‘एक निर्वाचन क्षेत्र एक खेल मैदान’

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार २६ गते २०७५ मा प्रकाशित


धन बस्नेत, पोखरा-एक निर्वाचन क्षेत्र एक खेल मैदान निर्माण गर्ने लक्ष्य सरकारले लिएको छ । संघीय सरकारले लिएको लक्ष्यलाई प्रदेश सरकारले पनि प्राथमिकतामा राखेको छ । सरकारले लिएको लक्ष्य अनुसार वर्षेनी खेल मैदानको लागि बजेट समेत विनियोजन गर्दै आएको छ ।
युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद मार्फत कास्कीमा तीनै निर्वाचनमा विभिन्न खेलकुद मैदानको बजेट छुट्टाउँदै आएको छ । छुट्टाइएको बजेटले खेलकुद मैदान निर्माणका काम अघि बढाइएको छ । तर पर्याप्त बजेट छुट्टिन नसक्दा निर्माणको गति भने धिमे भएको छ । प्रदेश सरकारले पनि विभिन्न शीर्षकमा खेलकुदको योजनासहित १० करोड ८५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रदेश सरकारले बहुउपयोगी अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्ने योजना बनाएको छ । प्रदेशस्तरीय खेलकुद एकेडेमी, नगरपालिकासँगको सहकार्यमा रगंशाला निर्माण, अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला तथा गल्फ कोर्ष बनाउने योजना अघि सारेको छ । त्यसको लागि प्रतिवेदन बनाई डिपिआर बनाई काम अगाडि बढाउने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
आर्थिक वर्ष २०७५÷०७६ को लागि ६० करोड रुपैयँ छुट्टाएको छ । पोखरा फुटबल स्टेडियम बनाउने लक्ष्य छ । चालु आवमा कास्की जिल्लाको लागि दुई करोड ७९ लाख रुपैयाँ सुनिश्चितताको बजेट रुपमा छुट्टाईसकेको छ । निर्माणको काम नसकिदैं कागजी प्रक्रिया मिलाएर बजेट सक्ने काम मात्रै हुने गरेको ठहर समेत परिषदले गरेको छ । परिषदले पछिल्लो समयमा छुट्टाएको रकम भने सम्बन्धीत खेलकुद मैदान निर्माण पुरा भएपछि मात्रै रकम निकासा हुने गरी पठाएको छ ।
‘काम पुरा नभएसम्म छुट्टिएको रकम निकासा हुदैैन् ।’ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए । गत आवमा मन्त्रालयले दुई करोड ३९ लाख रुपैयाँ विनियोजन गरेको थियो । मन्त्रालयले छुट्टाएको रकममा पोखरा रंगाशालाभित्र निर्माणाधिन बहुउद्देश्यीय कभर्ड हललाई भने बजेट यसमा समावेश गरिएको छैन् । कभर्ड हल १४ करोड ३० लाखमा मुन्न डाँफे एण्ड आचार्य नामक कम्पनीले शुरु गरेको हो । १५ महिनामा सक्ने लक्ष्यसहित शुरु गरिएको हलको लागत अहिलेसम्म एक करोड ९५ लाख रुपैयाँ थप भईसकेको छ । तर नयाँ आर्थिक वर्षको लागि परिषदले बहुउद्देश्यीय कभर्ड हल फिनिसिङ गर्न १ करोड रुपैयाँ उपलब्ध गराएको छ । यो सँगै हलको लागि परिषदले १६ करोड २१ लाख रुपैयाँ खर्चने छ ।
