क्षेत्रीयस्तरीय टेबुल टेनिसमा रुपन्देही च्याम्पियन, खेलकुद उच्च प्राथमिकतामा–मेयर जिसी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार २८ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)- पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराद्वारा आयोजित क्षेत्रीयस्तरीय टेबुल टेनिस प्रतियोगितामा रुपन्देही च्याम्पियन बनेको छ । कास्की जिल्ला दोस्रो स्थानमा चिक्त बुझाउँदा स्याङजा तेस्रो, बाग्लुङ चौथो र नवलपरासी पाँचौ स्थानमा रहदै दुईदिने प्रतियोगिता टुंगिएको छ ।

रुपन्देहीले महिला एकल, पुरुष एकल, महिला युगल र पुरुष युगल चारवटै इभेण्टमा स्वर्ण पदक जित्दै टेबुल टेनिसमा आफनो प्रभुत्वलाई कायमै राख्यो । महिला एकल तर्फ रुपन्देहीकी अमृता थापाले रुपन्देहीकै सुकृति श्रेष्ठलाई ११–३, ८–११, ६–११, ११–४ र ११–७ को सेटले पराजित गर्दै स्वर्ण पदक जितिन् । पुरुष एकल तर्फको प्रतिस्पर्धामा रुपन्देहीका गोविन्द कौशलले रुपन्देहीकै कपिल थापालाई ११–८, ८–११, १५–१३, १५–१३ र ११–९ को सेटमा पराजित गर्न सफल भएका थिए ।

महिला युगल तर्फको प्रतिस्पर्धामा भने रुपन्देहीले स्वर्ण पदक जित्ने क्रममा स्याङजालाई पराजित गरेको हो । रुपन्देहीका सुकृति श्रेष्ठ र अमृता थापाको जोडीले स्याङजाका सेवा श्रेष्ठ र मुना थापाको जोडीमाथि ११–२, ११–३, ११–३, र ११–५ को सेटमा पराजित गरेका थिए । पुरुष युगल तर्फ पनि रुपन्देहीले स्वर्ण पदक आफनो नाममा लेखाउन कास्कीलाई हराएको थियो ।

कास्कीका रुक गुरुङ र सुमेश लामाको जोडीलाई ११–८, ११–८, १५–१३, ७–११ र ११–८ को सेटमा पराजित गर्दै रुपन्देहीका कपिल थापा र गोविन्द कौशलको जोडीले स्वर्ण पदक जित्दै चारै स्वर्ण रुपन्देहीको नाममा लेखिन पुग्यो । क्षेत्रीय खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला टेबुल टेनिस संघको संयोजनमा आयोजित प्रतियोगितामा नवलपरासीकी प्रमिशा न्यौपानले र पुरुष तर्फ स्याङजाका नविन गुरुङ बेष्ट प्लेयर घोषित भए । उनीहरुलाई पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी, क्षेत्रीय खेलकुद विकास समितिका कार्यबहाक अध्यक्ष सम्पन्न श्रेष्ठ, कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी, जिल्ला खेलकुुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ, कोषाध्यक्ष दिपकबहादुर गोदार, टेबुल टेनिस संघ कास्कीका अध्यक्ष उत्तम जोशी लगायतले ट्रफी पदक तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

पुरस्कार वितरणपछि महानगरपालिकाका मेयर मानबहादुर जिसीले स्वास्थ्यको लागि निर्वाहमुखी खेल नभई अब खेलाडी उत्पादन गर्ने खेलमा महानगरपालिकाले लगानी गर्ने प्रतिबद्धता जनाए । ‘खेलाडीको मर्म र भावना अनुसार रिजल्ट आउने खेलमा लगानी गर्न तयार छ ।त्यसको लागि खेलकुद विज्ञसँग बसेर छलफल गर्न तयार छौं ।’ मेयर जिसीले भने । पोखरालाई खेलकुदको तालिम लिने ठाँउको रुपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न सकिनेमा भन्दै मेयर जिसीले त्यसको लागि पनि महानगरपालिकाले आवश्यक लगानी गर्ने दृढता जनाए । ‘खेलकुदमा लगानी बालुवामा पानी हाले झै हुनु हुदैन् ।’ उनले भने–‘प्रतिफल आउने खेललाई प्रोत्साहन गर्न लगानी गरेर अगाडि बढ्न महानगर तयार छ ।’