पोखरेली किरण सहायक प्रशिक्षकमा नियुक्त

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र ७ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-खेलाडीको अन्तिम लक्ष्य प्रशिक्षक बन्ने । त्यसमा पनि राष्ट्रिय टोलीलाई प्रशिक्षण गराउनु धोको नै हुन्छ । त्यो धोको भने पोखराका फुटबल प्रशिक्षक किरण श्रेष्ठले पुरा गरेका छन् । घरेलु क्लब सहारालाई प्रशिक्षण गराउँदै आफनो प्रशिक्षण करियरलाई उचाईमा पुर्याएका ४२ वर्षिय श्रेष्ठले नेपाली फुटबलको राष्ट्रिय टोलीलाई प्रशिक्षण दिने छन् । उनलाई अखिल नेपाल फुटबल संघले नेपाली फुटबलको सहायक प्रशिक्षकको जिम्मेवारी थमाएको छ । उनी प्रशिक्षक बालगोपाल महर्जनको असिष्टेण्ट रहने छन् ।

उनलाई अखिले नेपाल फुटबल संघका उपाध्यक्ष कृष्ण थापाले जिम्मेवारीको पत्र बिहीबार थमाए । भदौ १९ देखि बंगलादेशमा हुने साग फुटबलको लागि लक्षित गर्दै सहायक प्रशिक्षकको जिम्मेवारी सुम्प्याईएको हो । श्रेष्ठ कास्की जिल्ला फुटबल संघले सञ्चालन गरेको एन्फा एकेडेमीलाई स्वयंसेवक प्रशिक्षकको रुपमा प्रशिक्षण गराउँदै आएका थिए । उनीले घरेलु क्लब सहारालाई नियमित जसो प्रशिक्षण गराउँदै आएका छन् । उनलाई एक महिनेको लागि सहायक प्रशिक्षकको जिम्मेवारी दिइएको छ ।

‘साग गेम्सको लागि मात्रै जिम्मेवारीसहितको पत्र एन्फाले दिएको छ ।’ पत्र लिएपछि श्रेष्ठले भने–‘सागको पर्फमेन्सको आधारमा सम्झौता नविकरण हुने नहुने टुंगो लाग्ने छ ।’ उनले करियरकै सबैभन्दा बढी चुनौतिपूर्ण अवस्था रहेको भन्दै नेपाली राष्ट्रिय टिमलाई हेर्न पाउनु नै गर्विलो अनुभूति भएको बताए । उनले हिमालयन शेर्पा, जावलाखेल युथ क्लबलाई समेत प्रशिक्षण दिईसकेका छन् । उनले मोफसलमा हुने नकाउट फुटबल प्रतियोगितामा सुदुरपश्चिम, बौद्ध फुटबल क्लब लगायतका क्लबलाई समेत प्रशिक्षण दिईसकेका छन् । उनी भन्दा अघि पोखराका कृष्ण थापा मुख्य प्रशिक्षक भइसकेका छन् । अहिले एन्फाको उपाध्यक्षको जिम्मेवारी सम्हालेका छन् । थापा पछि नेपाली फुटबलको प्रशिक्षक बन्ने श्रेष्ठ दोस्रो हुन् ।

२०५६ सालमा घरेलु फुटबलबाट माथि उठ्दै श्रेष्ठ काठमाडौंको लिग खेल्न शुरु गरे । त्यसपछि उनको उचाई विस्तारै उक्लियो । खेलाडीको रुपमा परिचय बनाएका श्रेष्ठले झण्डै डेढ दशकको फुटबल करियरलाई थाँती राख्दै प्रशिक्षणमा होमिए । घरेलु क्लब सहारालाई १२ औं सस्करणको उपाधि दिलाउँदा उनी प्रशिक्षक थिए । मोफसलमा हुने प्रतियोगितामा सहारालाई नै प्रशिक्षण गराउँदै धरान लगायत विभिन्न शहरमा पुग्थे । उत्कृष्ठ नतिजा पस्किन सधैं मेहनत गर्थे । जसको प्रतिफल राष्ट्रिय टोली सम्हल्ने जिम्मेवारी अवसर जुर्यो । एएफसीबाट ए लाईसेन्स प्राप्त श्रेष्ठले सहारालाई १२ औमा उपाधि दिलाए । धरानमा उपविजेता, सिमलामा, उपविजेतासम्म बनाए । उत्कृष्ठ प्रशिक्षकबाट पुरस्कृत समेत भएका थिए ।