
पोखरा(खेलाडी न्युज)-पोखरा रंगशालाबाट प्याराग्ग्लाइडिङ उडान हुने सराङकोट डाँडा करिब १० किलोमिटर मात्रै टाढा हो । फेवाताल किनारको अवतरणस्थल त झनै नजिक पर्छ । दुरीका हिसाबले प्याराग्लाइडिङ उडान–अवतरण हुने सराङकोट चुचुरो र खेलकुदका नियमित गतिविधि हुने रंगशाला खासै टाढा होईनन् ।
दुरीका हिसाबले नजिक रहेका यी दुई क्षेत्र (रंगशाला र प्याराग्लाइडिङ) एकअर्काको सामीप्य हुन भने झन्डै दुइदशक लाग्यो । त्यसको अर्थ खेलकुदको मान्यता पाएर दिनहुँ दृष्टि पर्ने नजिकैको डाँडामा उडान भईरहने प्याराग्लाइडिङले पोखरा रंगशालामा इन्ट्री पाउन झन्डै दुईदशक कुर्नुप¥यो । यस अवधिमा रंगशालालाले पनि प्याराग्लाइडिङलाई खेलकुदको रुपमा समेत चिन्न सकेन वा सरकारले चिनाउने प्रयास नै गरेन । प्याराग्लाइडिङले पनि खेलकुदको गतिविधि हो भनेर चिनाउन ढिलाई गर्दा रंगशाला इन्ट्री पाउन झन्डै दुईदशकको समय लाग्यो ।
पोखरामा झन्डै २० वर्ष अघि व्यावसायिक उडान सुरु गरेको प्याराग्लाइडिङले नै २० वर्षको अन्तरालमा एसियाली खेलकुदमा नेपाललाई रजत पदक दिलाएपछि बल्ल रंगशाला इन्ट्रीको बाटो खुलेको छ । त्यही पदक विजेता टोलीलाई मंगलबार यहाँ भव्य स्वागत गर्दै रंगशालामा भिœयाइयो । मुलुकको लागि दुईदशक अन्तरालमा पदक दिलाएको प्याराग्लाइडिङले डेब्यू संस्करणमै इतिहास बनाएको हो ।
‘व्यक्तिगत रुपमा हामी सबैजना रंगशाला छिरेका थियौं । तर, प्याराग्लाइडिङलाई खेल गतिविधि मानेर रंगशालामा इन्ट्री गराएको पहिलो पटक हो,’ प्याराग्लाइडिङको नेपाली टिमको नेतृत्व गर्दै एसियाली खेलकुदमा सहभागि भएका प्रशिक्षक योगेश भट्टराइले नागरिकसँग भने, ‘रंगशालाले पनि अहिलेसम्म हाम्रो खोजी गर्न सकेको थिएन । हामी आफै यहाँसम्म आउन सफल भएका थिएनौ । बल्ल राज्यले हामीलाई खेलकुदको मान्यता दियो, अनि रंगशाला इन्ट्रीका लागि बाटो खुल्यो ।’
प्याराग्लाइडिङ व्यावसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (एनएए) का अध्यक्ष समेत रहेका भट्टराइले प्याग्लाइडिङलाई राज्यले अहिलेसम्म चिन्न ढिलाई गरेको बताए । ‘हामीलाई त व्यावसायिक कर्ममा मात्र जोडिएको थियो । साहसिक खेलकुद गतिविधि हो भनेर हामीलाई चिन्न ढिलाई गरेकै हो,’ उनले भने, ‘सरकारले साहसिक खेलकुदको गतिविधिको रुपमा प्याराग्लाइङिको विकासमा सघाउने हो भने आगामि दिनमा हुने खेल गतिविधिमा पदकविहीन हुनबाट मुलुक नै जोगिनेछ ।’
