एशियन कप ट्रायथलनमा सहभागि खेलाडीको ‘डोपिङ टेष्ट’ गरिने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख १३ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-भोलि शनिबार हुने एशियन कप ट्रायथलन च्याम्पियसिपमा सहभागी खेलाडीको डोपिङ परीक्षण(टेष्ट) गरिने छ । नेपालमा आयोजित ट्रायथलन च्याम्पियनसिपमा पहिलो पटक खेलाडीको डोपिङ टेष्ट गरिने नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले बताए । प्रतिबन्धित औषधीको प्रयोगलाई निरुत्साहित गर्न डोपिङ टेष्ट गरिने उनको भनाई थियो ।

‘हामीले क–कसको डोपिङ टेष्ट गर्ने निर्णय गरिसकेका छौं । त्यही अनुसार खेलाडीको टेष्ट गर्न स्याम्पल लिन्छौं,’ अध्यक्ष श्रेष्ठले भने–‘टेष्टको लागि लिईने स्याम्पल भने भारत पठाउँछौं । रिपोर्ट आएपछि त्यही अनुसारको निर्णय गर्छौ ।’ भारतबाट टेष्ट गरिएको ल्याब रिपोर्ट बढीमा तीनसाता भित्रमा आईपुग्ने उनले जानकारी दिए । डोपिङ टेष्टको लागि विशेष गरी नेशनल डोपिङ एजेन्सी(एनडिए)ले हेर्ने गरेको छ । तर नेपालमा भने एजेन्सी नभएको अवस्थामा नेपाल ओलम्पिक कमिटिले हेर्ने उनले सुनाए ।

‘डोपिङ टेष्ट गर्न खेलाडीको दुईवटा स्याम्पल लिन्छौं,’ उनले भने–‘ स्याम्पलको लागि महिलाको लागि महिला चिकित्सक र पुरुषको लागि पुरुष चिकित्सकसँगै रहन्छन् ।’ उनका अनुसार डोपिङ टेष्टको लागि डोपिङ सम्बन्धी तालिमप्राप्त चिकित्सक नै हुनुपर्ने प्रावधान छ । जो पायो त्यही डाक्टरले डोपिङ टेष्ट गर्न भने पाउँदैनन् । डोपिङ टेष्टको लागि मात्रै साढे ६ सय डलर तिर्नुपर्छ । पोजेटिभ देखिएको अवस्थामा रि टेष्ट लगायतका विभिन्न प्रक्रिया पुरा गर्न झण्डै ५ लाख रुपैयाँ नेपाली खर्च हुने अध्यक्ष श्रेष्ठको भनाई थियो ।

उनले खेलाडीको डोपिङसँगै साईकलको समेत चेकजाँच गरिने बताए । ‘प्रतियोगिता शुरु हुन पुर्व नै खेलाडीले प्रयोग गर्ने साईकलको चेकजाँच गरिन्छ,’ नेपाल ट्रायथलन संघका अध्यक्ष श्रेष्ठले भने–‘एशियन कपमा सबै प्रक्रिया पुरा गरेर मात्रै खेलाडीलाई सहभागी गराउनुपर्ने प्रावधानले नै अन्तराष्ट्रिय नियमानुसार र अन्तराष्ट्रिय ट्रायथलन महासंघको नियमानुसार सबै परीक्षण गरिने छ ।’ नेपालले दक्षिण एशियमानै अन्य राष्ट्रमा गर्न नसकेको प्रतियोगिता लगातार छैटौ पटकसम्म संचालन गरिसकेको र त्यसको परिणामलाई हेरेर आईटियुले नेपाललाई एशिया कपको आयोजना गर्न स्वीकृति दिएको नेपाल ट्राईयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ बताउँछन् ।

