सन्दीप लामिछानेलाई नगदसहित सम्मान

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ १३ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई आईतबार पोखरामा सम्मान गरिएको छ । प्रतिभा मावि नदीपुरले लामिछानेलाई सम्मान गरेको हो । उनलाई प्रदेश नं ४ सामाजिक विकास मन्त्री नरदेवी पुन तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण पौडेलले दोसल्ला ओढाई सम्मानपत्रबाट सम्मानित गरेका थिए ।

अटोवेज पोखराका प्रवन्ध निर्देशक समेत रहेका पौडेलले लामिछानेलाई अटोवेजको तर्फबाट नगद एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । सम्मानपछि बोल्दै सन्दीपले खेलकुदको माध्यमबाट नेपाललाई चिनाउन सकिने भन्दै विद्यार्थीले पहिला पढाईप्रति ध्यान दिन आग्रह गरे । ‘प्रतिभाबाट प्रतिभावान खेलाडी निस्किउन । मेरो चाहना छ ।’ उलने भने—‘आफुले इच्छाएको खेल खेल्नोस । तर पढाईलाई भने नछाडनोस ।’

लामिछाने केही दिन अघिमात्रै आईपिएलबाट नेपाल फर्किएका हुन् । उनी दिल्ली डेयरडेभिल्समा आवद्ध थिए । २० लाख भारु(बेस प्राईज)मा दिल्लीमा आवद्ध भएका उनले आईपिएलको अन्तिम तीन खेल खेल्ने अवसर पाए । तीन खेलमा उनले पाँच विकेट लिदैं आफनो बलिङ क्षमता प्रस्तुत गरेका थिए । उनको बलिङ विशेष लेगब्रेक गुगली हो । गुगली बलमा खेल्न व्याट्सम्यानलाई भने निकै अप्ठ्यारो हुने गर्छ ।

सन्दीप लामिछाने अर्को व्यवसायिक क्रिकेट क्यारेवियन प्रिमियर लिगको(सिपिएल) लागि समेत जाँदै छन् । उनी क्यारेबियन प्रिमियर लिगका वेष्ट इण्डिज उत्कृष्ठ व्याट्सम्यान क्रिस गेलको सामिप्यतामा रहेर खेल्ने छन् । उनलाई क्रिस गेलको नेतृत्वमा रहेको सेन्ट किट्स एण्ड नेभिस पेट्रिओटस टिमले ५ हजार डलरमा खरीद गरेको हो । जुन नेपाली मूल्य ५ लाख भन्दा बढी हुन आउँछ । सिपिएलमा आवद्ध हुदाँ उनी नामिवियामा विश्वकप छनोट क्रिकेट खेलिरहेका थिए ।

नेपालले १९९६ देखि अन्तराष्ट्रिय प्रतियोगितामा उपस्थिति जनाएको हो । २२ वर्षपछि नेपालले क्रिकेटके एक दिवसीय अन्तराष्ट्रिय मान्यता पाएको थियो । तीन महिना अघि नामिवियामा सम्पन्न विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत क्यानाडासँगको जितले नेपाललाई एक दिवसिय मान्यताको लागि ढोका खोलिदिएको थियो । अन्तराष्ट्रिय मान्यता पाउने क्रममा क्रिजमा करण केसी र सन्दीप लामिछाने थिए । लामिछानेले विकेट जोगाउँदा करणले भने हिटर व्याट्सम्यानको रुपमा खेल्दै अविस्मरणीय जित निकाल्दै अन्तराष्ट्रिय मान्यताको लागि खुडकिलो पार गराएका थिए ।

सम्मानपछि सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रदेशमा प्रतिभामा खेलाडीलाई छनोट गरी सम्मान गर्ने परिपाटी मिलाउने जिकिर गरिन् । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले लगायतले सम्मानले खेलाडीलाई थप उत्साह र हौसला मिल्ने बताए ।
मन्त्रीलाई सकस— निश्चित समयमै कार्यक्रमस्थल पुगेकी सामाजिक विकास मन्त्री नरदेवी पुनलाई आईतबार भने कुराईले निकै सकस बनायो । कार्यक्रममा मन्त्रीको आगमनले हुने ढिलाईले सर्वसाधारण कुर्दै हैरानी व्यहोर्दै आएका थिए । तर आईतबार भने मन्त्री पुन युवा क्रिकेट सन्दीप लामिछानेलाई सम्मान गर्नको लागि कुरेरै बसिन् । छिन छिनमै घडीमा आखाँ डुलाउँदै आयोजकप्रति रुष्ट समेत बनेकी मन्त्री पुन कुराईको पीडाले सकस हुदैं निस्कदै लाग्दा सन्दीप लामिछाने कार्यक्रमस्थल भित्र छिरेका थिए । उनको आगमनमा भएको ढिलाईले मन्त्री पुनले आफनो मन्तव्यलाई पनि केवल डेढ मिनेटमै टुग्याई प्रस्थान गर्ने संकेत गरिन् । हलभित्र छिरेपछि विद्यालयका उपस्थित विद्यार्थीहरुले चर्को हुटिङ गरेका थिए ।