हारसँगै शुरुभयो नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय यात्रा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण १७ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-नेपालले नेदरल्याण्डसँगको हारसँगै एकदिवसियीय अन्तर्राष्ट्रिय क्रिकेटको यात्रा शुरुवात गरेको छ । पुरानै व्याट्सम्यान नचल्ने क्रम दोहोरिएपछि नेपालले एक दिवसिय अन्तर्राष्ट्रिय ‘डेब्यू’ खेल ५५ रनले हारसँगै शुरु गर्यो । मध्यक्रमको लक्ष्य पछ्याउने क्रममा मध्यक्रमका व्याट्सम्यान नचल्नाले लक्ष्य पछ्याउन नेपाललाई निकै सकस नै भयो । बलिंगकै भरमा नेपाली क्रिकेटले यो स्तरसम्म आइपुग्दा व्याट्सम्यानको प्रभावकारी दोहोरिन सकेन् ।

घरेलु टोली नेदरल्यान्ड्विरुद्ध १ सय ९० रनको लक्ष्य पछ्याएको नेपालले सुरुवात राम्रो गर्नाका वावजुद अघि बढाउन भने सकेन । ओपनर समेत रहेका उपकप्तान ज्ञानेन्द्र मल्ले अर्धशतक र दीपेन्द्र सिंह ऐरी ३३, अर्का ओपनर अनिल साहले २१ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले निराश पारेपछि नेपालले ४१।४ ओभरमा सबै विकेट गुमाउँदा १ सय ३४ रनमात्र जोड्न सक्यो ।

पहिलो विकेटका लागि ज्ञानेन्द्र र अनिलले ५८ रनको साझेदारी गरेपनि त्यसपछि भने नेपालको ठूलो साझेदारी बन्न सकेन । बलिङमा उच्च प्रदर्शन गरेका कप्तान पारस खड्का १२ रनमा आउट भएपछि नेपालको ब्याटिङ लाइन धर्मराएको थियो । पारस १९ औं र त्यसलगत्तै ज्ञानेन्द्र २० ओभरमा आउट भएपछि त्यसपछि नेपाल सम्हालिन सकेन । मध्यक्रम छिटो पेभेलियन फर्किएपछि पछिल्ला व्याट्सम्यानकै भरमा जितको आशा, अपेक्षा र भरोसामा नेपाल केन्द्रीत रह्यो ।

६१ बल खेलेका ज्ञानेन्द्रले ८ चौकाका साथ ५१ रन बनाए । अनिलले ३२ बल खेल्दै ३ चौका प्रहार गरे । २१ बल खेलेका पारसले १ चौका तथा ४८ बल खेलेका दीपेन्द्रले २ चौका प्रहार गरे । त्यसपछि कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

शक्ति गौचनले ९, शरद भेषावकरले ४ र सन्दीप लामिछानेले १ रन बनाए । आरिफ शेख, सोमपाल कामी, बसन्त रेग्मी, करण केसीले रनको खाता पनि खोल्न सकेनन् । फिल्डिङ गर्ने क्रममा औलामा चोट लागेपछि शरद १० औं नम्बरमा मात्र ब्याटिङ गर्न आर्लेका थिए । घरेलु टोलीका पिटर सिलारले ३, मिचेल रिपोनले २ र फ्रेड क्लासेनले १ विकेट लिएका थिए ।

त्यसअघि भिएआर मैदान एम्सटरड्याम टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड ४७। ४ ओभरमा सबै विकेछ गुमाएर १ सय ८९ रन बनाएको थियो । नेदरल्यान्डका लागि मिकेल रिप्पनले ५१ रनको अर्धशतीय इनिङ्स खेले । बास डि लिडेले ३० रन जोडे । स्टिफिन माईवर्घ २९ रनमा आउट भए । बेन कुपर २०, स्कट इडवाड्र्स १८ रनमा आउट भए ।

यस्तै विस्ले बारेसी १२ र फ्रेड कालासन ११ रनमा आउट भए । नेपालका लागि पारसले ४ विकेट लिए । १० ओभर बलिङ गरेका उनले २६ रन खर्चेका थिए । सोमपालले ३ विकेट, सन्दीप लामिछाने, बसन्त र करणले समान १ विकेट लिए । नेपाल र नेदरल्यान्ड्बीचको दोस्रो एक दिवसिय शुक्रबार हुनेछ ।