गोस्ते र गौरीशंकर खेल मैदानलाई एक करोड बजेट

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार ८ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-लामाचौर खेल मैदान(गोस्ते) र गौरीशंकर खेलमैदान हेमजालाई युवा तथा खेलकुद मन्त्रालयले एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । ५० लाखसहित मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद मार्फत १ करोड ८० लाख बजेट पठाईसकेको छ । विनियोजित बजेटबाट गोस्तेघाटलाई स्थानीय लामाचौर खेलमैदान विकास समितिले अन्तराष्ट्रिय मापदण्डको फुटबल मैदानसहित प्यारापिट निर्माण गरेको छ ।

‘लामाचौर(गोस्ते) खेलमैदान ५० लाख विनियोजन भएर आएको छ ।’ जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले भने–‘हेमजास्थित गौरीशंकर खेलमैदानको लागि पनि ५० लाख नै बजेट छुट्टिएको छ ।’ उनका अनुसार गौरीशंकरलाई हालसम्म ७० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

कार्यालय प्रमुख बरालका अनुसार गोस्तेलाई गतवर्ष ३० लाख रुपैयाँ सुनिश्चितताको बजेट उपलब्ध गराइर्एको थियो । उपलब्ध गराइएको बजेट अनुसार काम सम्पन्न भएपछि फेरी नयाँ योजनाको लागि फेरी बजेट आएको उनले बताए ।

लामाचौर खेल मैदान बनाउन समितिले २०७१ सालदेखि काम शुरु गरेको हो । ‘विनियोजित बजेटले फुटबल मैदानको पूर्णतासँगै प्यारापिट निर्माणमा खर्च गर्ने छौं ।’ समितिका सचिव बुद्धिबहादुर खत्री क्षत्री भने–‘१२ स्टेपको प्यारापिट बनाईने छ । अहिले तीन स्टेपमात्रै बनाइएको छ ।’ उनका अनुसार प्यारापिट र मैदानको फिनिसिङ गरेर बचत भएको अवस्थामा शौचालय र चेन्जिङ रुमको काम गरिने छ ।

सेती नदीको किनारमा समितिले स्थानीय स्रोत साधनको उपयोग गर्दै खेल मैदान बनाएको हो । मैदान १०५ ं मिटर लम्बाई र ६५ मिटर चौडाईको छ । परिषदले खेल मैदान बनाउन पहिलो चरणमा ६४ लाख रुपैयाँ उपलब्ध गराएको थियो । दोस्रो चरणमा ३५ लाख दिएको थियो । तेस्रो चरणमा ३० लाख रुपैयाँ सुनिश्चितताको बजेट र अहिले ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

सचिव क्षत्रीका अनुसार स्थानीय स्रोत साधनसहित मैदान बनाउन दुईकरोड रुपैयाँ खर्च गरिएको छ । मैदानसँगै वरिपरी नाला निर्माण गरिएको छ । मैदानमा बालुवा र कालो माटोले लेभलिङ गरी दुबो रोप्ने समितिले जनाएको छ । मैदान पूर्ण रुपमा सञ्चालन नहुदै प्रतियोगिता भने आयोजना गरिसकिएको छ ।

त्यसैगरी परिषदले हेमजाकै गौरीशंकर खेल मैदानलाई ५० लाख सहित ७० लाख रुपैयाँ उपलब्ध गराएको छ । उपलब्ध गराईएको बजेटले खेल मैदान सम्याइने छ । नयाँवर्षको शुरुवातसँगै गौरीशंकर खेलमैदानमा शुभकामना कप फुटबल प्रतियोगिता आयोजना गरिएको थियो । मैदानको लम्बाईसँगै चौडाई पनि बढाउनुपर्ने खाँचो छ ।

परिषदले प्रत्येक निर्वाचर्नक्षेत्रमा एक खेल मैदानको अवधारणा अनुसार कास्कीका निर्वाचन क्षेत्रमा खेलकुदका भौतिक पुर्वाधार निर्माण धमाधम भईरहेका छन् । तर लामो समयदेखि लेखनाथ भण्डारढीकस्थित बहुउद्देश्यीय कभर्ड हलको लागि भने बजेट विनियोजन नहुदाँ एकवर्षदेखि काम रोकिएको छ । पहिलो चरणमा ५५ लाख रुपैयाँ बजेट विनियोजन भएसँगै काम शुरु गरिएको कभर्ड हल अहिले टाईबिनपछिको काम अगाडि बढ्न सकेको छैन् ।