पोखरा रंगशालामा पुर्वाधार— पोखरा रंगशालामा पुर्वाधार निर्माणका कामहरु धमाधम भईरहेका छन् । साग गेम्सको तयारीको लागि भन्दै आर्चरी खेलमैदान पुनर्निर्माण शुरु गरिएको छ । यो आर्थिक वर्ष आर्चरीको लागि ५० लाख रुपैयाँ विनियोजन भएको छ । नयाँ आवमा फेरी १० लाख रुपैयाँ छुट्टाइएको छ ।
रकमबाट मैदान सम्याई दुबो रोप्ने, बर्खेपानीको निकासको लागि ड्रेन निर्माण गरिएको छ । ‘चार स्टेपको प्यारापिटको तयारीमा छौं ।’ कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले बताए । उनले नयाँ थपिएको बजेटबाट मैदानामा माटो भरेर दुबो रोप्ने लक्ष्य रहेको सुनाए ।
गत वर्ष आर्चरीकै लागि मन्त्रालयले ३० लाख रुपैयाँ दिएको थियो । त्यो रकमले तारजाली तथा तार्गेट तर्फ झण्डै डेढसयमिटर लामो पर्खाल निर्माण गरिएको छ । अब प्रशिक्षणको लागि बनाईएको ट्रस मुनि पार्केटिङ गर्ने लक्ष्य रहेको उनको भनाई छ । काम धमाधम उपभोक्ता समिति मार्फत अगाडि बढाइएको छ ।
परिषदले पोखरा रंगशालाभित्रकै व्याडमिन्टन कर्भड हल र लन टेनिसको लागि समेत बजेट उपलब्ध गराएको छ । चारवटा कोर्टसहितको व्याडमिन्टन कोर्टको लागि गत आवमा ३० लाख र चाुल आवमा ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७५÷०७६ को लागि केवल १० लाख बजेट विनियोजित भएको छ ।
पार्टनरसिपको आधारमा निर्माण गरिएको कोर्टको चेन्जिङ रुम, शौचालय, लगायत बनाउने काम भईरहेको कास्की जिल्ला व्याडमिन्टन संघका सचिव दुर्गा जोजिजूले बताए । उनले अब ट्रस छाउने काम भइरहेको बताए । त्यसपछि भुईलाई ढलान गरी पार्केटिङ गरिने छ । संघ र परिषदले ५०—५० प्रतिशत लगानी गर्ने सहमति भएको छ ।
साग अन्तर्गतको खेल लन टेनिस पनि पोखरामा गर्ने निर्णय गरिएको छ । निर्णयसँगै परिषदले एक हार्डकोर्ट र क्ले कोर्ट निर्माण गर्न आवश्यक टेण्डरिङ प्रक्रिया गरिसकेको छ । कास्की जिल्ला लन टेनिस संघकै पहलमा पाँचवटा क्ले कोर्ट बनाईसकिएको छ । परिषदबाट प्राप्त हुने तीन करोड ४५ लाखबाट हार्डकोर्ट, क्लेकोर्ट र प्यारापिट समेत बनाईने कास्की जिल्ला लन टेनिस संघका अध्यक्ष विनोद कायस्थले जनाए । त्यसको लागि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका इन्जिनियर प्रनिस ताम्राकार समक्ष डिजाईनको फाईनल ड्राफ्ट आईसकेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा एक करोड रुपैयाँ विनियोजन गरिएको छ ।
पोखरा रंगशालाभित्र भलिबल प्रशिक्षण केन्द्र समेत बनाइएको छ । चार वटा कोर्टसहितको प्रशिक्षण केन्द्रलाई परिषदले ८५ लाख रुपैयाँ उपलब्ध गराएको थियो । उपलब्ध रकमसँगै स्थानीयको सहयोगमा चार कोर्ट, अफिसियल भवन, शौचालय र आठ स्टेपको प्यारापिट निर्माण गरिएको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए । उनका अनुसार प्रशिक्षण केन्द्र बनाउन सवा करोड खर्च भएको छ ।
