चीनिया कम्पनीले जोईन्ट भेन्चरमा पोखराको फुटबल स्टेडियम बनाउन देखायो चासो

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण ८ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-पोखरा रंगशालाको फुटबल स्टेडियम बनाउन दुई कम्पनीले चासो दिएका छन् । सोमबार राष्ट्रिय खेलकुद परिषदले टेण्डर खोलेपछि दुई कम्पनी जोईन्ट भेन्चरमा रहेर खरीद गरेको जनाएको छ । अब परिषदले प्राविधिक प्रस्ताव मूल्यांकन गर्ने छ । स्टेडियम बनाउन सिएमई कन्ट्रक्सन प्रोलेक्ट बेइजिङ कम्पनी लिमिटेड चीन तथा सि.ए. बी कन्ट्रक्सन एच.डी लिमिटेड जावलाखेल ललितपुरको संयुक्त र ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुरको संयुक्तले चासो दिएका हुन् । कम्पनी चार भएपनि जोईन्ट भेन्चरमा काम गर्ने गरी खरीद गरेका छन् ।

‘टेण्डर खोलिएको छ । दुई कम्पनीले खरीद गरेका छन् । उनीहरुको प्राविधिक प्रस्ताव मूल्यांकन गरिने छ ।’ राष्ट्रिय खेलकुद परिषदका प्रशासन विभाग प्रमुख बासुदेव आचार्यले भने–‘प्राविधिक प्रस्ताव मूल्यांकनमा दुवै कम्पनी पास हुन सक्छन् । नहुन पनि सक्छन् । एउटा मात्रै पास पनि हुन सक्छ । त्यसको निक्र्यौल ७ दिनपछि मात्रै थाहा हुन्छ ।’ उनले एकसाता पछि आर्थिक प्रस्ताव खोलिने र जसको कममा पर्छ उसैलाई स्टेडियमको ठेक्का दिईने बताए ।

खेलकुद परिषदले स्टेडियम निर्माण गर्न गत जेठ २५ गते टेण्डर आह्वान गरेको थियो । पहिलो पटक आह्वान गरिएको टेण्डर स्थगित भएको झण्डै छ महिनापछि पोखरा रंगशालाभित्रको फुटबल स्टेडियम बनाउन पुन टेण्डर आह्वान गरिएको थियो । साग महिला फुटबललाई लक्षित गर्दै परिषदले पोखरा रंगशालाको फुटबल स्टेडियम बनाउन ५५ करोड रुपैयाँ विनियोजन समेत गरिसकेको छ ।

परिषदले दश महिनाभित्रमा सक्ने लक्ष्यसहित गत मंसिरमा ग्लोबल टेण्डर आह्वान गरेको थियो । आह्वान गरिएको टेण्डरमा छ वटा कम्पनीले चासो दिदैं खरीद गरेका थिए । छ कम्पनी मध्ये अन्तिम छनोटको लागि एउटा कम्पनी चयन भएको थियो । तर अन्तत पुन टेण्डर आह्वान गर्नुपर्ने जनाउँदै उक्त कम्पनीलाई समेत अयोग्य घोषित गरिएको थियो ।

आह्वान गरिएको टेण्डरमा प्यारापिट, फुटबल मैदान र एथलेटिक्स ट्रयाक बनाउन कम्पनीको अनुभव पत्र समेत माग गरिएको थियो । मैदान फुटबलको सर्वोच्च संस्था फिफाको मापदण्ड अनुसार १०५ मिटर लम्बाई ६८ मिटरको चौडाई हुनुपर्ने उल्लेख छ । मैदान टर्फ अथवा प्राकृतिक हुनुपर्ने उल्लेख छ । एथलेटिक्सको लागि सिन्थेटिक ट्रयाक हुनुपर्ने उल्लेख छ । ४०० मिटरको आठ लेनको सिन्थेटिक ट्रयाक हुनुपर्ने टेण्डरमा खुलाइएको छ । टेण्डर खरीद गर्ने कम्पनीको वार्षिक टर्न ओभर समेत १०.३६ मिलियन डलरको हुनुपर्ने सर्त राखिएको थियो । जोईन्ट भेन्चरमा रहेको कम्पनीको कार्यक्षमता र दक्षता, कम्पनीको वार्षिक टर्न ओभर लगायत अध्ययन परिषदले गर्ने उनले बताए । खरीद गर्ने कम्पनीले आफनो कार्यपत्र समेत प्रस्तुत गर्नुपर्ने खाँचो छ ।

सन २०१९ मा नेपालमा १३ औं साग गेम्स आयोजनाको जिम्मेवारी छ । ‘बजेट विनियोजन भईसकेको छ । टेण्डर समेत खोलिएको छ । यसले पोखरामा साग फुटबल हुने विश्वासको बातावरण तय भएको छ ।’ जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले भने–‘अब स्टेडियम बन्न रोकिने अवस्था कहिँकतै देखिदैन् ।’ साग गेम्स अन्तर्गत महिला फुटबल सहित पोखरामा आर्चरी, भलिबल, टेनिससहितका खेलहरु सञ्चालन गर्ने योजना छ ।

माईल्ड स्टिल मोडुलर सिष्टमको हुने छ । २० हजार दर्शक क्षमताको हुने अनुमान गरिएको छ । लागत एक अर्ब ६० करोडको अनुमान गरिएको परिषदका प्रशासन विभाग प्रमुख आचार्यले सुनाए । फुटबल स्टेडियम बनेपछि युवा तथा खेलकुद मन्त्रालयले पोखरालाई स्पोर्टस सिटीको रुपमा विकास गर्ने लक्ष्य केहीहदसम्म पुरा हुने छ । फुटबल स्टेडियम बनाउनको लागि परिषदले गत माघ महिनामा २०४० सालमा निर्माण गरिएको दर्शक र भिआईपी प्यारापिट भत्काईसकिएको छ । तस्बिर फाईल