एशियाडमा सहभागि खेलाडी तथा प्रशिक्षकलाई खेल सामाग्री हस्तान्तरण

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार १७ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)- सरकारले खेलबाट पदकको आशा मात्रै गर्छ । तर खेलाडीलाई दिने सुविधाप्रति भने ध्यान गएको छैन् । पदक मात्रै भनिदाँ सेवा र सुविधा पनि दिनुपर्ने खाँचो जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले औंल्याए ।

‘सीमित बजेटले खेलाडीको सेवा र सुविधालाई पर्याप्त हुदैन् ।’ उनले आईतबार पोखरा रंगशालामा एशियाडमा सहभागि खेलाडी तथा प्रशिक्षकलाई खेल सामाग्री हस्तान्तरण गर्दै भने ‘हाम्रोलाई होईन राम्रोलाई अवसर दिनुपर्छ । खेलाडीले सेवा र सुविधा पाउन सकेन पदक जित्ने आशा र विश्वास गर्न सक्छौं ।’ उनले अन्तर्राष्ट्रिय एरिनामा उत्रिने खेलाडी तथा प्रशिक्षकको अवस्था दुखदायी रहेको बताए ।

अध्यक्ष गुरुङले एशियाडमा पदकको सम्भावना रहने खेललाई समेत सेवा सुविधाबाट बन्चित गरिने प्रवृत्ति रहेको दावी गरे । उनले खेलाडीलाई दिइने सुविधाको नाममा राज्यको ढुकुटी स्वाहा गर्ने मात्रै काम भईरहेको जिकिर गरे । ‘पदक मात्रै भनिन्छ तर राज्यको ध्यान गएको छैन् ।’ उनको भनाई थियो । उनले १८ औं एशियाडमा पदक ल्याउने खेलाडीलाई पुर्नताजगीका लागि पोखरा भ्रमण गराउने बताए । उनले सहयोगी हातहरुको सहयोगले नै खेलाडीलाई हौसला थपिएको स्पष्ट पारे ।

इण्डोनेशियाको जार्कातामा हुने १८ औ एशियाली खेलमा नेपालका तर्फबाट सहभागी हुने सितेरियो कराते खोलाडीलाई सम्झना ल्याब्रोरेटरी प्रालि काठमाडौले खेल सामाग्री प्रदान गर्यो । कम्पनीले करिब १ लाख ५० हजार बराबरको खेल सामाग्री खेलाडीलाई प्रदान गरेको हो । कम्पनीका प्रतिनिधी रवि महर्जन र कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष यामबहादुर गुरुङले पोशाक लगाएत अन्य आवश्यक सामाग्री हस्तान्तरण गरेका हुन् । प्रतिनिधिको रुपमा रहेको महर्जनले पदक विजेता खेलाडीलाई नगदबाट सम्मान समेत गरिने प्रतिबद्धता जनाए ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानीले खेलाडी खेल जित्नको लागि आत्मविश्वास हुनुपर्ने बताए । ‘सेवा र सुविधासँगै खेलाडीलाई आत्मविश्वासको खाँचो छ ।’ उनले भने–‘तीन महिना मात्रै प्रशिक्षण गरेर पदक जित्ने आशा गर्नु भनेको डु वर डाई नै हो ।’ उनले खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषदले एशियाडमा जाने खेलाडीको सेवा सुविधाको लागि आर्थिक रुपमै अन्याय गरेको ठोकुवा गरे । ‘पदक जित्ने खेल र अन्यलाई एकै ठाँउमा राखेर हेर्नु हुदैन् ।’ उनको भनाई थियो ।

करातेका मुख्य प्रशिक्षक सोवितराज प्रर्साइले एशियाडमा जाने कराते टोलीलाई वातावणीय हिसाबले प्रशिक्षण स्थलको रुपमा पोखरा छनौट गरेको जानकारी गराउँदै प्रशिक्षणका दौरान खेलाडीलाई पोखरामा सोचे भन्दा वढी नै सहयोग प्राप्त भएकोमा आभार प्रकट गरे । सम्झाना ल्याव्रोरेटरीका प्रतिनिधी रबी महर्जनले राष्ट्रिय कराते टोलीलाई हौसला स्वरुप केही खेल सामाग्री प्रदान गर्न पाएकोमा खुसी व्यक्त गर्दै कम्पनीले जेहेन्दार कराँते खेलाडीलाई एकेडेमी मार्फत पूर्ण सुविधा सहित खेल्ने अवसर प्रदान गर्ने बताए । रवि महर्जन ८ औं दक्षिण एशियाली खेलकुद (साग) का स्वर्ण पदक बिजेता समेत हुन ।

सितेरियो कराँतेका एशियाडको लागि जाने खेलाडीहरुमा महिला तर्फ ५०केजी तौल समूहमा अनु अधिकारीले प्रतिस्पर्धा गर्ने छिन् । ६१ केजी तौलमा भने सुनिता महर्जनले एरिनामा उत्रिदाँ एकल काता तर्फ भने चञ्चला दनुवारले प्रतिस्पर्धा गर्ने छिन् । त्यसैगरी पुरुष तर्फको प्रतिस्पर्धामा ६० केजी तौलमा सोनम लामा, ८४ केजी तौलमा भने दिवस श्रेष्ठले खेल्ने छन् । एकल कातामा भने परशुराम बास्तोलाले स्वर्ण पदकको लक्ष्यसहित एरिनामा उत्रिने छन् ।

उनीहरुलाई प्रशिक्षकद्वय हिरासिंह डंगोल र दिपक श्रेष्ठले विहान र साँझ दुई समेत प्रशिक्षण गराउँदै आएका छन् । प्रशिक्षणको लागि कास्की जिल्ला सितेरियो कराँते संघले सहयोग गरेको छ । एशियाडको लागि खेलाडीहरुले पोखरामा जेठ १ गतेदेखि नियमित प्रशिक्षण गर्दै आएका छन् । उनीहरुलाई दैनिक भत्ता स्वरुप परिषदले १४ सय रुपैयाँ उपलब्ध गराउँदै आएको छ । त्यसैबाट खेलाडीले खाने बस्नेसँगै प्रशिक्षणको समयमा डाईटको व्यवस्था समेत गर्नुपर्छ । उनीहरु अब चाँडै नै बैदेशिक प्रशिक्षणका लागि जाने मुख्य प्रशिक्षक प्रसाईले बताए । बन्द प्रक्षिणमा रहेको खेलाडी असार मसान्तपछि बैदेशिक प्रशिक्षणमा जाने छन् । तस्बिर सुदर्शन रन्जित