एपिएफ प्रधानमन्त्री कप क्रिकेट च्याम्पियन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ २९ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज) विभागीय क्लब बीचको क्रिकेट भिडन्तमा बाजी भने शसस्त्र प्रहरीले मारेको छ । त्रिभुवन आर्मीलाई क्लबलाई पराजित गर्दै शसस्त्र प्रहरी बलले नेपाल एपिएफ क्लबले दोस्रो संस्करणको एक्सेलसिया कलेज प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै एपिएफ प्रधानमन्त्री कपको च्याम्पियन बन्न सफल भएको हो । आर्मीले दिएको २ सय १० रनको मध्यम लक्ष्य एपिएफले ४१ओभर २ बलमा मा ४ विकेट गुमाएर पूरा ग¥यो । टोलीका लागि अनिल कुमार साह र प्रदीप ऐरीले अर्धशतक बनाएपछि जित सम्भव भएको थियो । अनिल र प्रदीपले समान ६३ रनको योगदान गरे । ओपनर सुवास खकुरेल व्यक्तिगत १२ रनमा रिटायर्ड हर्ड भएर मैदान बाहिरिएपछि प्रदीपले अनिललाई राम्रो साथ दिएका थिए ।

उनीहरुले पहिलो विकेटको लागि १ सय १९ रनको साझेदारी गरेपछि शसस्त्र प्रहरी आर्मी विरुद्ध बलियो बन्न पुग्यो । अनिलले ७२ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका थिए । पृथु बास्कोटाले ३२ रन बनाए । युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले १५ रन जोडे । करण केसी १५ तथा सुवास खकुरेल १४ रनमा नटआउट रहे । आर्मीका सोमपाल कामीले ३ र विक्रम सोबले १ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ९ रनको मध्यम योगफल तयार पारेको थियो ।

आर्मीको कमजोर शुरुवात रह्यो । २१ रन जोड्दा पहिलो विकेटको रुपमा सागर पुनलाई ५ रनमा गुमाएको थियो । सागरलाई करणले एलबिडब्लुको शिकार बनाएका थिए । अर्का ओपनर अनिल मण्डललाई १९ रनमा गुमाएपछि आर्मी केही धर्मराउन पुग्यो । ५६ रन हुदा आर्मीले महत्वपूर्ण ४ विकेट गुमाईसकेको थियो ।

राजु रिजाल ६ तथा नरेश बुढाएरलाई २० रनमा आउट भए । त्यसपछि क्रिजमा आएका भीम सार्की र राजेश पुलामी मगरले आर्मीको इनिङ्स सम्हालेका थिए । उनले पाचौं विकेटका लागि राजेश पुलामी मगरसँग ६८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । एपिएफ कप्तान बसन्त रेग्मीको बलमा बोल्ड हुनुअघि भिमले ४८ बलमा दुई चौका र दुई छक्का हान्दै ४५ रन बनाए ।

भीम आउट भएपछि व्यक्तिगत २७ रनमा राजेश पुलामी मगर पनि आउट भएपछि आर्मी ४१ औं ओभरमा १ सय ३० रन ६ विकेटको नाजुक स्थितिमा पुगेको थियो । कप्तान विनोद भण्डारी र सोमपाल कामीले सातौं विकेटका लागि ५७ रनको साझेदारी गरेपछि आर्मी दुई सय रन नजिक पुगेको थियो ।

करणको बलमा पवन सर्राफले १४ रनको व्यक्तिगत स्कोरमा जीवनदान पाएपछि भण्डारीले आक्रमक इनिङ्स खेल्दै २५ बलमा चार चौका र १ छक्काको मद्दतमा ३५ रन जोड्न सफल भए । सोमपालले २ छक्का र १ चौका प्रहार गर्दै ३६ रन बनाए । एपिएफका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । कप्तान बसन्त रेग्मी र भुवन कार्कीले समान २ विकेट तथा अमरसिंह राउटेला र पवन सर्राफले समान १ विकेट लिए । उपाधिसँगै एपिएफले २० लाख र आर्मीले १० लाख रुपैया प्राप्त गर्यो । तस्वीर हाम्रो खेलकुद डटकम