स्याङजा फुटबल संघ २४ औं आदर्श कपको सेमिफाईनलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र २१ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-पोखरा ११ माथि इज्जतिलो नजिता निकाल्दै स्याङजा फुटबल संघ रिद्धिसिद्धी सिमेन्ट २४ औ आदर्श कपको सेमिफाईनल सुरक्षित गरेको छ । बिहीबार लेखनाथ रंगशालामा भएको फुटबल प्रतियोगिताको दोस्रो दिन स्याङजाले पोखरा ११ माथि ३–० गोलको फराकिलो जितको खुशी आत्मसात गर्यो ।

२५ औं मिनेटमा पोखरा ११ अभागी बन्यो । आफनै पोष्टमा लक्ष्मण जिसीले गोल गरेपछि स्याङजा उपहार गोलसँगै लिएको अग्रता पहिलो हाफको अन्त्यसम्म फराकिलो बन्न पुग्यो । ३३ औं मिनेटमा स्याङजाका कप्तान लक्ष्मण रुचालले गोल गर्दै दोब्बर बनाउँदा पहिलो हाफको सिटी फुक्नु अघि ४५ औं मिनेटमा अर्को व्यक्तिगत गोल थप्दै अन्तरलाई तेब्बरको स्थितिमा पुर्याए । उनकै नेतृत्व गत चैतमा स्याङजाले पोखरा ११ लाई बाग्लुङमा आयोजित प्रदेशस्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिताको फाईनलमा पराजित गर्दै उपाधि उचालेको थियो । रुचाल खेलको म्यान अफ दि म्याच घोषित हुदै ५ हजार रुपैयाँ प्राप्त गरे ।

रिद्धिसिद्धी सिमेन्टले शीर्षक प्रायोजन गरेको २४ औं सस्करणको आदर्श कपमा पोखरा ११ निकै कमजोर देखियो । बाग्लुङमा आयोजित प्रथम मेयर कप फुटबल प्रतियोगिताको फाईनलमा हारको पीडालाई भुल्ने प्रयास गरेको पोखरा ११ भने गृहनगरमै अझ कमजोर प्रदर्शन गर्यो । प्रथम मेयर कपको फाईनलमा १–० गोल अन्तरले पराजित गर्दैै उपाधि उचालेको स्याङजाले लेखनाथ रंगशालामा सेमिफाईनल प्रवेशको लागि पोखराको चुनौतिलाई सहजै पन्छाउँदै अन्तिम चारमा पुग्यो । स्याङजाले आठजना ए डिभिजनका खेलाडीलाई मैदानमा उतार्दै खरो प्रदर्शन गरेको थियो । शुक्रबार शसस्त्र प्रहरी बलको एपीएफ काठमाडौं र विग्रेड ब्वाई क्लब काठमाडौं बीच हुने आयोजकले जनाएको छ ।

कास्की जिल्ला फुटबल संघले पनि छ महिनाअघि हारेको पीडालाई बिहीबार राहतको अनुभूति लिने योजना बनाएको थियो । उदघाटन खेलमा आयोजक आदर्श क्लब तनहुँ फुटबल संघलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा पुगिसकेको छ । २४ औं सस्करणलाई अम्बे सिमेन्ट प्रालिले मुख्य प्रायोजन गरेको छ । उत्पादनको तयारी गरेको रिद्धिसिद्धी सिमेन्टले शीर्षक प्रायोजन गरेको छ । प्रतियोगितामा आयोजक आदर्श क्लब, कास्की ११, बाग्लुङ फुटबल संघ, स्याङजा फुटबल संघ, तनहँु फुटबल संघसँगै शसस्त्र प्रहरी बलको एपीएफ क्लब, ब्रिगेड व्वाईज क्लब र जावलाखेल युथ क्लब बीच प्रतिस्पर्धा हुने छ । तीन लाख नगद पुरस्कार राशीको उपाधि विजेताले जित्ने छ । उपविजेताको हकमा भने नगद दुईलाख रुपैयाँ पर्ने छ ।

उत्कृष्ठ खेलाडीले नगद २५ हजार प्रदान गरिने छ । उच्च गोलकर्ता, उत्कृष्ठ प्लेमेकर, डिफेन्स, गोलरक्षकले नगद १० हजार रुपैयाा पाउने छन् । प्रत्येक खेलको म्यान अफ दि म्याच घोषित खेलाडीलाई नगद ५ हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिने क्लबका अध्यक्ष लक्ष्मीप्रसाद भण्डारीले जानकारी दिए । प्रतियोगितलाई मुख्य प्रायोजन अम्बे सिमेन्ट प्रालि, प्रायोजनमा स्थानीय श्रृंगा यातायात व्यवसायी संघ, सह प्रायोजन गोर्खा ब्रुअरी(टुबोर्ग), उप प्रायोजनमा जस्मिन पेन्ट्स प्रालिले गरेका छन् । प्रथम पुरस्कारको प्रायोजन भने बज्र प्लास्ट इण्डष्ट्रिज प्रालिले गरेको छ