सरकारले ठुलो लगानी गर्दै रंगशालाभित्र खेलाउँदै आएका खेलका अन्य विधा एशियाली खेलकुदमा रित्तो हात घर फर्किदा पोखराको सराङकोट आसपासका डाँडामा मात्र सिमित रहेको प्याराग्लाइडिङको टिम भने उपाधि लिएर फर्किएको छ । यसले पोखराको त शान बढाएको छ नै नेपालको एशियाली खेलकुदमा सहभागितापछिको शीर ठाडो बनाएको उनले बताए । पोखरामा प्याराग्लाइडिङ उडान सुरु भएको २० वर्ष अघि हो । यसअवधिमा प्याराग्लाइडिङलाई खेल गतिविधि मान्न सरकार तयार थिएन । यो पटक बडो मुस्किलसाथ सरकारले प्याराग्लाइडिङलाई खेल गतिविधिको मान्यता दिएर एसियाली खेलकुदमा सहभागि गराएको थियो । पुरुष टिम क्रसकन्ट्री विधामा नेपालले पाँच राउण्डको समाप्ती सकेर ऐतिहासिक पदक जितेको हो ।
नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइङि संघका महासचिव समेत रहेका एसियाली खेलकुदका अफिसियल शैलेन्द्र रावत पनि प्याराग्लाइडिङलाई रंगशालाले स्वीकार्न दुईदशक लागेको बताउँछन् । ‘प्याराग्लाइडिङ पनि खेल हो भनेर पोखरा रंगशालाले पनि चिन्न झन्डै दुईदशक लाग्यो,’ रावतले भने, ‘यसमा रंगशालाको भन्दा पनि सरकारको कमजोरी थियो । सरकारले चिनेको भए रंगशालाले पनि चिन्थ्यो होला । किनकी सरकारले प्याराग्लाइडिङलाई खेलको रुपमा स्वीकारेको थिएन । सराङकोटको डाँडाबाट विदेशी लिएर उड्ने गतिविधिको रुपमा मात्र हेरिएको थियो ।’ सरकारले प्याराग्लाइडिङलाई खेल हो भनेर स्वीकार्न नसक्दा प्याराग्लाइडिङलाई रंगशाला प्रवेशमा अवरोधजस्तै रहेको उनले बताए ।
रंगशालामा खेलकुदका गतिविधि हुने भएपनि चुचुरोमा हुने प्याराग्लाइडिङ उडानलाई अहिलेसम्म सबैले वेवास्ता गरेको उनले बताए । ‘सरकारले समयमा चिनेको भए सायद हाम्रो रंगशाला इन्ट्री पनि छिटै हुन्थ्यो । सरकारले नै हामीलाई व्यावसायिक गतिविधि भनेर चिनेको थियो,’ उनले भने, ‘हामीले त प्याराग्लाइडिङ पनि खेलको विधा हो । मात्र यो साहसिक छ भनेर भनेकै हौं । तर, राज्यले हामीलाई ब्यापारिक नजरबाट मात्र हे¥यो ।’
जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल पनि प्यराराग्लाइडिङले खेलको मान्यता पाएर आधिकारिक रुपमा खेलाडीलाई रंगशालामा स्वीकारेको पहिलो पटक भएको बताउँछन् । ‘राष्ट्रिय खेलकुद परिषद (राखेप) त प्याराग्लाइडिङ आफैमा खेल गतिविधि हो भनेर धेरै अगाडी ने स्वीकारेको हो । तर, यो अवधिमा धेरै नै ग्याप रह्यो,’ बरालले भने, ‘सरकारी निकाय र प्याराग्लाइडिङ बीचको तादम्यता नमिल्दा प्याराग्लाइडिङको रंगशाला प्रवेशमा झन्डै दुईदशक लागेकै हो ।’ प्याराग्लाइडिङका खेलाडी व्यावसायिक उडानमा बढी ब्यस्त हुनुपर्दाको समस्या पनि रहेको उनले बताए । ‘प्याराग्लाइडिङका खेलाडी (पाइलट) खेलमा भन्दा व्यावसायीक उडानमा बढी व्यस्त भए । किनकी उनीहरु (पाइलट)ले उडानमा दक्ष हुन ठुलो लगानी गरेका हुन्छन,’ बरालले भने, ‘राज्यले त्यो लगानी देख्न नसक्दा पनि खेलाडी र सरकारी निकाय टाढाबाट एकअर्कालाई हेराहेर मात्र गरेर बसे । एसियाली खेलकुदले मात्र प्याराग्लाइडिङलाई सरकासँग निकट बनाएको हो ।’


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…