प्रदेश सरकारको योजना- ‘बहुउपयोगी अन्तर्राष्ट्रियस्तरको रंगाशाला’

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार १४ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-प्रदेश सरकारले प्रदेश भित्र खेलकुद एकेडेमी स्थापनाको लागि सम्भाव्य अध्ययन शुरु गरेको छ । आर्थिक वर्ष २०७५÷०७६ को लागि प्रदेश सरकारले खेलकुद एकेडेमीको सम्भाव्य अध्ययनको लागि एक करोड रुपैयाँ विनियोजन गरेको छ ।

‘प्रदेशभित्र सबै खेललाई लक्षित गर्दै खेलकुद एकेडेमी स्थापना गर्ने लक्ष्य छ । त्यसको लागि अहिले सम्भाव्य अध्ययन भईरहेको छ ।’ सामाजिक विकास मन्त्रालयका सचिव कृष्णमुरारी न्यौपानले भने –‘सम्भाव्य अध्ययनपछि मात्रै कस्तो खालको बनाउने भन्ने निचोड निस्कन्छ ।’ नेपालमा विशेष गरी फुटबलको मात्रै आवाससहितको एकेडेमी सञ्चालित छन् । अखिल नेपाल फुटबल संघले विभिन्न उमेर समूहको खेलाडी छनोट आफनै आवासमा एकेडेमी सञ्चालन गर्दै आएको छ । पोखराको सहारा क्लबले निजीस्तरबाट फुटबल एकेडेमी सञ्चालन गरिरहेको छ ।

सम्भाव्य अध्ययन गर्ने टोलीले अध्ययन गरिरहेको बताउँदै उनले एकेडेमीमा पढाईसँगै आवश्यक तालिम समेत दिने गरी निर्माण गरिने योजना रहेको बताए । अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान र गल्फकोर्षको सम्भाव्य अध्ययन र विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने काम भने अगाडि बढिसकेको छ । अध्ययन टोलीले कास्की, बाग्लुङ, तनहुँ, नवलपुर लगायतका जिल्लामा क्रिकेट र गल्फ कोर्ष बनाउन अध्ययन गरी प्रतिवेदनको तयारी भईरहेको सामाजिक मन्त्रालयका शाखा अधिकृत कृष्ण तिमिल्सिनाले बताए । ‘सम्भाव्य अध्ययन लगभग सकिएको छ । अब प्रतिवेदन तयार पारेर मन्त्रालयमा पेश गरिने छ ।’ उनले भने ‘साउनदेखि मन्त्रालयले आवश्यक अध्ययन गरेर निष्कर्ष निकालेपछि तोकिएको ठाँउमा पुर्वाधार निर्माणको काम अगाडि बढ्छ ।’

मन्त्रालयले नगरपालिकासँगको सहकार्यमा रंगशाला निर्माणको लागि विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने समेत बताएको छ । त्यसको लागि मन्त्रालयले तीन करोड रुपैयाँ बजेट छुट्टाएको छ । मन्त्रालयका सचिव न्यौपानेका अनुसार रंगशाला बनाउन नगरपालिकाले आवश्यक ठानेको स्थानमा सम्भाव्य अध्ययन गरिने छ । सम्भाव्य अध्ययनपछि मात्रै नगरपालिका र मन्त्रालय बीच छलफल गरी विस्तृत अध्ययन प्रतिवेदन तयार परिने छ ।

प्रदेश ४ मा ८५ वटा स्थानीय तह छन । सबै स्थानीय तहमा जग्गाको उपलब्धता अनुसार खेल मैदान निर्माण गर्ने लक्ष्य छ । जग्गा उपलब्ध नभएको स्थानीय तहमा कभर्ड हल निर्माण गर्न सकिने समेत सचिव न्यौपानलेल बताए । त्यसको लागि प्रदेश सरकारले एक करोड ८५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कार्यकालको पहिलो वर्ष भएकोले पनि प्रदेश सरकारले योजना अघि सार्दै अध्ययन प्रतिवेदन बनाउने अभियानमा देखिएको छ ।

आर्थिक वर्ष २०७५÷०७६ मा प्रदेश सरकारले प्रदेशमा बहुउपयोगी अन्तर्राष्ट्रियस्तरको रंगाशाला निर्माणको लागि विस्तृत परियोजना प्रस्ताव तयारी तथा निर्माण प्रारम्भ गर्ने जनाएको छ । बहुउपयोगी रंगशाला निर्माणको परियोजना प्रस्ताव गर्न सरकार एक करोड रुपैयाँ बजेट छुट्टाएर राखेको छ । त्यति मात्रै नभई प्रदेशमै उच्च उचाई खेल तालिम केन्द्र(हाई अल्टिच्युड स्पोर्टस टे«निङ सेन्टर) को सम्भाव्य अध्ययन तथा प्रतिवेदन तयार गरी निर्माण कार्यको प्रारम्भ गर्ने जनाएको छ । त्यसको लागि एक करोड रुपैयाँ बजेट राखिएको छ ।

प्रदेश सरकारले उच्च उचाई खेल तालिम केन्द्र निर्माण आवश्यक ठानिरहँदा संघीय सरकारले भने मनाङको तिमाङमा तालिम केन्द्र निर्माण गरिसकेको छ । एक करोड ४१ लाखको लागतमा फुटबल मैदान निर्माण गरेको छ । जहाँ आवश्यक विभिन्न खेलको प्रशिक्षण लिन सकिने छ ।