँदै यू १९ विश्वकप जिताउने टिमको कप्तान तथा सुरुवाती ब्याट्सम्यान भएको तथ्य प्रमाणित गरिसकेका थिए ।