रिद्धिसिद्धी सिमेन्ट २४ औं आदर्श कप, शसस्त्रलाई हराउँदै आयोजक आदर्श क्लब फाईनलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र २४ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-घरेलु मैदानमा उपाधि उचाल्दै इतिहास लेख्ने अभियानमा आयोजक आदर्श क्लब अब एक खेल पछि छ । विभागीय टोली शसस्त्र प्रहरी बलको एपीएफ क्लबलाई फराकिलो गोल अन्तरले पराजित गर्दै आदर्श क्लबले इतिहास कोर्ने लक्ष्यमा छ । आईतबार लेखनाथ रंगशालामा पहिलो सेमिफाईनल प्रतिस्पर्धामा आदर्शले घरेलु मैदानमा शसस्त्रलाई ४–० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

पानीले प्रभावित बनाएको खेल आयोजक आदर्शले आफनो पक्षमा पार्न भने दोस्रो हाफमा मात्रै स्कोर निकाल्यो । पहिलो हाफ गोल रहित टुग्याएको शसस्त्र प्रहरी पेनाल्टीको शिकार भएपछि लय विग्रियो । ५७ औं मिनेटमा पोष्टभित्र छिर्न लागेको बललाई हातले रोकिदिएपछि आयोजक आदर्शले पेनाल्टीको अवसर पाएको थियो । पेनाल्टीलाई विमल रानाले गोल गर्दै घरेलु मैदानमा आयोजकलाई स्पष्ट अग्रता दिलाए । पोष्टभित्र छिर्न लागेको बललाई विजयसिंह ठकुरीले हातले रोकेका थिए । उनलाई रेफ्रीले रातो कार्ड दिएपछि शसस्त्र प्रहरी बल १० जना खेलाडी सीमित हुन पुग्यो ।

पहिलो गोलसँगै दशजना खेलाडीमा सीमित भएको शसस्त्र प्रहरीको मनोबल कमजोर बन्न पुग्यो । तीन दिनदेखि पानी नपरी निकै गर्मी भएको थियो । तर आईतबार भिषणा वर्षाले खेल प्रभावित बनायो । खेलाडीकै अभावमा रहेको शसस्त्रले ६५ औं मिनेटमा अर्को गोलको सामना गरेपछि आयोजकले अग्रता दोब्बर बनायो । सुरेश क्षत्रीले ७३ औं मिनेटमा अर्को गोल थपे । चौथो गोल भने भिसन गुरुङले गर्दै फराकिलो गोल अन्तरले जित सुनिश्चित गर्दा उपाधि उचाल्ने लक्ष्यसहितको दाबेदारिता देखायो । भिसन म्यान अफ दि म्याच घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।

आदर्श कप कास्कीकै सबैभन्दा पुरानो प्रतियोगिता हो । लामो समयपछि मैदान मर्मत गरेपछि पानीले प्रभावित बनाएको थियो । दर्शकलाई ओतलाग्ने हैरानी हुदाँ खेलाडीले सन्तुलन कायम राख्दै खेल खेल्न निकै कठिन भएको थियो । मैदान चिप्लो भएकोले पनि खेलाडीले क्षमता अनुसारको पस्किन भने सकेका थिएनन् । रिद्धिसिद्धी सिमेन्टले शीर्षक प्रायोजन गरेको फुटबल प्रतियोगिता २०४४ सालबाट लेखनाथमा शुरु भएको हो । छ ।

गण्डकी अञ्चलकै नियमित प्रतियोगिता २०६७ सालसम्म नियमित रुपमा आयोजना हुदैं आएको थियो । सात वर्षको विश्रामपछि फेरी जुर्मुराएको प्रतियोगितालाई आदर्श क्लबले नयाँ रुप दिएको हो । अम्बे सिमेन्टले मुख्य प्रायोजन गरेको प्रतियोगितामा सोमबार दोस्रो सेमिफाईनल खेल जवलाखेल युथ क्लबले स्याङजा फुटबल संघसँग फाईनल प्रवेशको लागि प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष लक्ष्मीप्रसाद भण्डारीले जानकारी दिए ।

उत्कृष्ठ खेलाडीले नगद २५ हजार प्रदान गरिने छ । उच्च गोलकर्ता, उत्कृष्ठ प्लेमेकर, डिफेन्स, गोलरक्षकले नगद १० हजार रुपैयाा पाउने छन् । प्रत्येक खेलको म्यान अफ दि म्याच घोषित खेलाडीलाई नगद ५ हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिने क्लबका अध्यक्ष लक्ष्मीप्रसाद भण्डारीले जानकारी दिए । प्रतियोगितलाई मुख्य प्रायोजन अम्बे सिमेन्ट प्रालि, प्रायोजनमा स्थानीय श्रृंगा यातायात व्यवसायी संघ, सह प्रायोजन गोर्खा ब्रुअरी(टुबोर्ग), उप प्रायोजनमा जस्मिन पेन्ट्स प्रालिले गरेका छन् । प्रथम पुरस्कारको प्रायोजन भने बज्र प्लास्ट इण्डष्ट्रिज प्रालिले गरेको छ ।

दोस्रो पुरस्कार राशी भने कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले बोलेका छन् । उत्कृष्ठ खेलाडी पुरस्कार प्रायोजन मनकामना प्लाई बोर्ड प्रालिले गरेको छ भने म्यान अफ दि म्याच खेलाडीको प्रायोजन भने त्रिमूर्ति ह्याचरी एण्ड बि एण्ड एस कन्स्ट्रक्सनका प्रोपाईटर सागर गुरुङले गरेका छन् । आदर्श कप उचाल्ने क्लबले तीन लाख नगद पुरस्कार राशीको सहित ट्रफी उचाल्ने छ । उपविजेताको हकमा भने नगद दुईलाख रुपैयाँ पर्ने छ । तस्बिर उमेश पुन