पोखरा रंगशालाभित्रै परिषदले उपलब्ध गराएको सुनिश्चितताको ९० लाख बजेट मार्फत ह्याण्डल कोर्ट निर्माण गरिएको छ । ४९ मिटर लम्बाई र २७ मिटर चौडाईको कोर्टसहित शौचालय, चेन्जिङ रुम, फिडव्याक रुम समेत निर्माण गरिएको नेपाल ह्याण्डबल संघका अध्यक्ष तेजबहादुर गुरुङले बताए । उनका अनुसार कोर्ट तयार भएपछि राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गर्न सकिने छ ।
निर्वाचन क्षेत्र १—सरकारले लिएको नीति अनुसार निर्वाचन क्षेत्र एकमा परिषदले बहुउद्देश्यीय कभर्डहल निर्माण गर्ने लक्ष्यसँगै काम शुरु भईसकेको छ । लेखनाथ भण्डारढीकस्थित खेलमैदान परिसरमा बहुउद्देश्यीय कभर्ड हल बनाउन परिषदले गत आवमा ५५ लाख रुपैयाँ छुट्टाएको थियो । छुट्टाइएको रकमले जग खन्ने देखि पिलर राख्ने काम मात्रै पुरा भएको छ ।
यो आर्थिक वर्षमा बजेट नछुट्टिदा झण्डै वर्षदिनदेखि अलपत्रै परेको छ । हल ४९ मिटर लम्बाई र २९ मिटर चौडाईको बनाईने इञ्जिनियर प्रनिस ताम्राकारको भनाई छ । झण्डै सातसय दर्शक क्षमताको प्यारापिट निर्माण गरिने छ । बहुउद्देश्यीय हलमा चारवटा व्याडमिन्टन कोर्ट, बास्केटबल कोर्ट र भलिबल कोर्ट रहने छन् । मार्सल आर्टको खेलहरु समेत खेलाउन सकिने बहुउद्देश्यीय कभर्ड हल निर्माण समितिका सचिव खड्काले बताए ।
निर्वाचन क्षेत्र २—यो क्षेत्रमा सिंगो पोखरा रंगशाला नै पर्छ । पोखरा रंगशालाभित्र आवश्यक पुर्वाधारका काम अघि बढेका छन् । त्यो सँगै लामाचौरमा गोस्ते लामाचौर खेल मैदान निर्माण गरिएको छ । स्थानीय नव आदर्श सामुदायिक विकास समाजको अगुवाईमा अन्तराष्ट्रिय मापदण्ड अनुसारको फुटबल मैदान निर्माण गरिएको छ । परिषदले मैदानको लागि चालु आवमा ३० लाख रुपैयाँ छुट्टाएको छ । गत आवमा १५ लाख रुपैयाँ उपलब्ध गराएको थियो । आर्थिक वर्ष २०७५÷०७६ मा मैदानलाई ५० लाख रुपैयाँ थप बजेट विनियोजन भएको छ । यसले पोखरा रंगशाला फुटबल मैदानको बैकल्पिक फुटबल मैदानको रुपमा प्रयोग गर्न सकिने छ ।
परिषदको थोरै रकमबाट काम शुरु गरिएपनि स्थानीको सक्रियतामा फुटबल मैदान, मैदान वरिपरी ड्रेन वाटरको निकासको लागि नाली बनाईसएिको छ । तीन स्टेपको प्यारापिट समेत बनिसकेको छ । छुट्टिएको रकमबाट मैदान घेर्न तारजाली लगाउने र अन्य आवश्यक पुर्वाधार बनाउन खर्च गरिएको लामाचौर खेल मैदान निर्माण समिति सचिव बुद्धि खत्रीले जानकारी दिए । उनले थपिएको बजेटले प्यारापिट निर्माण र मैदानलाई फिनिसिङमा खर्च गरिने बताए ।
