पोखरा फुटबल स्टेडियमको लागि ५३ करोड रुपैयाँ विनियोजन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार १५ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-युवा तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष ०७५÷७६ मा दक्षिण एशियाली खेलकुद(साग)लाई लक्षित गर्दै ५३ करोड रुपैयाँ विनियोजन गरेको छ । आवश्यक पुर्वाधार निर्माणको लागि मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद मार्फत बजेट विनियोजन गरिएको छ ।

परिषदले पोखरा रंगशालामा महिला फुटबल प्रतियोगिता आयोजना गर्ने जनाउँदै फुटबल स्टेडियमको ग्लोबल टेण्डर आह्वान गरिसकेको छ । दोस्रो पटक आह्वान गरिएको टेण्डरको पनि एक महिना पुग्नै लागेको छ । ‘फुटबल स्टेडियमको लागि ५३ करोड रुपैयाँ छुट्टाइएको छ ।’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले भने–‘बाँकी बजेट अन्य निर्माणाधिन भौतिक पुर्वाधारको लागि छुट्टाइएको छ ।’

आह्वान गरिएको टेण्डरमा प्यारापिट, फुटबल मैदान र एथलेटिक्स ट्रयाक बनाउन कम्पनीको अनुभव पत्र समेत माग गरिएको छ । मैदान फुटबलको सर्वोच्च संस्था फिफाको मापदण्ड अनुसार १०५ मिटर लम्बाई ६८ मिटरको चौडाई हुनुपर्ने प्रावधान छ । मैदान टर्फ अथवा प्राकृतिक हुनुपर्ने उल्लेख छ । एथलेटिक्सको लागि सिन्थेटिक ट्रयाक हुनुपर्ने उल्लेख छ । ४०० मिटरको आठ लेनको सिन्थेटिक ट्रयाक हुनुपर्ने टेण्डरमा खुलाइएको छ ।

टेण्डर खरीद गर्ने अन्तिम मिति २०१८ जुलाई २२ तारिखसम्म तोकिएको छ । टेण्डर खरीद गर्ने कम्पनीको वार्षिक टर्न ओभर समेत १०.३६ मिलियन डलरको हुनुपर्ने सर्त छ । खरीद गर्ने कम्पनीले आफनो कार्यपत्र समेत प्रस्तुत गर्नुपर्ने खाँचो छ । कम्पनीले टेण्डर मात्रै २५ हजार रुपैयामा खरीद गर्नुपर्ने समेत उल्लेख गरिएको छ ।

सन २०१९ मा नेपालमा १३ औं साग गेम्स आयोजनाको जिम्मेवारी छ । जिम्मेवारीलाई मध्यनजर गर्दै परिषदले ढिलै भएपनि पोखरामा महिला साग फुटबल गर्ने लक्ष्यसहित टेण्डर आह्वान गरेको हो । ‘ढिलै भएपनि टेण्डर आह्वानले पोखरामा साग फुटबल हुने विश्वासको बातावरण तय भएको छ ।’ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले भने–‘आर्थिक वर्ष ०७५÷०७६ मा बजेट नै छुट्टिसकेको छ । अब स्टेडियम बन्नमा सबै ढुक्क छौं ।’ साग गेम्स अन्तर्गत महिला फुटबल सहित पोखरामा आर्चरी, भलिबल, टेनिससहितका खेलहरु सञ्चालन गर्ने योजना छ ।

स्टेडियम माईल्ड स्टिल मोडुलर सिष्टमको बनाईने छ । दर्शक क्षमता उल्लेख गरिएको छैन् । यद्यपी २० हजार हुने अनुमान गरिएको छ । लागत एक अर्ब भन्दा बढी हुने अनुमान परिषदले गरेको छ । फुटबल स्टेडियम बनेपछि युवा तथा खेलकुद मन्त्रालयले पोखरालाई स्पोर्टस सिटीको रुपमा विकास गर्ने लक्ष्य केहीहदसम्म पुरा हुने छ । फुटबल स्टेडियम पछि पोखरामा अन्तराष्ट्रियस्तरको क्रिकेट स्टेडियम बनाउनुपर्ने खाँचो छ । आर्थिक वर्ष ०७५÷०७६ मा पोखरा रंगशालाभित्रको क्रिकेट मैदानको लागि भने केवल १० लाख रुपैयाँ मात्रै बजेट विनियोजन भएर आएको छ । दशलाख रुपैयाँले क्रिकेटको पीच मात्रै मर्मत सम्भार गर्न सकिने सम्भावना छ ।

लामो समयदेखि चर्चामा रहेको डोम कभर्ड हल निर्माणको लागि मन्त्रालयले ४ करोड रुपैयाँ छुट्टाएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका इन्जिनियरि प्रनिस ताम्राकारले बताए । ‘बजेट विनियोजन भएपछि अब डोम पनि निर्माण हुने सम्भावना देखिएको छ ।’उनको भनाई थियो । डोम निर्माणपछि पोखरा रंगशाला भित्रको बहुद्देश्यीय कभर्ड हलको बैकल्पिक हलको रुपमा प्रयोग गर्न सकिन्छ ।