आर्चरीमा गण्डकीलाई ५ स्वर्ण, बन्यो टिम च्याम्पियन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख ८ गते २०७६ मा प्रकाशित


नेपालगन्ज(खेलाडी न्युज)-आर्चरीमा गण्डकी प्रदेश टिम च्याम्पियन बनेको छ । आर्चरीको विभिन्न इभेण्टमा गण्डकी प्रदेशले ५ स्वर्ण, ४ रजत र ३ कास्य पदक जित्दै टिम च्याम्पियन बनेको हो ।नेपाली सेनाले पनि ५ स्वर्ण सहित २ रजत र ४ कास्य पदक जित्दै दोस्रो स्थानमा चित्त बुझाएको छ । प्रदेश नं ३ ले २ रजत र २ कास्य पदक जित्यो ।

गण्डकी प्रदेशले महिला स्टाण्डर्डमा अन्नपुर्ण आर्चरी क्लबकी अर्चना थापाले स्वर्ण पदक जितिन् । उनले अन्नपुर्ण आर्चरी क्लबकै अनुष गुरुंगलाई ६-२ स्कोरले पराजित गर्दै स्वर्ण पदक जितिन् । पुरुष कम्पाउण्ड तर्फको प्रतिस्पर्धामा कास्की आर्चरी क्लबका राजेश रानालाई पराजित गर्दै क्लबका जागृत गुरुंगले स्वर्ण पदक जितेका हुन् ।

पुरुष रिकर्भ प्रतिस्पर्धामा नेपाली पुलिस क्लबलाई ६-०ले पराजित गर्दै कास्की आर्चरीले स्वर्ण पदक जित्न सफल भएको हो । स्टाण्डर्ड महिला समूहगत प्रतिस्पर्धामा कन्चपुर आर्चरी क्लबलाई ६-० स्कोरले पराजित गर्दै अन्नपुर्ण आर्चरी क्लबले स्वर्ण पदक जित्न सफल भएको अन्नपूर्ण आर्चरी क्लबका प्रशिक्षक योगेन्द्र शेरचनले जानकारी दिए । मिक्स स्टाण्डर्डमा भने नेपाली सेनाले स्वर्ण पदक जित्दा अन्नपूर्ण आर्चरी क्लब भने रजत पदकमा चित्त बुझायो ।

रिकर्भ पुरुष तर्फको प्रतिस्पर्धामा असिम शेरचनले स्वर्ण पदक जिते । उनले कास्की आर्चरी क्लबका मुकेश तामांगलाई ७-३ स्कोरले पराजित गरेका हुन् । आर्चरीमा १० स्वर्ण, १० रजत र १० कास्य पदकको लागि प्रतिस्पर्धा गरिएको थियो ।