चालु आवमा मालेपाटन खेल मैदानको लागि १५ लाख रुपैयाँ बजेट उपलब्ध छुट्टाएर परिषदले क्षेत्रीय खेलकुद विकास समितिमा परिपत्र गरेको छ । मैदान संरक्षण गर्न दुई वर्ष अघि तारजाली लगाईएको थियो । चालु आवमै स्थानीय अभियान युवा क्लबको अगुवाईमा भलिबल कोर्ट निर्माण गरिएको छ । मोसफलकै चर्चित क्लब सहारालाई समेत राष्ट्रिय खेलकुद परिषदले १० लाख रुपैयाँ छुट्टिएर आएको छ । परिषदले पोखरा रंगशालाको प्यारापिट भत्काउन यसै आवमा ४४ लाख रुपैयाँ विनियोजन गरेको थियो । विनियोजित रकमबाट प्यारापिट भत्काईसकिएको छ । जहाँ एक अर्ब भन्दा बढीको लगानीमा फुटबल स्टेडियम बनाउने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । स्टेडियम बनाउन दोस्रो पटक ग्लोबल टेण्डर आह्वान गरिसकिएको छ । फुटबल मैदान बनाउन ५३ करोड रुपैयाँ छुट्टाईसकिएको छ ।
महानगरपालिकाको पनि दुगर्म मानिएको वडा नं २० मौजामा महानगरपालिका र वडा नं २० ले छुट्टाएको ८ लाख रुपैयाँबाट फुटबल मैदान निर्माण कार्य गरिएको छ । वर्षायाम शुरु भएकोले निर्माण कार्य अहिले रोकिएको छ । मैदान बनाउन डाडाँ कटान गरी सम्याउन थालिएको छ । १७ सय मिटर उचाईमा निर्माणाधिन छ ।
निर्वाचन क्षेत्र ३—यो निर्वाचन क्षेत्रमा परिषदले खेलकुदको पुर्वाधारको लागि बढी लगानी गरेको छ । ढिकुर पोखरी खेल मैदान(फुटबल)को लागि गत आवमा ८ लाख विनियोजन गरिएको थियो । विनियोजित रकमबाट खेल मैदानलाई केही फराकिलो बनाईएको छ । ९ ए साईड फुटबल हुने अवस्थाको मैदानलाई ११ ए साईडमा खेल्न मिल्ने गरी विस्तार गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यबहाक अध्यक्ष सम्पन्नमान श्रेष्ठले बताए ।
ढिकुरपोखरीसँग हेमजाको खेल मैदानलाई पनि गत आवमा ८ लाख आएको थियो । चालु आवमा भने १० लाख रुपैयाँ छुट्टिएको छ । गौरीशंकर फुटबल मैदानको आवश्यक विस्तारको काम भईरहेको छ । त्यसैगरी परिषदले लान्द्रुकको खेल मैदानलाई ५ लाख गत आवमा विनियोजन गरी पठाएको थियो । सार्दीखोला खेलमैदानलाई ३ लाख रुपैयाँ निकासा गरिएको थियो ।
चालु आर्थिक वर्षमा पामे भलिबल कोर्ट निर्माणको लागि १५ लाख रुपैयाँ छुटाईदिएको छ । त्यतिमात्रै नभई वर्षेनी आयोजना हुदैं आएको ट्रायथोलनको लागि स्थान अध्ययन अवलोकनको लागि भन्दै परिषदले २५ लाख रुपैयाँ सुनिश्चिताको बजेट उपलब्ध गराएको छ । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख एवं कास्की जिल्ला ट्रायथोलन संघका सचिव प्रकाश बरालका अनुसार पुम्दीमा ट्रायथोलनका लागि आवश्यक पुर्वाधारसहितको एकेडेमी निर्माण गर्न जग्गा हेरिसकिएको छ । हेरिएको जग्गामा अहिले ग्याबिन जाली र जमिन लेभलिङको काम गरिएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा फेरी १० लाख रुपैयाँ विनियोजन भएर आएको छ । सरकारले लगानी गरे अनुरुप खेलकुदको पुर्वाधार निर्माण भएको अवस्थामा खेलुकदको विकास र विस्तार हुने आशा र विश्वास खेलप्रेमीले लिएका छन् ।