आयोजकको जितसँगै २४ औं आदर्श कपको शुरुवात, बेलको ह्याट्रिक

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र २० गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-आयोजक आदर्श क्लबको जितसँगै शुरुवात भएको २४ औं सस्करणको आदर्श कप फुटबल प्रतियोगितामा बेलप्रसाद गुरुङले प्रतियोगिताको पहिलो ह्याट्रिक गरेका छन् । एक गोलले पछि परेको आदर्श क्लबले घरेलु मैदान लेखनाथ रंगशालामा बुधबार तनहुँ फुटबल संघलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्दा गुरुङले पहिलो ह्याट्रिककर्ताका सूचीमा आफनो नाम लेखाए ।

खेलको ११ मिनेटमा गोल खाँदै दबावमा रहेको आदर्श क्लबले कमव्याक गर्ने क्रममा पहिलो हाफ टुंगिनु अघि २–१ को अग्रता लिएको थियो । बेलप्रसाद गुरुङले २५ औं मिनेटमा गोल गर्दै आदर्श क्लबलाई बराबरीमा फर्काउँदै उत्साहलाई जीवन्त राखे । उनले प्रतियोगिताको पहिलो ह्याट्रिक गर्ने क्रममा ७२ र ७४ औं मिनेटमा गोल गर्दै पुरा गरे । अर्को गोल भने आदर्शक लागि ओभरल्यापमा गएका डिफेन्स अजित भण्डारीले ३६ औं मिनेटमा गर्दै घरेलु मैदानमा आफनो इज्जत जोगाए । सातवर्षपछि आयोजित फुटबल प्रतियोगितामा उदघाटनमै ह्याट्रिक गरेको गुरुङ म्यान अफ दि म्याच घोषित हुदैं नगद ५ हजारसहित ट्रफी पुरस्कार स्वरुप थापे । तनहुँका लागि दिपेश आलेमगरले शुरुवाती गरेको गोल अन्तत सान्त्वना बन्न पुग्यो ।

तनहुँ फुटबल संघले आयोजक आदर्शक क्लबको आतिथ्यतालाई अविस्मरणी बनाउन सकेन् । गोल गर्दै लिएको अग्रतालाई जोगाउन उद्दत रहेपनि घरेलु मैदानको फाईदा भने आयोजकले उठायो । ए डिभिजनका केही अनुभवी खेलाडीलाई आयोजकले आफनो जर्सीमा मैदान उतार्दै तनहुँ विरुद्ध खरो प्रस्तुत भएको थियो । आयोजकलाई हराउँदै सुखद अनुभूति गर्ने तनहुँको चाहना भने यो वर्षलाई पुरा हुन सकेन् ।

प्रतियोगिताको उदघाटन गर्दै युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रको विकास विना समृद्धिको परिकल्पना गर्न नसकिने बताए । उनले आम नागरिकको पहुँचमा खेलकुद नपुर्याईकन समृद्धिको सम्भावना पनि नहुने स्पष्ट पारे । ‘खेलकुदलाई समृद्धिसँगै पर्यटनसँग जोड्नुपर्छ ।’ उनले भने–‘स्पोर्टस टुरिज्मको विकास गर्न सकिए आर्थिक समृद्धि हुदैं समृद्ध नेपाल निर्माण हुने छ ।’

गण्डकी प्रदेशका सदस्य दिपक कोईरालाले खेलकुदमा लगानी बालुवामा पानी हाल्नु जस्तै ठान्ने प्रवृत्तिले खेलकुद क्षेत्रको विकास हुनै नसकेको ठोकुवा गरे । खेलकुदलाई आर्थिक विकासको आधारको रुपमा समेत लिनुपर्ने भन्दै उनले जहाँ खेलकुदको पुर्वाधार हुन्छ र प्रतियोगिता आयोजना हुन्छन त्यहाँको आर्थिक विकासले फड्को मारेको प्रष्ट देख्न सकिने बताए । ‘खेलकुदमा लगानीले प्रतिफल दिन्छ । खेलकुदलाई पर्यटनसँग मात्रै नभई विकासको कडीको रुपमा लिनुपर्छ ।’ उनको भनाई थियो । उनले खेलमैदानलाई लेखनाथ रंगशालाको रुपमा विकास गर्ने तर्फ प्रदेश सरकार गम्भीर रहेका समेत बताए ।

क्लबका संस्थापक अध्यक्ष चेतबहादुर गुरुङ, कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङ, अम्बे सिमेन्टका गण्डकी प्रदेश सेल्स मेनेजर जीवन न्यौपाने, रिद्धिसिद्धी सिमेन्टका गण्डकी प्रदेश सेल्स मेनेजर पवनराज बराल एवं राजनीतिक पार्टीका स्थानीय नेताहरुले खेलकुदको विकासमा सबैले टेवा पुर्याउनुपर्नेमा जोड दिएका थिए । तेस्रो खेल शसस्त्र प्रहरी बलले विग्रेड व्वाईज क्लबसँग खेल्ने छ भने चौथो खेल बाग्लुङ फुटबल संघले जावलाखेल युथ कलबसँग प्रतिस्पर्धा गर्ने छ । तीन लाख नगद पुरस्कार राशीको उपाधि विजेताले जित्ने छ । उपविजेताको हकमा भने नगद दुईलाख रुपैयाँ पर्ने छ ।