सहभागि खेलाडीहरुको दुर्घटना बिमा समेत गरिएको छ । प्रतियोगिताको दौरानमा मृत्यु भएको अवस्थामा १५ लाख रुपैयाँ बिमा स्वरुप प्रदान गरिने छ । घाईते भएको अवस्थामा अस्पताल खर्च र औषधोपचारका लागि ५० हजारको विमा गरिएको अध्यक्ष श्रेष्ठले बताए । अन्तराष्ट्रिय ट्रायथलन युनियनको मान्यता प्राप्त प्रतियोगितामा ट्रायथलन अन्तरगत स्प्रिन्ट विधामा प्रतिस्पर्धा हुने छ । पोखराको फेवातालमा एशियन कप तथा साउथ एशियन ट्रायथलन च्याम्पियनसिपको लागि जापान, कोरिया, काजाकिस्तान, लिथुनिया, पोल्याण्ड, अष्ट्रेलिया, भारत र बंगलादेशका खेलाडीहरु नेपाल आईसकेका छन् । जापानी र कोरियन खेलाडीहरु पोखरामा केही दिन अघि आएर प्रशिक्षण गरिरहेका छन् ।

विश्व वरियतामा ६३ औं स्थानमा र क्षेत्रिय बरियतामा दोश्रो नम्बरमा रहेका जापानी खेलाडी माकोतो ओदाकुराले पनि यस प्रतियोगितामा सहभागिता जनाउने अन्तराष्ट्रिय ट्रायथलन युनियनले जनाएको छ । पुरुष तर्फ १९ र महिला तर्फ ८ खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । जसमा पुरुष तर्फ नेपलका खेलाडीहरु नितेश मानन्धर, बशन्त थारु र दिपेश चौधरीले प्रतिस्पर्धा गर्ने छन् भने महिला तर्फ सोनी गुरुङ र केशरी थापा मगरले प्रतिस्पर्धा गर्ने नेपाल ट्रायथलन संघले जनाएको छ । ट्रायथलनको स्प्रिन्ट विधामा २० किलोमिटर साइक्लिङ, ७५० मिटर स्विमिङ र ५ किलोमिटरको दौड हुनेछ । गौरीघाट नजिकैको हिमागृहबाट दौड शुरु गरिने छ । प्राविधिक डेलिगेट्सहरु फिलिपिन्स र भारतबाट आएका छन् ।

नेपाली खेलाडीहरुका बीच दुवाथलन प्रतिस्पर्धा

प्रतियोगितामा ट्रायथन र दुवाथलन तर्फ प्रतिस्पर्धा हुने छ । नेपाली खेलाडीहरुको लागि दुआथलनमा प्रतिस्पर्धा गराईने छ । स्प्रिन्टमा ५ कि.मि. दौड, २० किलोमिटर साइक्लिङ, २.५ किलोमिटरको दौड हुनेछ । प्रतियोगिताको लागि हिमागृह देखि मुस्ताङ चोकसम्मको स्थललाई तोकेको छ । ५ महिला र ८ पुरुष खेलाडीहरुको सहभागित रहने छ ।
ट्रायथलन र दुआथलनको लागि तय गरिएको रुटमा शनिबार सवारी साधन न्युनिकरण गर्न सडकको एक भाग –एक लेन) पूर्णरुपमा रोक लगाईने नेपाल ट्रायथलन संघ कास्कीका अध्यक्ष सुमन देवकोटाले बताए । ‘खेलाडीको सुरक्षाको दृष्टिकोणेले पनि सवारीसाधन पूर्ण रुपमा रोक लगाउनुपर्छ । लगाउँछौं पनि ।’ उनको भनाई थियो । राष्ट्रिय खेलकुद परिषदमा दर्ता गरि आधिकारीक संघको रुपमा स्थापन पश्चात विभिन्न खेलाडीहरुले अन्तराष्ट्रि पदक ल्याउनुमा साथै १२ औं दक्षिण एशियाली खेलकुदमा पहिलो पटकको सहभागितामा नै नेपालले टिम स्पर्धामा रजत र रोजा के.सी.ले ब्यक्तिगत तर्फ कास्य पदक हात पार्न सफल भईसकेकी छन् । pic by-sudarshan Ranjit