पोखरा फुटबल स्टेडियम बन्नेमा अन्यौलता, हामी टेण्डर गर्ने कोशिस गर्दै छौं—परिषद

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ १२ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-धेरैले आशा गरेका थिए, पोखरा रंगशालाको फुटबल स्टेडियममा बसेर साग महिला फुटबल हेर्ने । तर त्यो आशा विस्तारै निराशामा बदलिदैं गएको छ । राष्ट्रिय खेलकुद परिषदले स्टेडियम बनाउन ग्लोबल टेण्डर समेत आह्वान गरिसकेको थियो । छ अन्तराष्ट्रिय कम्पनी मध्ये केहीले नेपाली कम्पनीसँग सहकार्य गर्दै ईच्छा जाहेर गरे । अन्त्यमा एउटा कम्पनी छनोट हुन पुग्यो । त्यो पनि अयोग्यको सूचीमा राख्दै पुन टेण्डर गर्नुपर्ने निर्णय परिषदले लियो । तर अहिलेसम्म पुनःटेण्डर भने आह्वान गरिएको छैन् । झण्डै छ महिना वितिसक्यो ।

सन २०१९ को मध्यमा साग गेम्स आयोजना गर्नेै जिम्मेवारी नेपालको काँधमा छ । पोखरामा महिला फुटबलसँगै अन्य विभिन्न इण्डोर खेल सञ्चालन गरिने प्रस्तावित अध्ययन प्रतिवेदनमा समेत उल्लेख छ । आर्चरी, लन टेनिस र अन्य खेललाई निर्माणाधिन रहेको बहुउद्देश्यीय कभर्ड हलमा खेलाउन सकिने प्रतिवेदनमा थियो । तर महिला फुटबल हुनेमा अहिले आशा गर्न सकिने अवस्था नरहेको खेलकुदकर्मी बताउँछन् । ‘रि—टेण्डर भएको छैन् । टेण्डर प्रक्रिया अगाडि बढाई कम्पनी छनोट गर्दै समय जान्छ ।’ खेलकुदकै कर्मचारी भन्छन—‘टेण्डर भईहाले पनि कम्पनी छनोट गरेर पुन फाईनल टेण्डर गर्नुपर्छ । त्यसपछि कम्पनीसँग सम्झौता गर्ने म्याद तोकिनुपर्छ । सम्झौतापछि कम्पनीले सामान ल्याउन निश्चित समय तोकिन्छ । अनि बल्ल काम शुरु हुन्छ ।’

पहिलो पटक आह्वान गरिएको ग्लोबल टेण्डरको लागि २०७४ मंसिर २२ गतेसम्म म्याद थियो । म्याद रहेकै अवस्थामा चारदेशका छ कम्पनीले टेण्डर खरीद गरेका थिए । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले दशमहिनाभित्रमा पोखराको स्टेडियम बनाउने पोखरामा विभिन्न समारोहमै सार्वजनिक रुपमै घोषणा गर्दै आएका छन् । उनले भनेकै ६ महिना वित्यो । यद्यपी टेण्डर प्रक्रिया अगाडि बढेको छैन् । उता परिषदका इन्जिनियरको भनाई अनुसार अबको केही दिनभित्रैमा टेण्डर आह्वान हुने बताउँछन् ।

‘हप्ता दशदिनभित्रमा स्टेडियमको ग्लोबल टेण्डर आह्वान हुन्छ’ राष्ट्रिय खेलकुद परिषदका इन्जिनियर अरुण उपाध्यायले भने—‘त्योसँगै डोमको लागि समेत टेण्डर खुलाउँछौ । दुईचारदिन अघिपछि हुन सक्छ । हामीले कोशिस गर्दै छौं ।’ उनले आवश्यक जनशक्ति समेत नदिदाँ काम गर्न सहजता नभएको उल्लेख गरे । उनले टेण्डर आह्वानपछि समयमै निर्माण हुने विश्वास व्यक्त गरे । ‘समयमै सक्नेगरी काम गर्न कोशिस गर्ने हो । बन्द हडताल, सामाग्री नपाउने अवस्थाले समस्या ननिम्त्याए बन्न सक्छ ।’ उनको भनाई थियो ।

यद्यपी पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले पहिलो टेण्डर आह्वान भएको छ महिना वित्दा समेत रि टेण्डरको लागि भने दबाव भने दिन सकेको छैन् । क्षेत्रीय अध्यक्ष खगराज पौडेलले प्रक्रिया मिलाएर टेण्डर निकाल्ने सूचना आएको बताए । ‘दबाव दिईरहेका छौं ।आज भोलिमा भईहाल्छ भन्छन् ।’ उनले भने—‘तर दुईचारदिन वितिसक्यो अझै टेण्डर आह्वान भएको छैन् ।’ फुटबल मैदान र प्यारापिट “ग्याल्भनाईज्ड स्टील मोडुलर सिष्टम”को बनाइने तय भएको थियो । पछिल्लो समय अन्तराष्ट्रिय क्षेत्रमा प्यारापिट “स्टिल स्ट्रक्चर”मा निर्माण हुदैं आएको छ । जुन सुरक्षाको दृष्टिकोणले पनि उपयुक्त हुने देखिन्छ । प्यारापिट फोल्डिङ सिष्टमको हुन्छ । माथि छत रहने छ । दर्शक क्षमता २० हजार (१० प्रतिशत तलमाथि हुने) टेण्डरमा उल्लेख थियो । प्यारापिटको आयु फलामसँग निर्भर रहने छ ।

सम्बन्धीत कम्पनीले नै स्टेडियमको डिजाईन गर्ने छ । डिजाईन अनुसार लागतको इष्टिमेट हुने छ । गतवर्ष आह्वान गरिएको टेण्डरमा ट्रयाक अन्तराष्ट्रिय मापदण्ड अनुसारको सिन्थेटिक बनाईने समेत योजना थियो । एथलेटिक्स अन्तर्गतको ११० मिटरको हर्डल्स प्रतिस्पर्धा लागि ट्रयाक निर्माण गरिने टेण्डरमा उल्लेख थियो । फुटबल मैदानसहित प्यारापिट बनाउन राखेपले पहिलो किस्ता स्वरुप ६ करोड रुपैयाँ विनियोजन गरिसकेको छ ।

फुटबल मैदानको पुर्व र पश्चिम तर्फ २०४० सालमा निर्माण गरिएको प्यारापिट भत्काईयो । अहिले भग्नावशेष छ । दशमहिनाभित्रमा बन्ने आशा, विश्वास र भरोसा भने राष्ट्रिय खेलकुद परिषदले दिदैं आएको थियो । अहिले भने पोखरा रंगशालाको फुटबल मैदान उदांगो जस्तै भएको छ । राष्ट्रिय खेलकुद परिषदले २०७४ माघमा प्यारापिट भत्कायो । भत्काउने बजेट क्षेत्रीय खेलकुद विकास समिति हुदैं जिल्ला खेलकुद विकास समितिलाई उपलब्ध गराईयो । ४४ लाख रुपैयाँ बजेट आएको थियो । प्यारापिटका आवश्यक सामाग्री घटाएर उपभोक्ता समिति मार्फत भत्काउने काम सक्काईयो । प्यारापिट भत्काईएपछि आहा रारा गोल्डकपमा दर्शकले भत्किएकै प्यारापिटमा बसेर हेरेका थिए । तस्बिर सुदर्शन रन्जित